मसानघाट पनि अतिक्रमणमा

 कात्तिक १३, २०८० सोमबार १३:५८:३८ | रासस
unn.prixa.net

बाग्लुङकाे निसीखाेला, तस्बिर : सामाजिक सञ्जाल

बाग्लुङ – एक दशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए । ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे । मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिको आ–आफ्नै घाट हुन्थ्यो । अचेल ती घाटमाथि संरचना बन्न थालेका छन् । कतिले त घाटलाई अतिक्रमण गरी खेतमा परिणत गरेका छन् । पातीहाल्ने, तिलाचन, घुमदेखि बग्दै आएको निसीखोला भुजीखोला र तमानखोलासँग मिसिएर बडिगाड बनेको छ । बुर्तिबाङ बजारदेखि केही तल सेराबगरमा आएर बडिगाड बन्ने निसीखोलाको दर्जनौँ स्थानमा अतिक्रमण भएको स्थानीयको गुनासो छ ।

घाटमा अवैधरूपमा संरचना निर्माण गर्नुका साथै ढुङ्गा, गिटी र बालुवा थुपार्दा दाहसंस्कारमा समस्या पर्ने गरेको छ । निसीखोला गाउँपालिका–१ का नितेश पुनमगरले पछिल्लो समय अतिक्रमण बढेसँगै नदीको आकार पनि सानो हुँदै गएको बताउनुभयो । 

नदी किनारदेखि पर्खाल उठाएर स्थानीयले खेत निर्माण गरेर खेतीपाती गर्दा पनि सरोकारवालाको ध्यान नगएको उहाँको भनाइ छ । मसानघाट नै कब्जा हुन थालेपछि मलामी बस्ने र शव जलाउने ठाउँसमेत साँघुरो बन्दै गएको पुनमगरले बताउनुभयो । घाट पवित्र स्थान भएको हुँदा संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । कतिपय घाटमा बस्तीसमेत बसालेको उहाँले बताउनुभयो ।

‘मान्छेहरूलाई कति लोभ लागेको हो ?, मसानघाटसमेत अतिक्रमण गरेर आफ्नो बनाउँछन्, सबै मरेर जाने हो, किन यति लोभी बन्दै गए कुन्नि, पहिले निसीखोलाको धेरै ठाउँमा घाट थिए, खुला ठाउँमा घाट बनाएर अन्तिम संस्कार गर्ने चलन थियो, अहिले एउटा शवलाई राखेर जलाउने ठाउँ पनि पाउन मुस्किल पर्छ’, पुनमगरले भन्नुभयो, ‘गाउँपालिकाले एक÷दुई ठाउँमा राम्रो मसानघाट त बनाएको छ, तर पहिलेका ठाउँ फिर्ता लिएर त्यसलाई व्यवस्थित बनाउन भने सकेको छैन ।’

निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौमुरेलगायत दर्जन बढी घाट अहिले पुरिएर खेतमा परिणत भएका छन् । कतै विकासका नाम पुरिने र कतै व्यक्तिगत लाभका लागि मसानघाट पुरेको स्थानीय धीरबहादुर क्षेत्रीले बताउनुभयो । घाट साझा थलो भएको हुँदा व्यक्तिगतरूपमा प्रयोग गर्न नहुने उहाँको भनाइ छ । पछिल्लो समय खोलामा डोजर हालेर ढुङ्गा, गिट्टी र बालुवा झिक्दा मसानघाट पुरिने गरेको क्षेत्री बताउनुहुन्छ । घाट पुरिएपछि गाउँमा कसैको मृत्यु भए घण्टौँ लगाएर घाट खोज्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । 

क्षेत्रीले भन्नुभयो, ‘हामी सानोसानो हुँदा निसीखोलामा थुप्रै घाट थिए, आधा घण्टाको दूरीमा घाटहरू हुन्थे, वारिपारिका गाउँबाट दाहसंस्कार गर्न झर्दा मलामी बस्ने ठाउँ खुला हुन्थ्यो, शवलाई जलाउने ठाउँ पनि फराकिलो नै हुन्थ्यो, अहिले त एउटा शव राख्ने ठाउँसमेत भेटिँदैन, मलामीले विश्राम गर्ने ठाउँ त टाढाको कुरा हो, पहिले मलामी बस्ने ठाउँमा अहिले धान गहुँ फल्ने खेतबारी बनेका छन् ।’

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले खोलाका केही घाट अतिक्रमण भएको बताउनुभयो । अतिक्रमित घाटलाई फिर्ता गर्ने उहाँको भनाइ छ । घाट अतिक्रमण हुनुका साथै बाढीले समेत बगाउँदा धेरै ठाउँमा समस्या देखिएको उपाध्यक्ष घर्तीमगरले बताउनुभयो । गाउँपालिकाले अहिले तीन ठाउँमा व्यवस्थित घाट निर्माण गरेको भन्दै अन्य ठाउँमा पनि बनाउने उहाँको भनाइ छ । केही घाट व्यक्तिका नाममा रहेको हुँदा उनीहरूसँग छलफल गरी घाटकै रूपमा राख्ने घर्तीमगर बताउनुहुन्छ ।

‘केही ठाउँमा घाट अतिक्रमण भएका छन्, व्यक्तिले त्यसलाई घेरेर आफ्नो बनाएका छन्, सार्वजनिक जग्गामा भएका घाट फिर्ता गर्छौँ, केही ठाउँमा व्यक्तिको नाममा भएको पाइन्छ, उहाँहरूसँग छलफल गरेर व्यवस्थापन गर्छौँ’, उपाध्यक्षले घर्तीमगरले भन्नुभयो, ‘घाटको संरक्षणका लागि गाउँपालिकाले नदी व्यवस्थापन गर्ने योजना बनाएको छ, अव्यवस्थितरूपमा बगेका खोलालाई धारमा फर्काइयो भने केही ठाउँका मसानघाट जोगिने छन् ।’

निसीखोला क्षेत्रमा खोला किनार हुँदै थुप्रै सडक निर्माण भएका छन् । ती सडकले पनि मसानघाट पुरिएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले यहाँ थुप्रै भूभाग ओगटेको छ, त्यसले पनि घाटमा ठूलो क्षति पुर्‍याएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया