चारदिने भ्रमण पूरा गरी महासचिव गुटेरेस काठमाण्डौबाट फर्कनुभयो

 कात्तिक १५, २०८० बुधबार ११:१८:५८ | रासस
unn.prixa.net

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी काठमाण्डौबाट फर्कनुभएको छ । 

उहाँलाई उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो । त्यस अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते यहाँ आउनुभएको थियो । महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

साथै नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग महासचिव गुटेरेसको अगल–अलग भेटवार्ता भएको थियो ।

भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत जानुभएको थियो । उहाँले ऐतिहासिक एवम् पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको थियो । भम्रणका दौरान उहाँले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि नेपालको भ्रमणमा आउनुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गर्नुभएको थियो । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया