भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
माफी दिन पाउने अधिकार राष्ट्रपतिको हो तर राष्ट्रपतिले पनि कानुन विपरीत कुनै काम गर्नुहुन्छ भने त्यसलाई अदालतले अङ्कुश लगाउन सक्छ भन्ने कुरा रिगलको आममाफीले देखायो । जुन कुरा हुनुहुँदैन थियो । यसमा कार्यपालिकाको स्वेच्छाचारितामा न्यायालयले लगाम लगाइदिएको छ । सबैले आफ्नो ढङ्गले काम गरेको छैन भन्ने यस्ले गलत सन्देश पनि गयो । अदालतले अङ्कुश लगाउन सक्छ भनेर भोलिका दिनमा राष्ट्रपतिबाट यस्तो निर्णय नहुन सक्छ । यसलाई हामीले सकारात्मकरुपमा लिनुपर्छ । राष्ट्रपतिलाई संविधानले आममाफी दिने अधिकार छ । त्यसलाई अदालतले अङ्कुश लगायो भनेर यसलाई अलि नकारात्मक ढङ्गले पनि हेर्न सकिन्छ ।
आउँदाे दिनमा कार्यपालिकाले मनमौजीरुपमा कैद छुट तथा आममाफी दिने विकृति हटाउन पनि यसले सहयोग गर्छ । भोलिका दिनमा राजनीतिक दलहरुले गैरकानुनी क्रियाकलापमा संलग्न आफ्ना कार्यकर्तालाई छुटाउने सक्ने अवस्थामा भने पक्कै पनि रोक लगाएको छ । यो निर्णयबाट हामीले पनि सर्वोच्च अदालतबाट एउटा सकारात्मक निर्णय आयो भनेर धन्यवाद दिनुपर्छ ।
यसैगरी माफी पाएका अरुको सम्बन्धमा जस्लाई चित्त बुझ्दैन त्यसले पुनर्विचार पनि गर्न सक्छ यो फैसलापछि । यो फैसलामा आममाफी दिँदा संविधानले दिएको पीडितको हकलाई पनि सुनिश्चित गर्नुपर्छ भन्ने कुरा गरिएको छ । त्यो फैसलामा पीडितको सहमति लिएको छ कि छैन भन्ने कुरा बोलेको पनि छ । फैसलामा पीडित पक्षको सहमति र कैदीको असल चालचलन भएको पुष्टि हुने आधार चाहिन्छ भनेर भनिएको छ ।
अन्य आममाफी पाएकाहरुको हकमा पनि यो कुरा छैन । मुलुकी फौजदारी कार्यविधि संहिताले पनि आममाफी वा सजाय कम गर्न सक्ने अधिकार त दिएको छ । तर, त्यो अधिकार दिँदा पनि केही अवस्थाहरु तिमीले हेर भनेर भनेको छ । अपराधको गम्भीरता, अपराधको किसिम, अपराध गर्दाको अवस्था के थियो भन्ने कुराको विश्लेषण गरेर मात्र सजाय माफी दिने वा छुट दिने निर्णय गर भनेर कानुनले पनि भनेको अवस्था छ । यदि यी अवस्थाहरु अरुको हकमा पनि छैनन् भने यस्तो अरु मुद्दा पर्यो भने अहिलेको सर्वोच्चको फैसलाले फेरि पनि कैदमा जानुपर्ने हुनसक्छ ।
फैसलाले न्याय प्रणालीमा सुधार ल्याउने आशा
यो फैसलाले फौजदारी न्याय प्रणालीमा केही सुधार ल्याउने भयो भनेर पनि मान्नुपर्छ । मुलुकी फौजदारी कार्यविधि संहिताको १५९ मा जघन्य अपराधमा आममाफी हुँदैन भनेर प्रष्टसँग भनेको छ । जबरजस्ती करणी, सुनियोजित हत्यामा आममाफी हुँदैन वा कैद मिनाहा हुँदैन भनेर संहितामा प्रष्टसँग उल्लेख गरेको पनि छ । तर, यसो भन्दैमा राष्ट्रपतिलाई संविधानले केही अधिकार पनि दिएको छ । कहिलेकाहीँ आन्दोलन वा सत्ता परिवर्तनका क्रममा पनि मान्छेहरु मर्न सक्छन् । त्यस्तो बेलामा राष्ट्रपतिले आममाफी दिएर पनि कैदमुक्त गर्न सक्छन् । यसमा उसको नियत कुनै लाभ लिने नभइ जनमानसको हितको लागि गरिएको कामबाट पनि यदि कुनै अपराध हुनपुग्यो भने त्यसबाट उन्मुक्ति दिनको लागि यो आममाफीको व्यवस्था गरिएको हो ।
संविधानले पीडितको अधिकार भनेर राखेको छ त्यसलाई संरक्षण गरेर उसलाई पुनःस्थापना गर्नुपर्छ भने त्यो पनि गर्नुपर्छ भनेर यो फैसलाले पनि बोलेको छ । र, संविधानले पनि बोलेको छ । अहिले सर्वोच्च अदालतले पीडितको न्यायलाई संरक्षण दिएको, परिपालन गरेको अथवा त्यसलाई परिचालन गर्नको लागि एउटा कदम उठाएको भन्ने मान्नुपर्ने हुन्छ । रिगलको यो मुद्दामा भारतीलाई अदालतसम्म आउन पनि कति डर, धम्की आएको थियो भन्ने कुरा उहाँले इजलाशमा उजागर गर्नुभएको थियो । यो फैसलाले अदालतले पीडितको न्यायलाई संरक्षण गर्यो भन्नेमा कुनै दुई मत नै छैन ।
अदालतप्रति सकारात्मक भाव
यो फैसलाले अदालतप्रति सकारात्मक भाव उत्पन्न गराएको छ । कानुनको विद्यार्थी र बहसका लागि अदालत गइरहने कानुन व्यवसायी भएका नाताले पनि हामीलाई पनि यसअघि निराशाको भाव उत्पन्न भइसकेको थियो । अदालतको न्याय, क्रियाकलापबाट हामीलाई पनि वास्तविक पीडितले न्याय पाइरहेका छन् कि छैनन् भनेर सोच्नुपर्ने अवस्थामा हामी पनि उभिइसकेका थियौँ ।
रिगलको फैसला आउनु अगाडि आममाफी पाएका केही व्यक्तिहरु फेरि उस्तै प्रकृतिको आरोपमा पक्राउ परेका छन् । यसको सङ्केत के हो भने अपराधी प्रवृत्ति कहिले पनि नसुध्रने रहेछ भन्ने हो । एउटा व्यक्ति जेलमा बसेको छ, आममाफी पाएर छुटेको छ तर, फेरि गएर अपहरणलगायतका अपराधमा संलग्न भएर फेरि जेलमा परेको अवस्था छ । यसो हेर्दा उसको आपराधिक क्रियाकलाप त कहिले पनि नसकिने जस्तो भयो ।
अहिलेको घटनाले हाम्रो संविधान र कानुनमा रहेको आममाफीको प्रावधानमा नै पुनर्विचार गर्नुपर्ने देखिन्छ । अहिलेको सर्वोच्चको फैसलाले पनि त्यो देखिन्छ । अहिलेको फैसलाले पनि भोलिका दिनमा यस्ता आममाफी पक्कै पनि हुँदैनन् भन्ने कुरा सोच्नुपर्ने ठाउँहरु आयो । यदि सजाय भुक्तान गरेर पनि त्यस्ता अपराधीहरुले बारम्बार अपराध गर्छन् भने के त भनेर सोच्ने बेला आयो । आममाफी पाएर पनि अपराध गर्यो । भोलि सजाय भुक्तान गरेर पनि अपराध गर्यो भनेपछि अपराधीहरु त कहिले पनि अपराधीहरु त अपराध गर्नबाट डराउने नै भएनन् ।
पहिले पहिले हामीले सिनेमामा मात्र सङ्गठिन अपराधको कुरा देख्थ्यौँ । अहिले त जेलबाटै पनि उनीहरुका मतियारबाट अपराधका योजनाहरु बनाउने, श्रृङ्खलाहरु चलाउने कामहरु भइरहेको भन्ने सुनिन्छ ।
कानुन र संविधानले कस्ता अभियुक्तले आममाफी पाउँछन् भन्ने कुरामा पहिला आस्थाका बन्दीहरुलाई आममाफीको व्यवस्था रहेछ । एउटा सत्ता परिवर्तन भयो र हिजो सत्तामा रहेका व्यक्तिहरुलाई थुनामा राखेको रहेछ भने ती व्यक्तिहरुको कसुर के त भन्ने आधारमा उनीहरुलाई आममाफीको कुरा गरिएको रहेछ । मलेसियामा पनि धेरै आप्रवासीहरु रहेछन् । जेलमा थुनेर राखेर तिनीहरुको उन्मुक्ति त भएन । कहिलेसम्म थुनेर राख्ने ? त्यसैले उनीहरुलाई पनि आममाफी दिएर आफ्नो आफ्नो देश फर्काएको अवस्था रहेछ । यस्ता कुराहरुको लागि आममाफीको व्यवस्था गरिएको हो ।
कहिलेकाहीँ मान्छेले नचाहँदा नचाहँदै पनि सत्ता परिवर्तनको लागि वा विशाल जनमानसको हितको काम गर्दा केही अपराधहरु हुनसक्छ । त्यस्तो बेलामा त्यस्ता व्यक्तिहरुको कसुर के त ? त्यो भनेको दुर्घटनावश पनि भएको हो । त्यो व्यक्तिले पनि विशाल जनसमुदायको हितको ख्याल गरेर कार्य गरेको अवस्था हो । त्यस्तो अवस्थामा त्यस्ता घटनाहरु घटे भने त्यस्ता व्यक्तिहरुको अपराधलाई चाहिँ न्यूनीकरण गरिकन ती व्यक्तिहरुले राम्रो कामको लागि अपराध हुन गयो भन्ने आधारमा आममाफीको व्यवस्था गरिएको हो ।
राजनीतिक आस्थाका बन्दीहरु जसले सत्ता परिवर्तनका बेला राजनीतिक आधारमा थुनामा रहेका व्यक्तिहरुले आममाफी पाउनुपर्छ भन्ने आधारमा त्यो प्रावधान राखिएको हो । बहसको क्रममा सुनेको कुरा र जुन आदेश आयो आदेशमा उल्लेखित कुरा हेर्दा एउटा सुनियोजित अपराधको घटनालाई तरुण दलको नेताको हैसियतले, राजनीतिक पार्टीको हैसियतले उहाँलाई आममाफी दिएको अवस्था छ । त्यसकारण उहाँलाई राजनीतिक बन्दी वा आस्थाको बन्दीकोरुपमा बर्गीकरण गर्नै मिल्दैन । उहाँले राजनीतिक आस्थाको लागि त्यो लडाइँ लड्नुभयो भन्ने देखिँदैन ।
यो मुद्दाको अध्ययन गर्दा उहाँले पहिले हत्या गर्न केही मान्छेहरु बोलाउनु भएको छ । नेपालगञ्जको एउटा लजमा राखिएको छ । तीन दिनसम्म उनीहरु त्यहीँ बसेका छन् । उहाँलाई त्यो मान्छे मारिएको खुँडा ल्याएर दिइएको छ । फोटो देखाएर यो मान्छेलाई मार्नुपर्छ भनिएको छ । अनि त्यहाँ गएपछि मुठभेड भएको छ । मुठभेडमा पनि जबरजस्ती समातेर ल्याएर अनि खुँडाले हानेको अवस्था देखिन्छ । त्यसकारण यसलाई अब राजनीतिक मुद्दा भन्न मिल्छ कि मिल्दैन ।
यो भनेको अपराधलाई राजनीतिकरण गर्न खोजिएको मात्रै हो । यो त एउटा उदाहरण मात्रै हो । आममाफी पाएका धेरैको मुद्दा वा अपराध छ त्यसलाई राजनीतिकरण गर्न खोजिएको मात्रै हो । अझ फैसलाहरु हेर्नुभयो भने कुनै ठेक्कापट्टाको सन्दर्भमा हाम्रो राजनीति कसरी चलेको छ भन्ने यो फैसला एउटा ज्वलन्त उदाहरण हो । अदालतमा जुन बकपत्र गरेका छन् त्यसमा भनिएको छ हामीलाई पहिले पनि ठेक्कापट्टाको सन्दर्भमा केही पर्यो भने हामीलाई बोलाएर त्यस्ता मान्छेलाई कुट्ने पिट्ने गर्थ्याैँ भनेको अवस्था देखिन्छ । त्यसकारण यो भनेको अपराधिक क्रियाकलापलाई राजनीतिकरण गरिएको अवस्था हो ।
आममाफीको प्रावधानमा पुनर्विचार
सर्वोच्चको यो आदेशले संविधान र कानुनमा रहेको आममाफीको प्रावधानलाई पुनर्विचार गर्नुपर्छ भनेर निर्देश गरेको देखिन्छ । तर, यसलाई हटाइहाल्ने भन्ने कुरा भने होइन । राख्नुपर्छ । आममाफीको व्यवस्थाले कहिलेकाहीँ बेकसुरदार मान्छेहरु तर, समय र परिस्थितिले कसैलाई अपराधी बनाएको छ भने त्यस्ताको हकमा आममाफी चाहिन्छ । अहिले पनि असल चालचलन भयो, सुधारिएको अवस्था भयो र परिस्थितिका कारण कोही बेकसुरदार जेलमा रहेको हुनसक्छ । यसका लागि पनि आममाफीको व्यवस्था चाहिन्छ । हाम्रो भनाइ भनेको आममाफीलाई गलत ढङ्गले प्रयोग गर्नुभएन भन्ने मात्र हो ।
गणतन्त्र दिवस, संविधान दिवस र प्रजातन्त्र दिवसको दिन आममाफी दिने, कैद छुट गर्ने प्रावधानको गलत प्रयोग भइरहेको छ । जसले पाउनुपर्ने हो उनीहरु कम छन् । पाएका होलान् तर पाउनु नपर्नेले पाइरहेको अवस्था छ । यसको गलत अभ्यास भइरहेको छ । हामी आशा गरौँ सर्वोच्चको यो आदेशले अब भोलिका दिनहरुमा गलत परिपाटिले प्रश्रय पक्कै पाउने छैन । कानुनले स्पष्ट भनेकै छ, ६५ वर्ष उमेर पुगेको, दीर्घरोगी, जेलमा रहेको अपराध गरेकोमा आत्मबोध गरेर आफूलाई असल मान्छेकोरुपमा चित्रण गरेको छ भने त्यस्ता मान्छेलाई आममाफी दिन सकिन्छ । उनीहरुलाई जेलमा राखेर सरकारले खर्च गर्नुपर्ने अवस्था हुँदैन ।
आममाफीलाई सही किसिमले प्रयोग गर्यो भने आवश्यक छ । संविधानले जुन व्यवस्था गरेको छ, कानुनमा सजाय छुट दिने जुन प्रावधानहरु छ, हाम्रो मुलुकी कार्यविधि संहितामा जुन व्यवस्था गरेको छ, कारागार ऐनमा जुन प्रावधानहरु राखिएको छ ती प्रावधानहरुले एउटा मान्छे जो सही किसिमले सुध्रन खोजेको छ अथवा जो साँच्चिकै अन्यायमा परेको छ त्यस्ता मान्छेहरुका लागि आममाफी एउटा राम्रो औजारकोरुपमा प्रयोग हुनसक्छ ।
आममाफीको सन्दर्भमा अहिलेको कानुन पर्याप्त
आममाफीको सही प्रयोगको लागि अहिले भइरहेको संविधान तथा कानुन नै पर्याप्त छ । यसमा थप परिमार्जन आवश्यक छैन । केवल यसको प्रयोग मात्र सही किसिमले गर्नुपर्यो भन्ने मात्र हो । एकजना मान्छेलाई ज्यान कसुरको केसमा जेलमा गएको दश वर्षपछि सर्वोच्च अदालतले बेकसुरदार ठहर्याएर छुट दिएको थियो । ती मान्छेले पछिल्लो भेटमा जेलमा त अपराधीभन्दा निरपराधी पो धेरै रहेछन् भनेर आफ्नो अनुभव सुनाएका थिए । त्यस्ता निरपराधीहरुलाई छुटाउनको लागि आममाफी सही प्रयोगकोरुपमा आउन सक्छ भन्ने लाग्छ ।
भोलिका दिनमा पनि सत्तामा पुगेको राजनीतिक दलले अपराधमा मुछिएका आफ्ना कार्यकर्ता छुटाउनका लागि यस्ता निर्णय गरेको खण्डमा राष्ट्रपतिले पनि यो सही हो कि होइन पुनर्विचार गर भनेर सरकारलाई भन्न सक्छन् । यदि कार्यपालिकाले कानुनभन्दा माथि गएर निर्णय गरेको छ राष्ट्रपतिले त्यसलाई मान्न इन्कार गर्न सक्नुहुन्छ । तर, त्यसका लागि यो कारणले यो निर्णय कानुनभन्दा बाहिर छ । कानुनको बर्खिलाप राष्ट्रपति पनि जान मिल्दैन पुनर्विचार गर भनेर भन्न सकिन्छ ।
रिगलको सम्बन्धमा भएको सरकारको निर्णय सर्वोच्चले बदर गरेपछि त्यो निर्णय गर्ने र अनुमोदन गर्नेको नैतिकता के हुन्छ भन्ने पनि प्रश्न त उठेको छ । तर, अहिलेको नेताहरुको चरित्र हेर्दा यो नैतिकताको प्रश्न हाम्रा नेताहरुबाट हटाइदिए हुन्छ । उहाँहरुमा नैतिकता भन्ने कुरा देखिँदैन । नेताहरुको नैतिकता भनेको जसरी पनि सत्तामा बसिरहने र टिकिरहने मात्र हो । यदि नैतिकता हुने हो भने सर्वोच्च अदालतको यो निर्णयपछि उहाँहरुले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने हो । अहिलेसम्म कुनै पनि नेताले गरेको निर्णयलाई अदालतले गलत ठहर्याएपछि राजीनामा गरेको उदाहरण नै छैन । अब त्यो नजिर नै छैन भने अहिलेको नेताहरुले त्यो गर्नुहुन्छ भन्ने अपेक्षा गर्नु नै बेकार छ ।
(वरिष्ठ अधिवक्ता भण्डारीसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सविता भण्डारी वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।