चार दशकपछि किन्ताङ खोलामा बेलिब्रिज

 कात्तिक २०, २०८० सोमबार २०:३१:७ | रासस
unn.prixa.net

धादिङ – धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलिब्रिज निर्माण गरिने भएको छ । सडक खन्न शुरु गरेको झन्डै चार दशकपछि खनियाँबास गाउँपालिकामा पर्ने किन्ताङ फेदीमा सिङ्गल बेलिब्रिज निर्माण शुरु गरिएको हो ।

३९ दशमलव छ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माणको काम शुरु गरिएको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो । पुलको दुवै भागमा फुटपाथ रहने र एकतर्फी मात्रै गाडी चल्ने गरी निर्माण थालिएको उहाँले जानकारी दिनुभयो ।

उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो मुख्य मार्ग हो । यो पुलले उत्तरी धादिङको रुबीभ्याली, गङ्गाजमुना, खनीयाँबास र नेत्रावती डब्जोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेसीसँग जोड्नेछ । पुल नहुँदा बर्खाको पाँच महिना गाडी आउजाउ बन्द हुने गरेकोमा खोलामा बेलिब्रिज बन्न थालेपछि उत्तरी क्षेत्रका स्थानीय खुशी भएका छन् ।

पुल बनेपछि धादिङको उत्तरी क्षेत्रका नागरिकको जनजीवन फेरिने आशा पलाएको गङ्गाजमुना गाउँपालिका–२ रिगाउँका राजु तामाङले बताउनुभयो । ‘पुल बनेपछि हामीले कति राहत पाउँछौँ कल्पना गर्नै सक्दैनौँ । चाँडै पुल बने हामी दुर्गममा बस्नेको जीवन फेरिन्छ’, उहाँले भन्नुभयो ।

किन्ताङ फेदीमा बन्दै गरेको बेलिब्रिज नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको हो । यो अस्थायी पुल नेपाली सेनाको प्रविधिक सहयोगमा निर्माण भइरहेको छ । अहिले पुलको दायाँबायाँको जिप/पिल्लरका लागि खाल्डो खन्ने काम भइरहेको छ । दुई महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको खनियाँबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले जानकारी दिनुभयो ।

रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ भन्नुहुन्छ, यो पुलले विटक गाउँमा आवतजावत गर्न सहजता थप्नेछ । तर त्यसभन्दा अगाडि पनि खोला खोँच छन् । त्यो ठाउँमा पनि पक्की पुल बनाउन सकियो भने विकट बस्ती लापा, तिप्लिङ र सेर्तुङलगायतका उत्तरी धादिङका स्थानीयलाई सहज हुनेछ ।’

उत्तरी धादिङ जोड्ने सडकको सबैभन्दा ठूलो मानिने किन्ताङ खोलामा पुल बने पनि त्यसभन्दा अगाडितिरका खोलामा पुल नहुँदा पूर्णरूपमा सहज बनिसकेको छैन । छोटो समयमै पार गर्न सकिने बाटोलाई पुल नहुँदा घण्टौँ समय लगाएर पुग्नुपर्ने बाध्यता भने कायमै छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया