उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बाँके – ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपनाजस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गर्ल्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाइ च्यापिनुभयो’, ओठ कपाउँदै अनि आँखाभरि आँशु बनाउँदै आफ्ना पीडा सुनाउनुभयो भेरी नगरपालिका–१ जाजरकोटकी यमुना रावलले ।
२६ वर्षीया यमुनाको भनाइअनुसार शुक्रवार राति भूकम्प जाँदा माथिल्लो दुई कोठामा आमा र ठूल्दाइ सुत्नुभएको थियो भने तल उहाँको तीन जना परिवार । भूकम्पले घर हल्लाउँदा यमुनालाई भने सपनामा आफू काँपेको झैँ लागेको थियो । जब अचानक घरको माथिल्लो भाग खस्यो त्यसपछि सबै घर भत्कियो ।
भाग्न नपाउँदै घरले उहाँको परिवारका सबै सदस्यलाई पुरिसकेको थियो । उहाँले थरथर ओठ कमाउँदै आफ्ना पीडा सुनाउनुभयो, ‘हामी भाग्नै पाएनौँ । म, मेरो श्रीमान् र छोरालाई त माथिबाट खसेर तेर्सिएको काठले बचाएको हो ।’ शनिवार दिउँसो अस्पतालको प्राङ्गणमा बिरामी श्रीमान्लाई खाना बोकेर जाँदै गर्नुभएकी यमुनाले श्रीमान्को दाहिने कोखामा काठले चोट लागेको बताउनुभयो । भूकम्पमा परेर उहाँको दाहिने टाउकोमा र दाहिने खुट्टामा पनि चोट लागेको छ ।
यमुना बिस्तारै हिँडडुल गर्न सक्नुहुन्छ भने उहाँको श्रीमान्लाई नेपालगञ्जको भेरी अस्पतालमा भर्ना गरिएको छ । छोरालाई खासै चोट नलागेको हुनाले यमुनाले छिमेकीको भरमा जाजरकोट नै छाड्नुभएको छ । एउटै घरमा साँझको खाना खाएर सँगै सुतेका आमा र दाइलाई गुमाउनु पर्दाको पीडाले सताएको त छ नै । नसोचेको घटना भयो । आमा र दाइलाई गुमाउनु पर्दा असह्य पीडा भएको यमुनाले रुँदै बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘अस्पतालसम्म श्रीमान्लाई ल्याएर उपचार गराउन पाएकोमा उहाँलाई केही हलुको भएको छ । अब त उहाँलाई केही हुँदैन जस्तो लागेको छ ।’ छोरालाई अरूको जिम्मा लाएर आफू नेपालगञ्ज श्रीमान्को उपचारमा आएकी यमुना भूूकम्पले अझै तर्साइरहेको बताउनुहुन्छ । उहाँ बेलाबेलामा एकोहोरो हुने, डराइरहेको जस्तो देखिनुहुन्छ ।
नलगाड नगरपालिका–१ जाजरकोटका यादव महराको अवस्था पनि उस्तै छ । भूकम्पले गाउँमा धेरैको ज्यान गए पनि उहाँका परिवारका सबै सदस्य सकुशल नै छन् । छोराको टाउकोमा भने चोट लागेको छ । ‘भूकम्प जाँदा होश नै भएन । बचाउन त सबै परिवारलाई बचाएँ तर छोरालाई टाउकोमा चोट लाग्न पुग्यो । अस्पतालसम्म आइपुगेका छौँ । केही दिनमा ठीक होला भन्ने विश्वास छ’, उहाँ भन्नुहुन्छ ।
छोरालाई पीडामा छटपटाएको देख्न सकिरहेको छैन भन्नुहुन्छ यादव । सानो छोरालाई चोट लाग्नुभन्दा बरु आफूलाई किन लागेन भन्दै अस्पतालको सिँढीमा बसेर रोइरहनुभएका यादवले उपचारमा खटिनुभएका चिकित्सकसँग जसरी भए पनि छोरालाई निको बनाइदिन आग्रह गर्दै गरेको दृश्यले सबैलाई भावुक बनाइरहेको हुन्छ । ‘भूकम्प जाँदा हामी सबै जना घरमै सुते पनि निदाएका भने थिएनौँ । एक्कासी भूकम्प गएको क्षणभरमै घर भत्कियो । मैले चनाखो भएर भत्किएको घरबाट आफ्ना बच्चा र श्रीमतीलाई निकाल्न सफल भएँ । तर मेरो साढे तीन वर्षको छोरोलाई भत्किएको घरको ढुङ्गाले टाउकोमा चोट लाग्यो’, यादवले रुँदै छोरालाई लागेको चोटको कथा सुनाउनुभयो ।
यादवजस्तै भूकम्पमा परि घाइते भएकाहरू अस्पतालभित्र अर्धचेत अवस्थामा शय्यामा छन् भने उनीहरूका आफन्तजन र परिवारका सदस्य बाहिर शीघ्र उपचारको आशामा पर्खाइमा छन् । यमुना र यादवजस्तै सुवर्णा शाह पनि आफ्नो २१ वर्षीया छोरी ईशा पनि चाँडै निको भएर घर फर्कने पर्खाइमा हुनुहुन्छ । ईशालाई टाउको, घाँटी र हात खुट्टामा चोट लागेको छ ।
दशैँ मनाउन आमा सुवर्णासँगै जाजरकोट मामाघरमा जानुभएकी ईशा आफ्नो सानी आमाका दुई दिदीबहीनीसँगै रातिको खाना खाएर सुत्नुभएको थियो । भूकम्पमा परि बहिनीका दुई छोरीको ज्यान गएको सुवर्णाले भावविभोर हुँदै सुनाउनुभयो । ‘हामी दशैँ मनाउन माइती गाउँ जाजरकोट गएका थियौँ । यही आइतवार फर्कने हाम्रो तयारी थियो । तर भूकम्पले हाम्रो परिवारको मुटु चुँडालेर गयो’, सुवर्णाले रुँदै पीडा पनि सुनाउनुभयो ।
उहाँका एक छोरी र एक छोरा हुनुहुन्छ । सपरिवार नै दशैँ मनाउन जाजरकोट जानुभएकी सुवर्णा र छोरालाई चोट लागे पनि छोरी ईशा भने गम्भीर घाइते भएकी छिन् । ‘चोट त हामीलाई पनि लागेको छ तर धेरै चोट मेरी छोरीलाई लागेको छ । छोरीलाई केही पनि नहोस्, उनलाई चाँडै निको भइदियोस् भनेर भगवान्सँग प्रार्थना गरिरहेको छु । भाग्यले उनलाई बचाएको छ । अब डाक्टरले पनि बचाई दिनु हुनेछ भन्ने आशा छ’, सुवर्णाले छोरीको मायामा रुँदै भन्नुभयो ।
चन्दा शाह पनि भूकम्पमा परि घाइते हुनुभएका श्रीमान् चाँडै नै निको हुने आशामा हुनुहुन्छ । भेरी नगरपालिका–३ खलङ्गा जाजरकोटका ४८ वर्षीय चन्दाका श्रीमान् विमलकुमार कार्कीको पनि दाहिने खुट्टा भाँचिएको छ । विमल शनिवार बिहान भेरी अस्पतालमा उपचारका लागि पुग्नुभएको पहिलो बिरामी हुनुहुन्छ ।
परिवारबाट १० वर्षदेखि अलग बस्दै आउनुभएका कार्कीलाई उहाँकी पत्नी चन्दा शाह कार्कीले अस्पताल पुर्याउनुभएको थियो । चन्दालाई पनि यमुनालाई जस्तै श्रीमान्को रेखदेख गर्न र खानाको जोहो गर्न भ्याइनभ्याइ भएको छ । ‘भूकम्पले मेरो श्रीमान्लाई घाइते बनाए पनि त्यसको पीडा मलाई र मेरो चार सन्तानलाई अझ बढी भएको छ’, चन्दाले रुँदै भन्नुभयो । विमल खलङ्गाको पीपलडाँडामा एक्लै बस्दै आउनुभएको थियो भने चन्दा चार छोरीसँगै १० मिनेटको दूरीमा बस्ने गर्नुहुन्थ्यो । आफ्नो परिवारको सहारा नै श्रीमान् भएको हुनाले भूकम्पमा परेर उनै श्रीमान् नै घाइते भएको हुँदा चन्दालाई आफ्नो परिवारमा ग्रहण लागेजस्तै भएको छ ।
जाजरकोटलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परि घाइते भएका जाजरकोटबाट ३८ जनाको अहिले नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । शुक्रवार एक जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार शनिवार राति साढे १२ बजेसम्म थप छ जनालाई उपचारका लागि अस्पताल ल्याइएको छ । उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले हिजो शुक्रवार नै नौ जना डाक्टरको टोलीसहित आवश्यकीय औषधि रुकुमको चौरझारीमा पठाइसकेको पनि बताउनुभयो । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालमा एक सय पाँच वटा शय्या तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा रहन भनिएको छ । पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र अन्य आवश्यक सामग्रीको प्रबन्ध मिलाइएको छ । हेलिकप्टरबाट आउने बिरामीका लागि राझा विमानस्थल र सैनिक ब्यारेकको हेलिप्याडमा दुई÷दुई वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।
बिरामीलाई रगतको अभाव हुन नदिन केही पिन्ट रगत मौज्दात रहेको छ । अपुग भएमा ताजा रगत आपूर्तिको लागि रक्तदाताको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । समितिका अध्यक्ष शाहले अस्पतालको नयाँ भवनको भुइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताउनुभयो । जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म डेढ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।