पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
झापा - जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा कार्यक्रम सञ्चालन गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बीमा र घर बीमाको थालनी गरिएको हो ।
शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्याएमा बीमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पाउने छन् । प्रतिघरधुरी बीमा गराउन वार्षिकरूपमा ९५ रुपैयाँ मात्र बीमा शुल्क लिइएकाे छ । सबै घरको बीमा शुल्क वडा कार्यालयसँग भएको सहमतिअनुरुप बर्दियाको उज्यालो नेपाल नामक गैरसरकारी संस्थाले तिरिदिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।
बाहुनडाँगीमा भारतको आसामबाट हात्ती आउने गर्छन् । विगतमा अलग्गै गाविस रहेको बाहुनडाँगी अहिले मेचीनगरअन्तर्गत पर्छ । बाहुनडाँगीका चार वडामध्ये सबैभन्दा बढी पीडा खेपिरहेको वडा नं ४ बाट बीमा शुरु गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । वडाका सबै परिवारलाई घर बीमामा समावेश हुन वडा कार्यालयले आह्वान गरेको थियो । तर वडाका कुल एक हजार तीन सय दुई परिवारमध्ये छ सय ५९ मात्र बीमामा समावेश हुन आएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
'कुनै पनि परिवार नछुटुन् भनेर सबै वडावासीलाई बीमामा समावेश हुन आह्वान गरेका थियौँ', उहाँले भन्नुभयो, 'तर कतिपय कागजात वडा कार्यालयमा बुझाउनै आउनुभएन । जो–जो सम्पर्कमा आउनुभयो, उहाँहरूको घरको बीमा गरेका छौँ ।' छुट भएका घरलाई पछि समावेश गरिने उहाँले बताउनुभयो ।
वडा कार्यालयकै पहलमा हात्ती नियन्त्रणका लागि परिचालित २५ स्वयंसेवकको समेत जीवन बीमा गरिएको छ । ती स्वयंसेवकलाई गाउँमा आएको हात्ती धपाउन रेपिड रेस्पोन्स टिम (आरआरटी) को रूपमा तालिम दिएर खटाइएको वडाध्यक्ष कार्की बताउनुहुन्छ ।
हात्ती धपाउन रातभर जाग्राम बसेर गर्नुपर्ने र कुनै पनि बेला आक्रमणमा परिने जोखिम भएकाले आरआरटीका युवाको पाँच लाख रुपैयाँको जीवन बीमा गरिएको उहाँले जानकारी दिनुभयो । बाहुनडाँगीमा परिचालित आरआरटीमा नेपालका २५ र भारतका १५ युवा आबद्ध छन् । गएकाे वर्षदेखि हात्ती नियन्त्रणमा युवाको याे समूहलाई परिचालन गर्न थालिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।