गृह मन्त्रालय सुधार कार्ययाेजना तयार पार्न पूर्वमुख्यसचिव पाैड्यालकाे संयाेजकत्वमा समिति गठन

 मंसिर ४, २०८० सोमबार १६:५२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन भएकाे छ ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सोमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो मन्त्रालयको कामलाई अझै प्रभावकारी र परिणाममुखी बनाउने गरी एकीकृत कार्ययोजना बनाउन अध्ययन समिति गठन गरिएको जानकारी दिनुभएको हो । अध्ययन समितिमा पूर्वसचिवहरू शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डाक्टर खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. विन्दु पोखरेल, सूचना प्रविधिविज्ञ विजय गौतम रहनुभएको छ । समितिको सदस्य सचिवको जिम्मेवारी भने गृह मन्त्रालयका नीति तथा योजना महाशाखाका सहसचिव थानेश्वर गौतमलाई दिइएको छ ।

अध्ययन समितिलाई कार्ययोजना तयार पार्न तीन महिनाको समय दिइएको छ । याे समयभित्र रहेर समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, स्थानीय प्रशासन तथा सेवा प्रवाह र राष्ट्रिय परिचय पत्र वितरणको कामलाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक सुझाव दिने कार्यादेश पनि दिइएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।

समितिका संयोजक पूर्वमुख्यसचिव पौड्यालले सरकारले दिएको जिम्मेवारी इमानदारिता र लगनशीलताका साथ पूरा गर्ने प्रतिबद्धता जनाउनुभयाे । उहाँले आफूहरूले तयार पार्ने अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्रीकै तहबाट प्रतिबद्धता आउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, अध्यागमन व्यस्थापन, कारागार व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह सुधारका लागि विभिन्न उपसमितिहरू पनि गठन गरेको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया