मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन विमान चार्टर्ड गरी नेपाल आउँदै चिनियाँ खेलाडी

 मंसिर ५, २०८० मंगलबार १३:२७:१५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल–चीन सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । 

नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएशन र होटल एसोसिएशन पोखराको सहआयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ । 

याे प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवरतण गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनीहरु चिनियाँ सरकारको सहयोगमा हिमालय एअरलाइन्सको चार्टर्ड विमानमार्फत पोखरा आउन लागेका हुन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले प्रतियोगितामा नेपाल र चीनका १०/१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने जानकारी दिनुभयो । 

यसअघि सन् २०१९ मा पोखरामा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड-१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता आयोजना हुन सकेको थिएन । प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटक बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा धावकहरुले दौड, साइकिलिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवाताल किनार बाराहीघाटबाट शुरु हुने प्रतियोगिता पातले छाँगो हुँदै विश्व शान्ति स्तूप पुगेर फेवातालमा बोटिङ गरी व्यक्तिगत दौड पूरा गर्नुपर्नेछ भने आम नागरिक र विद्यार्थीका लागि पाँच/पाँच किलोमिटरका दौड प्रतियोगिता आयोजना गरिनेछ । 

नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टोलीले तीन लाख ३० हजार, दोस्रो हुनेले दुई लाख ८८ हजार, तेस्रो हुनेले दुई लाख १६ हजार, चौथो हुनेले एक लाख ४४ हजार र पाँचौँ हुनेले ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

व्यक्ति स्पर्धातर्फ प्रथम हुनेले एक लाख ४४ हजार, दोस्रो हुनेले  एक लाख आठ हजार, तेस्रो हुनेले ५४ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । व्यक्तिगततर्फ चौथोदेखि अन्तिम स्थानमा आउने र विद्यार्थीको दौडामा भाग लिने सबैलाई नगद पुरस्कारको व्यवस्था गरिएको बोर्डको भनाइ छ ।

प्रतियोगिता सञ्चालनका लागि २२ वटा उपसमिति गठन गरिएको छ । यसअघि असार ८ र ९ गते पोखरामा आयोजित चिनियाँ ड्रागन बोट रेसमा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी पोखरा आएका थिए । 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया