गाजा बन्धक सम्झौता र युद्धविरामको विश्व समुदायबाट स्वागत

 मंसिर ६, २०८० बुधबार १९:४१:३४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

इजरायल र हमासले गाजामा जारी युद्ध रोक्न र बन्धकहरूलाई मुक्त गर्न बुधवार भएको सम्झौताको घोषणालाई अमेरिका, बेलायत, जर्मनी र चीनलगायतका विश्व समुदायले स्वागत गरेका छन् ।

इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा परि झन्डै एक हजार दुई सय जनाको ज्यान जाने गरी भएको आक्रमणमा नवजात शिशुदेखि वृद्धवृद्धासम्मका झन्डै दुई सय ४० जनालाई बन्धक बनाइएको थियो ।

इजरायलले गाजामा बमबारी अभियान र स्थल आक्रमणको साथ जवाफी कारबाही शुरू गरेको थियो । हमासको प्रभाव रहेको गाजाको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारबाहीमा बुधवारसम्म हजारौँ महिला तथा बच्चाहरूसहित १४ हजार एक सय जनाको ज्यान गएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कतार र इजिप्टका नेताहरूलाई सम्झौतामा पुग्न ‘महत्त्वपूर्ण नेतृत्व’ का लागि धन्यवाद दिनुभएको छ । ‘म असाधारणरूपमा खुसी छु कि यीमध्ये केही बहादुर आत्माहरूको यो सम्झौता पूर्णरूपमा लागू भएपछि उनीहरूका परिवारसँग पुनर्मिलन हुनेछ’, बाइडेनले बन्धकहरूलाई सङ्केत गर्दै भन्नुभयो ।

बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले यो सम्झौतालाई ‘बन्धक बनाइएका परिवारलाई राहत प्रदान गर्ने र गाजामा मानवीय सङ्कटलाई सम्बोधन गर्ने दिशामा महत्त्वपूर्ण कदम’ भन्नुभएको छ ।

जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले सम्झौताको स्वागत गर्दै यो सम्झौतालाई गाजावासीका लागि महत्त्वपूर्ण सहयोगका लागि प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

जी–२० शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल र प्यालेस्टिनी कट्टरपन्थी इस्लामिक लडाकु समूह (हमास) बीच भएको सम्झौताको स्वागत गरेको बताउनुभएको छ । प्रधानमन्त्री मोदीले आफूले ‘इजरायली बन्धक छुटाउने र गाजामा युद्धविराम गर्ने सम्झौताको स्वागत’ गरेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘जहाँ भए पनि युद्धका कारण सर्वसाधारणको मृत्यु हुनु निन्दनीय घटना हो ।’

चीनले सम्झौता मानवीय सङ्कटको दुर्दशालाई कम गर्न महत्त्वपूर्ण कदम भएको जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो, ‘यसले मानवीय सङ्कटको दुर्दशालाई कम गर्न, द्वन्द्व कम गर्न र तनाव कम गर्न मद्दत गर्नेछ भन्ने बेइजिङले आशा गरेको छ ।’

रुसले यस सम्झौतालाई ‘धेरै लामो समयपछि गाजाबाट प्राप्त पहिलो शुभ समाचार’ भनेको छ र ‘यस प्रकारका यसद्धविरामहरूको आधारमा मात्र दिगो समाधानमा भविष्यका प्रयासहरूको केही रूपरेखा कोर्न सकिने’ बताएको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले सम्झौताको स्वागत गर्दै यस कदमले प्यालेस्टिनीको वैध अधिकारको प्रत्याभूति गर्न अन्तिम र दिगो समाधानमा पुग्ने इजिप्टको प्रयासलाई निरन्तरता दिने बताउनुभएको छ ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया