बाँकेमा खाद्य व्यवस्थाले किसानको धान किन्न शुरु गर्‍याे

 मंसिर ६, २०८० बुधबार २०:३१:५५ | रासस
unn.prixa.net

फाइल तस्बिर

बाँके – बाँकेमा किसानले उत्पादन गरेको धान आज बुधवारदेखि खरिद प्रक्रिया शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले किसानले उत्पादन गरेको धान आजदेखि खरिद गर्न शुरु गरेको हो ।

नेपालगञ्ज सडक डिभिजन कार्यालय नजिकै रहेको कम्पनीको प्राङ्गणमा धान बिक्री गर्न आउनुभएका पहिलो किसान बाँकेकाे जानकी गाउँपालिका–५ का रुपबहादुर कार्कीलाई स्वागत गरेर धान खरिद शुरु गरेको लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।

पालिकाको सिफारिस लिएर आएका किसानको धान परीक्षण गरेर एक जना किसानबाट बढीमा ४० क्विन्टल धान खरिद गर्न शुरु गरिएको छ । आज दिनभर छ जना किसानबाट दुई सय ३० क्विन्टल धान खरिद गरिएको छ ।

यस वर्ष नेपालगञ्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ । ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गर्न लागिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख लामिछानेले भन्नुभयो, ‘पालिकाको सिफारिस लिएर आउने किसानलाई पालो तोकेर धान किन्ने दिनमा बोलाउछौँ । यसो गर्दा विगतको जस्तो लामो लाइन लागेर किसानले दुःख पाउने अवस्था यो वर्ष हुने छैन ।’ गैरकिसानले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचानका लागि पालिकाबाट सिफारिस अनिवार्य गरिएको छ ।

सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ६२ रुपैयाँ कायम गरेकोले त्यही भाउमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरेको छ ।

यस वर्ष तोकिएको ५१ हजार क्विन्टल धान खरिद नभएसम्म खरिद जारी राखिने लिमिटेड नेपालगञ्जले जनाएको छ । गएकाे वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको कम्पनीले विभिन्न कारण र समस्याले गर्दा नौ हजार क्विन्टल मात्रै खरिद गर्न सकेको थियो ।

यस वर्ष किसानको सहजताका लागि १० देखि १५ जना सम्मलाई कुपन दिएर पालो पर्ने दिनमा बोलाउने व्यवस्था मिलाइएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया