सर्वाेच्चमा प्रस्तावित ६ जना न्यायाधीशकाे संसदीय सुनुवाइ शुरु

 मंसिर ८, २०८० शुक्रबार १४:५८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतमा प्रस्तावित छ जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । सिंहदरबारमा आज शुक्रवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि न्याय परिषद्ले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाइ प्रक्रिया शुरु गरेको हो ।

बैठकले मन्त्रिपरिषदबाट सिफारिस पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालका लागि उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ । प्रस्तावित राजदूत र सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिस गरिएकाहरूका लागि उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रस्ताव समितिबाट पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिशमशेर जबराले जानकारी दिनुभयो । 

न्याय परिषद्को गएको मङ्सिर ५ गते बसेको बैठकले उच्च अदालत विराटनगरकी मुख्य न्यायाधीश सुवेदी, उच्च अदालतका न्यायाधीशहरू मुसलमान, पौडेल र ढुंगाना तथा कानुन व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय पोखरेल र ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को गएको कात्तिक २३ गते बसेको बैठकले नेपाललाई पोर्चुगलका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । 

संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्नुहुनेछ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया