इजरायलले हमासद्वारा रिहा गरिएका बन्धकहरूको सूची सार्वजनिक गर्‍याे

 मंसिर ९, २०८० शनिबार १५:५५:५१ | एजेन्सी
unn.prixa.net

फाेटाे : एफपी

काठमाण्डौ – इजरायली प्रधानमन्त्रीको कार्यालयले गएको अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ ।

इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ। अमेरिका र कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार उद्धार गरिएका २४ जना हमास बन्धकहरूको सट्टामा इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई पनि मुक्त गरेको थियो । ‘इजरायली सरकारले घर फर्केका हाम्रा नागरिकहरूलाई स्वागत गर्छ। इजरायली सरकार सबै अपहरण र बेपत्ता व्यक्तिहरूलाई फिर्ता गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘हाम्रा नागरिकहरूले प्रारम्भिक चिकित्सा परीक्षण गराएका थिए र उनीहरूका परिवारहरूलाई हाम्रा अधिकारीहरूले उनीहरू फर्केको जानकारी  गराएका छन्’ इजरायली सरकारले भनेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले स्वदेश फर्किएका १३ नागरिकको विवरण पनि सार्वजनिक गरेको छ ।

घर फर्किएका आशेर परिवारका तीन सदस्य डोरोन कात्ज–आशेर (३४), राज आशेर (४) र अविव आशेर (२) रहेका छन् । त्यसैगरी अलोनी परिवारका रिहा भएका दुई सदस्य ड्यानियल अलोनी (४५) र अमेलिया अलोनी (५) रहेका छन् । उद्धार गरिएका मोन्डर परिवारका रुथ मुन्डर (७८), केरेन मोन्डर (५४) र ओहद मोन्डर (९) रहेका छन् । उनीहरू बाहेक अन्य पाँच इजरायली नागरिक अदिना मोशे (७२), हाना कात्जिर (७६), मार्गालिट मोजेस (७७), हन्ना पेरी (७९) र याफे अदार (८५) लाई पनि कैदबाट रिहाइ गरिएको थियो। रिहाइ गरिएका बन्धकहरूलाई आफ्ना आफन्तकहाँ फर्कने क्रममा सरकारले सबैको साथ दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसअघि शुक्रवार इजरायली बन्धकहरूको पहिलो समूहलाई इजरायल र हमासबीचको बन्धक सम्झौताको एक भागको रूपमा रेडक्रसका लागि अन्तर्राष्ट्रिय समितिका कर्मचारीहरूलाई सुम्पिएको इजरायलको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।

इजरायल र हमासबीच कतारको मध्यस्थतामा भएको युद्धविराम शुक्रवार बिहान ७ बजे (स्थानीय समय) बाट लागू भएको थियो । शुक्रवार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट सबै बन्धकहरूलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) मा पोस्ट गरिएको भिडियो सन्देशमा नेतान्याहुले भन्नु भएको छ ( हामीले भर्खरै हाम्रा पहिलो बन्धकहरू बालबालिका, उनीहरूका आमाहरू र महिलाहरूको फिर्ती पूरा गरेका छौँ।

त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘प्रक्रियाको शुरुवात’ भन्नु भएको छ। उहाँले थप आशा व्यक्त गर्दै थुप्रै बन्धकहरू आउँदो केही दिनमा उनीहरूको परिवारमा फर्किने बताउनु भएको छ ।
टाइम्स अफ इजरायलले उल्लेख गरे अनुसार  प्रत्येक १० इजरायली बन्धकहरूको लागि थप एक दिन युद्धविरामको विस्तारको बदलामा हमासले थप बन्धकहरूलाई मुक्त गर्नु पर्नेछ ।

यद्यपि गत अक्टोबरदेखि हमास आतङ्ककारीहरूले बन्धक बनाएका २४० जनामध्ये रिहा गरिएका बन्धकहरू सानो सङ्ख्या मात्र हो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया