मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

 मंसिर १२, २०८० मंगलबार १२:१२:१९ | रासस
unn.prixa.net

फाइल तस्बिर

झापा - मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका धेरैजसो पुलको समेत मूल संरचनाको काम सकिएको छ ।

निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेका मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिनुभयो । अहिलेसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ ।

डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको तीन सय मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन् ।

कतिपय पुलको मूल संरचना सकिए पनि रुख कटानकाे अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो । बाहुनडाँगीबाट सुनसरी धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडक निर्माण हुँदै गरेको छ । सबै पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ, तर बजेट अभावमा काम तीव्रगति हुन सकेको छैन ।

१० अर्ब १३ करोड लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका प्रायजसाे योजनाको भुक्तानी गर्न अझै तीन अर्ब ५० करोड बाँकी रहेको उहाँले बताउनुभयो ।

सरकारले चालु आर्थिक वर्षमा ५० करोड  रुपैयाँ राजमार्गका लागि बजेट विनियोजन गरेको छ । सरकारलाई थप बजेटका लागि पत्रसमेत पठाएर पहल गरिरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया