प्रहरी समायोजनकाे माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

 मंसिर १२, २०८० मंगलबार २०:९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरूले सङ्घीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

आज मङ्गलवार प्रदेशका गृहमन्त्रीहरूले संयुक्तरूपमा सङ्घीय सरकारका गृहमन्त्री श्रेष्ठलाई भेट गरी यथाशीघ्र प्रहरी समायोजन गर्न माग गरेका हुन् । उनीहरूले प्रहरी कर्मचारी तथा संरचनाहरूलाई प्रदेशमा हस्तान्तरण नगर्दा प्रदेशको शान्ति, सुरक्षा प्रभावकारी हुन नसकेको गुनासाे गरे ।

गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाई प्रदेशलाई अधिकार सम्पन्न बनाउन आग्रह गरिएको बताउनुभयो । उहाँले सङ्घीयतालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न विशेष अनुरोध गरिएको पनि जानकारी दिनुभयो ।

ध्यानाकर्षण पत्रमा राखिएको मागबारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘प्रहरी कर्मचारी समायोजन ऐन २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ सङ्घीय संसदबाट पारित भएर २०७६ साल माघ २८ गते प्रमाणीकरण भइसक्दा पनि संविधानको अनुसूची ६ बमोजिम नेपाल सरकारले प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने तर आजसम्म प्रहरी कर्मचारी तथा संरचनाहरूको हस्तान्तरण हुनसकेको छैन । जसले गर्दा संविधानले प्रदान गरेको प्रदेशको शान्ति, सुरक्षाजस्ता प्रदेशको एकल अधिकारको विषय प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको छैन । अतः सङ्घीय संसद्ले पारित गरिसकेको ऐनको मर्म र भावनाअनुसार अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकार मातहत ल्याउन समायोजनका लागि आवश्यक कारबाही अगाडी बढाइदिन गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

गृहमन्त्री श्रेष्ठले छिटोभन्दा छिटो प्रहरी समयोजनको प्रक्रिया आरम्भ गर्ने प्रतिबद्धता गर्नुभएको उहाँले बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठसँगको भेटमा बाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री श्रेष्ठ, मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिम, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, गण्डकी प्रदेशकी ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी र कोशी प्रदेश सरकारका विनाविभागीय मन्त्री शमशेर राई उपस्थित हुनुहुन्थ्याे ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया