वैदेशिक रोजगारीमा जाने हरेकको लक्ष्य देशमै फर्किएर स्वरोजगार बन्ने हुनुपर्छ

 मंसिर १३, २०८० बुधबार ८:५२:५२ | डा. गणेश गुरुङ
unn.prixa.net

वैदेशिक रोजगारीमा जाने मान्छेहरुको आफ्नो आर्थिक अवस्था अनुसारको वर्गीकरण छ । हामीकहाँ जति धेरै धनी भयो त्यति तलब पाउने ठाउँमा जान्छन् भने जति गरिब भयो त्यति तलब कम पाउने ठाउँमा जाने गरेको पाइन्छ । यदि आर्थिक अवस्था साह्रै राम्रो हुने नेपालीहरुलाई ‘क’ वर्गमा वर्गीकरण गर्ने हो भने त्यस्ता मान्छेहरु अमेरिका, बेलायत, अष्ट्रेलिया तथा क्यानडा जस्ता देशमा जान्छन् । जहाँ तलब र सुविधा राम्रो छ।

त्यसैगरी आर्थिक अवस्था त्योभन्दा अलि कम भएकाहरु जसलाई हामी ‘ख’ वर्ग भनौँ उनीहरु धनी युरोपियन देशहरुमा जान्छन् । अझ कम आर्थिक अवस्था भएका ‘ग’ वर्गकाहरु पोर्चुगल, रोमानिया जस्तो युरोपको पनि कम विकसित तथा आर्थिक अवस्था अलि कमजोर भएका देशहरुमा जान्छन् । त्यो भन्दा पनि कम आर्थिक हैसियत भएका ‘घ’ वर्गकाहरु मलेसिया र खाडी राष्ट्रमा जान्छन् । योभन्दा पनि तल्लो वर्गकाहरु भने भारत जाने गरेको पाइन्छ । अझ गरिबहरु कहीँ जान सक्दैनन् र गाउँमा विदेश गएकाहरुको खेतबारी कमाएर बस्छन् ।

इजरायल र प्योलेस्टाइनको युद्धका कारण अहिले ‘घ’ वर्गकाहरुको रोजगारीमा प्रभाव पारिसकेको छ । यसकारण अहिले इजरायल जाने काम बन्द भएको छ । नेपाल सरकारले पनि जाने अनुमति दिएको छैन । युद्धग्रस्त देशमा जाने अनुमति दिने कुरा पनि होइन । अहिले इजरायलमा गएका मान्छेहरु पनि फर्कन थालेका छन् । इजरायलसँग सीमा जोडिएको लेबनानमा पनि नेपालीहरु गएका छन् । त्यहाँको रोजगारीमा पनि यसको प्रभाव परेको छ । त्यहाँ काम गर्नेहरु पनि फर्किन थालेका छन्।

इजरायलको सीमामा रहेको जोर्डनमा पनि नेपाली महिलाहरु गार्मेन्ट क्षेत्रमा काम गर्न गएका छन् । उनीहरु पनि कतिपय डरका कारण फर्किएका छन् भने नयाँ जाने क्रम त बन्द नै छ । यो युद्धले इजरायल, जोर्डन तथा लेबनानको रोजगारीमा प्रत्यक्ष प्रभाव परेको छ । यो युद्धमा इजरायल तथा प्यालेस्टाइनलाई साथ दिने राष्ट्रहरु ध्रुविकृत भएका छन् । यो दुवै ध्रुवमा रहेका देशहरुमा वैदेशिक रोजगारमा प्रत्यक्ष प्रभाव पारेको छ । यो युद्धले विश्वमा नै प्रभाव पार्ने भएको हुनाले हाम्रो वैदेशिक रोजगार तथा विप्रेषणमा प्रभाव नपर्ने भन्ने कुरै भएन । इजरायल र प्यालेस्टाइन युद्धका कारण नयाँ मान्छेहरु जान नपाउने र गएकाहरु फर्कने क्रममा रहेकोले देशको अर्थतन्त्रमा राम्रो टेवा दिइरहेको विप्रेषण पनि केही घट्ने लक्षण देखिँदैछ ।

आप्रवासन नीतिका लागि विज्ञ समूह

अहिले हामीले हाम्रो देशका धेरै युवाहरुलाई विश्वका धेरै देशमा वैदेशिक रोजगारमा पठाउने गरेका छौँ । जानेहरु सबैलाई हामीले कुनै वर्गीकरण नगरी एउटै टोकरीमा हालेर पठाउने गरेका छौँ । जस्तै लेबनानमा घरेलु कामदारकारुपमा जाने महिला र अफगानिस्तान तथा इराकमा सुरक्षा गार्डकोरुपमा काम गर्न जाने अनि इजरायलमा कृषिमा काम गर्न जाने सबैलाई हामी एउटै प्रकारको श्रम स्वीकृति दिन्छौँ ।

हामीकहाँ त्यस्तो वर्गीकरण छैन । यसकारण दुई/चार दिन अघि नेपाल सरकारले नेपाल आप्रवासन नीति बनाउनको लागि एउटा विज्ञ समूह गठन गरेको छ । यसले अहिलेसम्म वैदेशिक रोजगारमा भोगेका समस्याहरु र जहाँ जहाँ छ त्यसलाई मिहिनरुपमा केलाउने काम गर्छ । यसले हाम्रो देश तथा गन्तव्य देशका सन्दर्भमा के गर्दा हाम्रा नागरिकलाई सुरक्षितरुपमा धेरै प्रतिफल दिने हिसाबले पठाउन सक्छौँ भन्ने कुराको पनि निष्कर्ष निकाल्न सजिलो हुन्छ । अब वैदेशिक रोजगारीमा पठाउँदा वैदेशिक रोजगारीमा गएको व्यक्ति फर्किएर आउँदा आन्तरिक रोजगारी बढ्ने हिसाबले पठाउन चाहन्छौँ ।

वैदेशिक रोजगार भनेको हाम्रो २०९ वर्ष पुरानो व्यवस्था हो । सन् १८१४ देखि नेपालीहरु वैदेशिक रोजगारमा जान थालेका हुन् । वैदेशिक रोजगारमा गएर फर्केको मानिस स्वरोजगार हुने किसिमले अहिले हामी आप्रवासन नीति बनाउँदै छौँ । हामी विप्रेषणमा मात्र केन्द्रित नभएर देशभित्र उद्यमशीलता, सीप, ज्ञान भित्र्याउने उद्देश्यले त्यस्तो नीति निर्माणमा लागेका छौँ ।

हामीकहाँ अहिले वैदेशिक रोजगारी ऐन, नियमावली र कार्यविधि छ । यो २०४२ सालदेखि लागू भइरहेको छ । समय, समयमा यसमा संशोधन पनि भएको छ । विश्व बजारमा कामदारको अवस्था एकदमै परिवर्तित छ । जस्तै सन् २०२२ मा विश्वकप भयो । यसले नेपालबाट जाने कामदारको परिस्थिति नै परिवर्तन गरिदियो । त्यसबेला कतारमा ठूला ठूला रङ्गशाला, होटल तथा सडक निर्माण भए । कामदारको आवश्यक्ता पनि त्यसै अनुरुप भयो ।

तर, कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा अर्कै किसिमको प्रभाव पार्यो । अबको हाम्रो नीति भनेको चाँडो चाँडो परिवर्तन हुने बजारको अवस्था अनुसार नीति तयार गर्ने भन्ने हो । यसले गर्दा कामदारले सुरक्षितरुपमा काम गरेर बढीभन्दा बढी लाभ लिन सकोस् । यो हामी किन गर्दैछौँ भने वैदेशिक रोजगार आगामी दिनमा बाध्यात्मक नभएर आफ्नै देशमा संविधानले तोके बमोजिमको तलब र रोजगारीको व्यवस्था गर्न सकौँ भन्ने हो । यो किन पनि भनिएको हो भने हाम्रा २२/२३ वटा गौरवको आयोजनाहरु छन् । यसका लागि कामदारको माग हुन्छ ।

त्यस्तै कृषिमा पनि हामी जोड दिइरहेका छौँ । त्यहाँ पनि कामदारको माग छ । तर, हामी सम्भावना हुँदा हुँदै पनि उत्पादन गर्न सकिरहेका छैनौँ । जस्तै अहिले बजारमा अमेरिकादेखि कश्मिरसम्मका स्याउ छन् । तर, हाम्रो देशको स्याउ छैन । हामी खाद्यान्न पनि धेरै आयात गर्छौँ । यसकारण पनि आन्तरिक रोजगारीको सम्भावना धेरै छ । तालिम, ऋण र बजारको व्यवस्थापन गर्न सकियो भने हामीकहाँ थुप्रै अवसर छ ।

इजरायल–प्यालेस्टाइन युद्धको प्रभाव वैदेशिक रोजगारीमा

इजरायल तथा प्यालेस्टाइनबीचको युद्धका कारण अहिले नै इजरायलका बारेमा भन्न सकिन्न । छोटो समयको लागि युद्धविराम भएका कारण हामी आशावादी त छौँ तर, अहिले नै यसै भन्न सकिने अवस्था छैन । संसारका लागि पनि यो युद्ध रोकिनुपर्छ । शान्तिपूर्ण ढंगबाट समाधान गर्न नसकिने कुनै समस्या छैन । इजरायलमा अरु देशमा भन्दा सेवा सुविधा राम्रो भएका कारण अहिले नै त्यहाँ गएकाहरु पर्ख र हेरको अवस्थामा छन् । फर्किएका छैनन् ।

इजरायलमा अहिले युद्ध चलिरहेका कारण जान रोकिएको अवस्था हो । अहिले त सरकारले जान दिए पनि जान नहुने अवस्था हो । किनकि आफ्नो ज्यानको सुरक्षा सबैभन्दा पहिले आफैँले गर्ने हो । युद्धविरामको एउटा बलियो खाका तयार नहुन्जेल इजरायल मात्र नभएर जोर्डन तथा लेबनान पनि अहिले जानु हुँदैन ।

इजरायल मरुभूमि भइकन पनि प्रविधिमा विकास गरेका कारण कृषिमा एकदमै प्रगति गरेको छ । अहिले हाम्रा विद्यार्थीहरु गएको किबुज क्षेत्र कृषिका लागि प्रसिद्ध ठाउँ हो । यसकारण सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले त्यो राम्रो काम गरेको हो । तर अब त्यो जुन दुःखद घटना भयो त्यो भने अप्रत्यासित भएको हो ।

अर्को भनेको ‘होलोकास्ट’मा परेका मानिसहरुलाई र अरु वृद्धहरुलाई केयर टेकरकोरुपमा नेपालीहरुलाई रुचाइएको छ । नेपाली महिलाहरुले आफ्नै परिवार जसरी वृद्धहरुको स्याहार गर्ने हुनाले पनि ठूलो माग छ । तर, एकैपटक ठूलो संख्यामा कामदार लैजाने व्यवस्था भने मिलिरहेको छैन । अहिले केही नेपाली विद्यार्थीहरुको इजरायलमा ज्यान गयो । यो ज्यादै दुःखद कुरा हो । तर, कृषिमा काम गर्दै कमाउने र पछि देशमा फर्केर पनि आफ्नै देशमा काम गर्न सक्ने भएकोले यो राम्रो कार्यक्रम हो ।

हामीकहाँ कृषि क्याम्पस खुलेको यत्रो समय भयो । तर, दश जना त्यहाँको उत्पादनले आफैँले ठूलो कृषि फर्म चलाएर बसेको अवस्था पनि छैन । नेपालको अन्नपात र कृषि उपज आफैँले उत्पादन गरेको पनि कृषि विज्ञ पनि देखिएको छैन । तर, इजरायलको किबुजमा जानेहरुमा भने त्यो सम्भावना थियो । युद्धविराम भएर यो कार्यक्रम निरन्तर भयो भने त्यहाँ जानेहरुले साँच्चै व्यावसायिक कृषि फर्महरु आफैँले चलाउनुहुन्छ भन्ने आशा गर्न सकिन्छ ।

लक्ष्य स्वरोजगार

अहिले गाउँ गाउँमा बाटो पुग्यो, विकास पुग्यो तर मान्छेहरु भने शहरमा आए । रामपुर क्याम्पसका स्नातक अहिले प्रधानमन्त्री हुनुहुन्छ । धेरैजसो कृषि विषय पढेकाहरु राजनीति, परराष्ट्र सेवा वा नीति बनाउनेमा जानुभयो । हाम्रो देशको लागि गर्ने पाठ्यक्रमदेखि लिएर उनीहरु त्यहाँबाट पढ्दा पढ्दै काम गर्ने कमाउने ‘अन द जब ट्रेनिङ’ (ओजीटी) को अभाव छ । हामी चुकेको यहीँनेर हो । हामीलाई सैद्धान्तिक ज्ञान भए पनि आयमुलक सीप र व्यवहारिक ज्ञानको अभाव भयो । बजारसँग जोडिने गरिको सीप हामीसँग नहुने भयो । हाम्रो कमजोरी भनेकै यही हो ।

अब हामीले वैदेशिक रोजगारमा पठाउने बेलामा नै यसरी पठाउनु पर्‍याे कि त्यो मान्छे फर्केर आएर देशमै स्वरोजगार भएर उसले देशमा नै केही गरोस् । जस्तै कुनै एक जना मान्छे प्लम्बिङको काम गर्न साउदी अरेयिबा जाँदैछ र उसले त्यहाँ चार/पाँच वर्ष बसेर काम गरेर आउँछ भने ऊ आइसकेपछि उसले यहाँ प्लम्बिङको आफ्नै पसल खोल्ने सोचले जानुपर्‍याे जाँदा नै । हामीले जानुअघि नै त्यो सपना र योजना बनाउनु पर्‍याे त्यो पनि हाम्रो देशको आवश्यक्तामा आधारित भएर ।

हामी जे पायो त्यही काममा जाने होइन कि पछि फर्केर आएपछि के काम गर्ने हो त्यो काम खोजेर जानुपर्‍याे । हामी चुकेको भनेको त्यहीँ हो । अहिले त हामी जे काम पाए पनि काम पायो कि जाने हो भने जसरी गइरहेका छौँ । यसो गर्दा फर्केर आएको भोलिपल्ट फेरि बेरोजगार भयौँ । हामीले रोजगारभन्दा पनि स्वरोजगार हुने उपाय अपनाउन पर्‍याे । यसले हाम्रो देशको अर्थतन्त्रलाई नै मजबुत बनाउन मद्दत गर्छ । स्वरोजगार हुनेले अरुको लागि पनि रोजगार सृजना गर्छ ।

स्वरोजगार हुनको लागि वैदेशिक रोजगारमा जानेले पहिले त आफ्नो सोचमा नै परिवर्तन ल्याउनु पर्‍याे । पढ्दा पनि रोजगारीका लागि पढ्नेभन्दा पनि स्वरोजगार हुनका लागि पढ्ने भनेर सोचमा परिवर्तन ल्याउनु जरुरी देखियो । जागिर खानका लागिभन्दा पनि जागिर ख्वाउनका लागि पढ्दैछु भन्ने सोच बनाउनु पर्‍याे । हरेक नेपाली युवाले उद्यमी बन्ने सपना देख्नुपर्‍याे । रोजगारी गर्ने मान्छे भेटिन्छ तर रोजगार दिने मान्छे पाउन मुश्किल हुन्छ । यसकारण पनि स्वरोजगार भएर रोजगारी दिने सोच बोक्ने हो भने सबै उद्यमी नबने पनि त्यसमध्येका केही बन्दा पनि अरुले रोजगार पाउने सम्भावना हुन्छ ।

स्वरोजगार हुने सोच नहुँदा हामीले धेरै चिज आयात गर्नु परेको छ । गाडी, पेट्रोल त आयात गर्दा अहिलेको सन्दर्भमा ठिकै होला तर खाद्यान्न आयात गर्नुपर्दा भने त्यसले हाम्रो अर्थतन्त्रलाई नराम्ररी प्रभाव पारेको छ । अरुभन्दा पनि भोलि विश्वमा केही महामारी आइलाग्यो वा विश्वयुद्ध भयो हामी त भोकमरीले ग्रस्त हुने सम्भावना हुन्छ । गाडी नचढौँला, पेट्रोल नकिनौँला तर खानेकुरामा भारत र चीनसँग दाँजेर नेपालमै उत्पादन हुने कुरा भने उत्पादन गर्नुपर्‍याे ।

६० वटा कुराहरु भारत र चीनभन्दा फाइदा हुने हिसाबले हामी आफैँ उत्पादन गर्न सक्छौँ । हामी यस्ता कुराहरु उत्पादनको लागि ऋण, तालिम, मलखाद, बीउबिजन यहीँ व्यवस्था गर्न सक्छौँ । यसो गर्न सक्यौँ भने हामीले स्वरोजगार भएरै यहीँ बसेर आम्दानी गर्न सक्छौँ । विदेश गइरहनु पनि पर्दैन । र विदेश गए पनि हामीले फर्केर स्वरोजगार हुने योजना बनाएर गयौँ भने त्यसले कामदार तथा देशको आर्थिक विकासमा पनि मद्दत गर्छ ।

(श्रम आप्रवासन विज्ञ गुरुङसँगकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: फागुन १४, २०८०

डा. गणेश गुरुङ

डा. गुरुङ आप्रवासन विज्ञ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया