राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

 मंसिर १३, २०८० बुधबार ११:५८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते चुनाव गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगको परामर्श बमोजिम त्यस दिन निर्वाचन गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको पनि उहाँले बताउनु भयो । बैठकले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको मन्त्री शर्माले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको जुन रिक्त सदस्य पद हुँदैछ । त्यसको पदपूर्तिको लागि २०८० साल माघ ११ गते चुनाव गर्ने भन्ने निर्णय भएको छ । नेपाल इन्जिनियरिङ सेवा तर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने । जाजरकोट केन्द्रबिन्दु भइ कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितहरुलाई अस्थायी आवास निर्माणको कार्य ढिला भयो भन्ने कुरा आएको छ । जसरी राहत र उद्धारको कार्य भएको थियो त्यो ढंगले अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी अवास निर्माण कार्यको लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ । त्यसको सिफारिसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई खटाउने निर्णय भएको छ । यदि जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागका आधारमा थप जनशक्ति उपलब्ध गराउने भन्ने पनि छ । सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय भएको छ ।’

मन्त्रिपरिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाशीश लेखनाथ पौडेललाई तोक्ने निर्णय पनि गरेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया