कञ्चनपुरका उखु किसानले ३२ करोड रुपैयाँ अनुदान पाउन बाँकी

 मंसिर १४, २०८० बिहीबार ९:३९:४२ | रासस
unn.prixa.net

फाइल तस्बिर

कञ्चनपुर - कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित भएका छन् । उनीहरुले गएकाे वर्षको अनुदान पाउन सकेका छैनन् ।

सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ । तर कञ्चनपुरका उखु किसानले भने गएकाे वर्षको अनुदान पाउन सकेनन् ।

उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले ३२ करोड रुपैयाँ अनुदान रकम पाउन बाँकी रहेको बताउनुभयो । 'कञ्चनपुरका दुई सुगर मिलबाट किसानलले पाउनुपर्ने त्याे अनुदान रकम सरकारले निकासा गरेको छैन', उहाँले भन्नुभयो, 'गएकाे वर्षकै अनुदान रकम नपाएपछि किसान समस्यामा परेका छन् ।' 

सरकारले २०७५ सालमा कार्यविधि नै बनाएर उखु उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेको थियो । शुरुमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने गरेकामा गएकाे आर्थिक वर्षमा बढाएर प्रतिक्विन्टल ७० रुपैयाँ पुर्याइयो थियो । कञ्चनपुरको पुनर्वासमा रहेकाे भागेश्वर सुगर मिल र बेलौरीमा रहेकाे महाकाली सुगर मिल अहिले सञ्चालनमा छन्। गएकाे आवमा यी दुई उद्योगले नेपाली किसानको २६ लाख ६६ हजार ४८ क्विन्टल उखु क्रसिङ गरेका थिए । त्यसको अनुदानबापत उनीहरूलाई ३२ करोड रुपैयाँ भुक्तानी गरिसक्नुपर्नेमा सरकारले भने बजेट अभावको कारण देखाउँदै आइरहेको गुनासो उखु उत्पादक किसानको छ ।

उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिचन्द ठकुरीले सरकारले गएकाे आव उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल  छ सय १० रुपैयाँ निर्धारण गरेको बताउनुभयो । 

'सरकारले तोकेको समर्थन मूल्यमध्ये चिनी उद्योगले प्रतिक्विन्टल पाँच सय ४० का दरले भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल ७० रुपैयाँका दरले सरकारले अनुदान उपलब्ध गराउने सहमति गरेको थियो', उहाँले भन्नुभयो, 'जिल्लाबाट पनि ढिलो गरी सिफारिक हुँदा एक वर्ष बित्दासमेत किसानले अनुदान पाउन सकेनन्', उहाँले अहिले सिजनकै उखु पनि कटानी गर्ने बेला भइसकेकाले सरकारले घोषणा गरेको अनुदान नै नपाउँदा किसान चिन्तित बनेको बताउनुभयो ।
 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया