कालीगण्डकी करिडोर : बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

 मंसिर १९, २०८० मंगलबार १२:२:४४ | रासस
unn.prixa.net

बागलुङ – बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ । निर्माण व्यवसायीले कामको भुक्तानी समयमा नपाउँदा करिडोर कालोपत्रको काम सुस्ताएको हो ।

बागलुङको मालढुङ्गाबाट छिमेकी जिल्ला गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक कालोपत्रको काम रोकिने अवस्थामा पुगेको हो । भएको कामको समयमा भुक्तानी नहुने भएपछि निर्माण व्यवसायीले काम रोकेको जनाएका छन् ।

एक वर्ष पहिलेदेखि कालोपत्रको काम शुरु भएका दुई खण्डमै काम रोकिने अवस्थामा छ । बागलुङ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर खण्डमा काम गरिरहेको बिडारी निर्माण सेवाले ३६ प्रतिशत काम सकेको छ । बलेवा विमानस्थलबाट गुल्मीको हर्मिचौरसम्म ४४ किलोमिटर खण्डको काम गरेको कालिका निर्माण सेवाले पनि ३५ प्रतिशत भौतिक प्रगति गरेको छ ।

‘भएको कामको भुक्तानी भएको भए हामीले यसै वर्ष कालोपत्रको काम सक्नेगरी काम गरेका थियौँ,’ बिडारी निर्माण सेवाका प्रमुख ध्रुव बिडारीले भन्नुभयो, ‘यसअघि भएको कामको करोडौँ भुक्तानी पाउन बाँकी छ, भइरहेको कामको भुक्तानी हुने/नहुने ठेगान छैन ।’ आयोजनाले विनियोजित बजेट सकिएको सूचना दिएपछि निर्माणस्थलबाट मजदुर र मेसिन अन्यत्रै लैजानुपरेको उहाँको भनाइ थियो।

बागलुङ बलेवा खण्डमा पूर्वाधारका काम सकेर नाली र सवबेसको काम शुरु भएको थियो । यस वर्ष नालीको मात्रै काम पूरा हुने उहाँले बताउनुभयो । दश किलोमिटर खण्डको काम सक्न कम्पनीले दुई वर्षको समय पाएको थियो ।

एक हजार दुई सय मजदुर र ५० भन्दा धेरै मेसिन परिचालन गरेको कालिका कन्ट्रक्सनले झण्डै २० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । हरेक दिन ७० लाख रुपैयाँको काम गर्ने गरेको कम्पनीले भुक्तानी रोकिएपछि हरेक दिन हुने कामलाई घटाएको छ । ‘हामीले मेसिन कम्पनीको क्याम्पमा थन्क्याएका छौँ, मजदुर अन्यत्रै सिफ्ट गरेका छौँ,’ कम्पनीका इन्जिनियर छकबहादुर गुरुङले भन्नुभयो, ‘यसै वर्ष काम सक्ने योजना थियो तर अब गाह्रो हुन्छ ।’

काम भइरहेकै बेला विनियोजित बजेट सकिएको सूचनाले डेढ वर्षमा तोकिएको काम सक्ने योजना पूरा नहुने गुरुङ बताउनुहुन्छ । तीन वर्षको समयावधि पाएको कम्पनीले डेढ वर्षमै काम सक्नेगरी काम गरिरहेको थियो । ‘म्याद थप्ने बेला निर्माण व्यवसायीलाई सबैले गाली गर्छन्, काम भइरहेको बेला रोकिनुपरेको छ,’ उहाँले भन्नुभयो, ‘सबै जुटाएका बेला काम धमाधम हुन्थ्यो, फेरि त्यही जुटाउन समय लाग्छ ।’

झण्डै पाँच अर्ब रुपैयाँ खर्चेर तीन वर्षमा कालोपत्रको काम सक्ने योजना रहेको करिडोरको यो खण्डका लागि चालु आर्थिक वर्षमा ८० करोड रुपैयाँ मात्रै विनियोजन भएको थियो । ‘कामको प्रगति राम्रो थियो, विनियोजित बजेट सकिएकाले रोकिनपर्यो,’ कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका प्रमुख शङ्कर पौडेलले भन्नुभयो, ‘असार–साउनमै भएको कामको भुक्तानी गर्दा विनियोजित बजेट सकिँदा समस्या आएको हो ।’ भुक्तानी नहुँदा समयमा काम सकिनेमा समस्या आउन सक्ने उहाँले बताउनुभयो । ‘हामीले यसै वर्ष काम सक्न योजना गर्यौँ तर ब्रेक लाग्यो ।’ आयोजनाले भएका कामको भुक्तानी र थप कामका लागि दुई अर्ब रुपैयाँ माग गरेको छ । तर बजेट थप भएर वा रकमान्तर भएर आउने सम्भावना कम रहेको प्रमुख पौडेलले जानकारी दिनुभयो ।

‘अर्थले सम्बन्धित मन्त्रालयभित्रै रकमान्तरको स्रोत खोज भनेको छ, भौतिक पूर्वाधारमा यस वर्ष विनियोजन कम भएकाले त्यो सम्भावना रहेन,’ प्रमुख पौडेल भन्नुभयो, ‘राजनीतिक तहबाट पनि पहल भइरहेको छ, आशा गरौँ बजेट थप हुन्छ र काम अघि बढ्छ ।’ निर्माण व्यवसायीले काम ठप्प नपारी थोरै काम गरेर वर्ष गुजार्ने तयारीमा छन् । तर कामको गति घटेकाले करिडोर कालोपत्र हुनेमा भने आशङ्का भएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया