कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको त्यागका बारेमा सही रुपमा पुस्तान्तरण हुन नसकेको बताउनुभएको छ ।
गोकर्णेश्वर नगरपालिका र बिपी सङ्ग्रहालय समितिले बुधबार संयुक्त रुपमा आयोजना गरेको गणेशमान सिंहको १०४औँ जन्मजयन्ती एवम शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीको पदभन्दा प्रजातन्त्र ठूलो हो भन्ने सन्देश प्रवाह हुन नसकेको बताउनुभयो ।
सर्वोच्च नेता सिंहकै कुशलताले ३० वर्षपछि प्रजातन्त्र पुनःस्थापना भएकाले भावी पुस्तालाई यसको सही जानकारी दिनुपर्ने नेता निधिको भनाइ थियो ।
सत्तापक्षको अरुचिले प्रदेश पङ्गु भई सङ्घीयता धरापमा परेको नेता निधिको आरोप थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नेपाल आदिवासी जनजाति सङ्घका अध्यक्ष आईबी गुरुङ, गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारी, कलाकार श्रीकृष्ण सिम्खडा, कांग्रेस नेताहरु विमल ठकुरी, भुवन लामा, श्रीकृष्णराज थापा, शङ्करकुमार श्रेष्ठ, मनोजकुमार ढुङ्गाना, डा. ध्रुव शर्मा मुडवरी र संग्रहालयका अध्यक्ष परशुराम पोखरेललगायतले सर्वोच्च नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभयो ।
नेता सिंहलाई २०१७ पुस १ गतेको कूपछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा जानुभएका नेतालाई २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रो पटक थुनिएको थियो ।
विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सङ्ग्रहालय हाल पुनःनिर्माण भइरहेको छ । सो अवसरमा नेता निधिले गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारीलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।