लमजुङमा सामूहिक भोज खाएका एक जनाकाे ज्यान गयाे, २९ जना बिरामी

 मंसिर २४, २०८० आइतबार १३:३:४६ | रासस
unn.prixa.net

लमजुङ - लमजुङमा क्रिसमसको उपलक्ष्यमा आयाेजना गरिएकाे सामूहिक भोज खाएकामध्ये एक जनाको ज्यान गएकाे छ । २९ जना बिरामी परेका छन् । 

बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भइ सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ मा रहेकाे क्षेत्रबहादुर गुरुङको घरमा शुक्रवार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खानुभएको थियो । त्यसपछि उहाँलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडीसीएस नमुना सामुदायिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीया छोरी विद्यासहित २९ जना अहिले अस्पतालमा उपचारत छन् ।  भोज खाएका त्यही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिवारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए । भोजमा उनीहरुले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया