बाजुराका भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड रुपैयाँ फिर्ता

 मंसिर २९, २०८० शुक्रबार १२:२१:६ | रासस
unn.prixa.net

बाजुरा - बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोड रुपैयाँमध्ये आठ करोड रुपैयाँ फिर्ता गरिएको छ । पहिलो किस्ताको १४ करोडमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि रकम फिर्ता गरिएको हो । 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमवार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो । त्याे रकम विपद् व्यवस्थापन कोषमा  पठाइएको उहाँले बताउनुभयो । भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो ।  

प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले यस क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुुपर्ने भएकाले रकम फिर्ता गर्न  पत्र पठाएको प्रजिअ पौडेलले बताउनुभयो ।

प्राधिकरणले बाजुराका भूकम्प प्रभावितका  लागि  अस्थायी आवास निर्माण गर्न गएकाे मङ्सिर ४ गते पहिलो किस्ताबापत १४ करोड रुपैयाँ पठाएको उहाँले जानकारी दिनुभयो । निकासा भएको याे रकममध्ये हिमाली गाउँपलिका र बूढीगङ्गा नगरपालिकाबाहेक जिल्लाका सात पालिकाका एक हजार पाँच सय नौ प्रभावित परिवारका लागि तीन करोड ७७ लाख रुपैयाँ सम्बन्धित पालिकामा पठाइसकेको प्रजिअ पौडेलले बताउनुभयो ।  

खप्तड छेडेदह गाउँपालिकामा नौ सय ६६, त्रिवेणी नगरपालिकामा एक सय १३, गौमुल गाउँपालिकामा ५५, बूढीनन्दा नगरपालिकामा ६५, स्वामीकार्तिक खापर गाउँपालिकामा नौ, जगन्नाथ गाउँपालिकामा ७४ र बडीमालिका नगरपालिकामामा दुई सय २७ परिवारलाई प्रतिपरिवार २५ हजारका दरले उपलब्ध गराउन सम्बन्धित पालिकाको खातामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्राधिकरणले गएकाे असोज १६ गते बझाङ  केन्द्रबिन्दु भइ गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया