देशको राजनीतिलाई अलपत्र अवस्थामा चलाउन दिँदैनौँ : एमाले अध्यक्ष ओली

 पुस १, २०८० आइतबार १७:१२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति अलपत्र रुपमा चल्न दिन नसक्ने बताउनुभएको छ ।

आइतवार पाँचथरको चिवाभञ्ज्याङमा मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सङ्कल्प यात्राले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउने कुरामा जोड दिनुभयो । उहाँले जनतामा निराशा फैलाउने काम अहिलेको गठबन्धन सरकारले गरेको आरोप लगाउनु भयो । उहाँले अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको पनि दाबी गर्नुभयो । उहाँले देशको राजनीतिलाई सही बाटो र निकास दिनुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो यात्रामा अत्यन्तै रमाइलो बीचका सांस्कृतिक कार्यक्रमहरु, सांस्कृतिक विभिन्न झाँकी, पहिरनदेखि अनेक कुरा ग्रहण गरेका छौँ । स्थानीय खाना, पहिरन, नृत्य, वाद्यवादन, संगीतसँग परिचित भएर सँगै हिँडेका छौँ । यो यात्रा अत्यन्त सफल भएको छ । राजनीतिक हिसाबले यो यात्रा आजको देशको बिग्रँदो अवस्था जो छ, जनतामा निराशा फैलाउने काम अहिलेको गठबन्धनले गरेको छ, त्यसबाट जनतालाई मुक्त गर्न र आशावादी बनाउन र यो अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको छ । अरु पार्टीमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा चल्नु हुँदैन, देशको राजनीतिले सही बाटो र निकास निकाल्नुपर्छ । यहाँ देश र जनताको समय खेर गइरहेको छ । आउँदो पिँढीको भविष्य अप्ठ्यारोतर्फ धकेलिँदै छ । यस्तो अवस्थाबाट देशलाई जोगाउन यस सङ्कल्प यात्राले असाधारण योगदान गरेको छ।’

नेकपा (एमाले) ले झुलाघाटबाट शुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको हो । मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा १८ औँ दिनमा मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुङ्गिएको हो ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया