युवराज, अधिराजकुमारी र अधिराजकुमारका गुरु, प्रा.डा नन्दगोपालको “अनमोल यादहरु”

 पुस ८, २०८० आइतबार ८:१६:११ | कुमार रञ्जित
unn.prixa.net

भूगोल विषयमा विद्यावारिधि गरेका तथा तत्कालीन युवराज, अधिराजकुमारी साथै अधिराजकुमारीलाई पढाएका प्रा. डा. नन्दगोपाल रञ्जितकारले आफ्ना स्मरण, अध्ययन र अनुभवहरुलाई एकै ग्रन्थमा उनेर “अनमोल यादहरु” शीर्षकको पुस्तक प्रकाशनमा ल्याउनुभएको छ । प्राचीन काठमाण्डाैको तल्लो भेग चिकंमू (मुगल होइन) टोलमा जन्मेर हुर्केका उहाँले पुस्तकमा आजभन्दा ७५ वर्ष पुरानो काठमाण्डाैको नेवाः समाजको चित्र आफूले देखेजस्तै उतारेर अन्धविश्वास, भेदभाव साथै अज्ञानतामा जकडिएको “पुरानो नेपाल” विचार र दृष्टिकोणसहित देखाइदिनुभएको छ । 

२५ विभिन्न खण्डमा विभाजित पुस्तकका पानाहरुमा पहिलो खण्ड “काठमाण्डाै शहरको बदलिँदो मुहार” शीर्षकमा लेखकले काठमाण्डाै उपत्यकालाई “राक्षस” को संज्ञा दिँदै “सरकारी योजनाकारहरुको अल्पज्ञान, दरिद्र राजनीतिक मानसिकता तथा अदूरदर्शिताले गर्दा स्वस्थ भू–उपयोगको परिकल्पना गर्न नै असम्भव भएको” निष्कर्ष प्रस्तुत गर्नुभएको छ । 

दोस्रो खण्ड “गुरुलाई आदर र सम्मान सम्मानित गुरुः सभ्य समाज” मा लेखकले आफ्नो विद्यार्थीकालमा गुरुहरुप्रति गरिने सम्मानदेखि पछिल्ला समयमा खासगरी पञ्चायतकाल र त्यसपछिका अवधिमा गुरुहरुप्रति गरिएका नराम्रा अपमानजनक व्यवहारहरु उल्लेख गर्दै तत्कालीन राजपरिवारका सदस्यहरुले गरेका सु–संस्कृत व्यवहारको प्रशंसा गर्नुभएको छ । 

तेस्रो खण्ड “चुलबुले किशोरः इनारमा फर्सी” मा उहाँले उरन्ठेउले उमेरमा आफूले अन्जानमा एउटा फर्सी इनारमा फ्याँकेको घटनाले समाजमा उब्जाएको नकारात्मकता र उब्जिएका समस्या प्रस्तुत गर्नुभएको छ । 

चौथो खण्ड “स्वास्थ्यको कसीमा परम्परागत खेलहरु” शीर्षकमा लेखकले बाल्यकालदेखि देख्दै र खेल्दै आएका विभिन्न खेलहरुबारे चर्चा गर्नुभएको छ । समयकाल र परिस्थितिअनुसार समाजबाट लोप भैसकेका परम्परागत खेलहरुबारे उहाँले “खेलहरु उमेर र लिङ्गका आधारमा खेल्ने गरिएको” कतिपय खेलहरुले शरीरका मांशपेशीहरु कृयाशील र बलिया बनाउने गरेको पनि उल्लेख गर्नुभएको छ ।

पाँचौँ खण्डअन्तर्गत “अशिक्षित समाजः अशोभनीय क्रियाकलाप” मा लेखकले अरुलाई दुःख दिएर खुशी हुने परपीडक प्रवृत्तिबारे आफ्नै समाज वरिपरिका घटना सँगालेर प्रस्तुत गर्दै त्यस्ता क्रियाकलापमाथि शब्द–प्रहार गर्नुभएको छ । 

छैटाैँ खण्ड “अविश्वसनीय, अविवेकी एवम् अन्यायपूर्ण कथनहरु” मा लेखकले आफूले भागेका सुन्दा स्वाभाविकै लागे पनि परिणाम आश्चर्यजनक आउने खालका राम्रा र नराम्रा केही प्रसंगहरुको चर्चा गर्नुभएको छ, जुन पढ्दा रोचक लाग्दछ ।

सातौँ खण्ड “सवारी नियम उल्लङ्घन कि दूर्घटना” मा लेखकले पञ्चायतकालमा आफूले गल्तीवश: एकनाशमा गुडिरहेको गाडीमा अचानक ब्रेक लगाएका कारण प्रहरीका एक डीएसपीले गाडी सडकको पेटीमा जबरस्ती मोड्न बाध्य भएको घटना उल्लेख गर्नुभएको छ । त्यसका बाबजुद ती भलादमी डीएसपीले आफूलाई कुनै कारबाही नगरेको भन्दै राजाका कालका र अहिलेका 'नेताका प्रहरी'को तुलना गर्दै लेख्नुभएको छ । 

आठौ खण्ड “निस्पट्ट रातमा हिँड्दै, हाँस्दै” मा लेखकले मदिरा पिएपछि आफ्नो हाँस्ने बानी रहेको उदाहरण दिँदै त्यस्तोमा झल्यास्स अरुले देख्दा गलत नबुझोस् भनेर झुटाे बोल्नुपर्ने अवस्था आएको प्रसङ्ग प्रस्तुत गर्नुभएको छ । 

नवौँ खण्ड “ममः प्रतिस्पर्धा, ममः संस्कृति” मा लेखकले काठमाण्डाैमा ममः खाने संस्कृति तिब्बतबाट आएको कुरा उल्लेख गर्दै एकताका काठमाण्डाैमा ममः थर्मसमा राखेर आईसक्रीम बेचे जसरी बेच्ने गरिएको कुरा लेख्नुभएको छ । उहाँको यो संस्मरण अहिलेका पाठकका लागि अनौठो लाग्न सक्दछ । त्यसैक्रममा उहाँले नयाँ सडकमा रहेको ममः पसलबारे चर्चा गर्नुभए पनि २००७ सालपछि बौद्धस्तूप परिसरमा स्थानीय एक लामाले खोलेको त्यसताका चर्चित काठमाण्डाैकै पहिलो ममः पसलबारे भने केही लेख्नुभएको छैन ।

दशौँ खण्ड “भाकल पूजा – कलः पूजा” मा लेखकले नेपाली समाजमा प्रचलित तीन प्रकारका पूजाहरु नित्य पूजा, विशेष पूजा र भाकल पूजाबारे उदाहरण र कथासहित विस्तृतमा व्याख्या गर्नुभएको छ । यस अध्यायबाट पाठकले फरक–फरक समयमा फरक–फरक उद्देश्य र आशयकासाथ गरिने पूजाबारे जानकारी पाउन सक्दछ । 

एघारौँ खण्ड “मानव मलको चोरी पुरानो फोहरको व्यवस्थापन” मा लेखकले काठमाण्डाै उपत्यकामा मानवमलको व्यवस्थापनका लागि परम्परागत रुपमा चल्दै आएका चर्पी व्यवस्थादेखि अत्याधुनिक व्यवस्थापन, प्रविधि र सामग्रीहरुको प्रयोगबारे लेख्नुभएको छ । यस खण्डमा उहाँले समाजमा भएका जातिगत छुवाछूतबारे पनि यथार्थ चित्रण साथै त्यस प्रवृत्तिविरुद्ध कटाक्ष गर्नुभएको छ । 

बाह्रौँ खण्ड “हेर हेर ! मोटर गाडी” मा लेखकले काठमाण्डाैमा आधुनिक मोटर गाडी प्रवेश भएको अवस्थादेखि काठमाण्डाैका जनतामा आएका चेतना साथै परिवर्तनबारे लेख्नुभएको छ । जसलाई उहाँले दिनप्रतिदिन निजी गाडी चढ्ने बढिरहेको प्रवृत्तिप्रति इंगित गर्दै “पहिले पहिले गाडी हेर्न रुचि राख्ने मान्छे आजकल गाडीदेखि वाक्क छन्” भन्दै टुङ्ग्याउनुभएको छ । 

तेह्रौँ खण्ड “सावधान ! औँलाले इङ्गित नगरौँ सालिकलाई” मा कसैलाई औँला ठड्याएर देखाउन नहुने समाजमा राणा शासकहरुले जनताप्रति गर्ने व्यवहार साथै त्यसबखतको सामाजिक अवस्था चित्रण गर्दै “शासकका सालिकलाई पनि जनताले ठाडो औँला देखाउन नहुने” स्थितिको उदाहरणसहित चर्चा गर्नुभएको छ ।  

चौधौँ खण्ड “चुलोमा लात्ती प्रहारः लिङ्गभेलको दृष्टान्त” मा लेखकले समाजमा खासगरी महिलामाथि हुने गरेको भेदभावपूर्ण व्यवहारबारे कोट्याउनुभएको छ । जसमा उहाँले महिलाका प्राकृतिक चक्र महिनावारी हुँदा शहरी समाजमा हुने गरेका अन्धविश्वासपूर्ण साथै अन्यायपूर्ण व्यवहारबारे प्रहार गर्नुभएको छ । 

पन्ध्रौँ खण्ड “श्रीमतीभन्दा एक टुक्रा मासुको महत्त्वः “सी” लिने सनातनी प्रथा” मा लेखकले “सी” अर्थात् पशुपछीका महत्त्वपूर्ण अङ्गलाई गुथिका थकालीहरुमा सम्मानपूर्वक समर्पण गर्ने संस्कारको महत्त्व दर्शाउनुभएको छ । साथै त्यस्ता “सी” वास्तवमा एउटा मासुका टुक्रा मात्रै नभइ त्यसमा जोडिएका धार्मिक तथा सांस्कृतिक आस्थाबारे पनि उदाहरणसहित प्रस्तुत गर्नुभएको छ । 

सोह्रौँ खण्ड “काठमाण्डाै शहरमा दूध तथा सागपातको पुरातन वितरण प्रणाली” मा लेखकले कृषियोग्य जमिन, कृषि प्रणाली, कृषि उत्पादन र अतिक्रमण जस्ता तथ्यमाथि प्रकाश पार्नुभएको छ । त्यसक्रममा उहाँले लेख्नुभएको छ– “तरकारीबाट भन्दा जग्गा बेच्दा सैयौँ गुणा बढी आर्थिक फाइदा हुने गरेकोले भू–उपयोग नीति नै परिवर्तन भएको छ ।” तर कस्तो नीति बनाउँदा हुन्छ भनेर उहाँले कुनै सुझाव दिनुभएको छैन ।

सत्रौँ खण्ड “ज्यापु समुदायको परम्परागत भूमिका“ मा लेखकले नेवाः समुदायमा रहेका विविध जाति साथै पानी चल्ने र नचल्ने समुदायबारे चर्चा गर्दै कृषि, संस्कृति साथै समाजमा ज्यापु समुदायको भूमिका र उनीहरुले गरेका प्रगतिबारे पनि चर्चा गर्नुभएको छ । तर ज्यापु जातिले कृषियोग्य जमिन क्रमशः बेच्दै परम्परागत कृषि पेसा छोड्दै गएको र आयातित सामग्रीमा अभ्यस्त हुन थालेकोमा कुनै टिप्पणी गर्नुभएको छैन।

अठारौँ खण्ड “शिवरात्रीको त्यो रात” मा लेखकले नेवाः समुदायमा शिवरात्रीका दिन मनाउने “सिलाचःह्रे” बारे विस्तृतमा चर्चा गर्दै पशुपतिमा लाग्ने मेला र त्यसमा सहभागी हुन भारतबाट आउने साधु र जोगीहरुको तमाशापूर्ण चर्तिकलाबारे लेख्नुभएको छ । 

उन्नाइसौँ खण्ड “एक महिने धार्मिक जुलुस” मा लेखकले नेवाः समुदायमा माघ महिनाभरी बिहानै आयोजना गरिने “मार वनेगु” सांस्कृतिक तथा धार्मिक यात्राबारे चर्चा गर्नुभएको छ । वर्तमानमा काठमाण्डाैबाहिर केही स्थानमा बाहेक लुप्तप्रायः भइसकेको यस परम्पराका साथै लेखकले अन्य पनि थुप्रै लोप भइसकेका सांस्कृतिक तथा धार्मिक परम्पराबारे पनि उल्लेख गर्नुभएको छ । जुन जानकारीमूलक छ । 

बीसौँ खण्ड “हे मस्त धौबजि काः वा” मा लेखकले नेवाः समुदायमा जन्मदिन मनाएर समाजमा दही–चिउरा बाँड्ने परम्पराको महत्त्वबारे लेख्नुभएको छ । यो परम्परा पनि समाजमा लोप भैसकेको र यसका स्थानमा आयातित केक काट्ने जस्ता पश्चिमा संस्कृति भित्रिएको पनि चर्चा गर्नुभएको छ । 

एक्काइसौँ खण्ड “दबू प्याखं” मा लेखकले नेवाः सभ्यतामा गुँला र ञँला दुई महिना सांस्कृतिक प्रहसनका लागि बनाइएका दबूहरुमा हुने कलाकारिता प्रदर्शन, दबूको उपयोगिता साथै दबू प्याखंको प्रचलन हराउँदै गएपछि राजनीतिक भाषण हुन थालेबारे चर्चा गर्दै “दबूलाई अतिक्रमण नगर्नू” भन्ने सन्देश दिनुभएको छ । 

बाइसौँ खण्ड “प्रेत शुक्रराज शास्त्रीकोः समस्या मनोविज्ञानको” मा लेखकले तत्कालीन राणा शासकले आफ्नो शासनमा विसङ्गतिविरुद्ध जनतालाई जागृत गरेका शुक्रराज शास्त्रीलाई झुण्ड्यिाइएको काठमाण्डाैको टेकु, मचलीमा रहेकाे शहीद शुक्रवृक्ष अघिल्तिरबाट हिँड्दा आफूलाई भूत लागेको प्रसङ्ग लेख्नुभएको छ । जसमा उहाँले भूत मन्छाउन रातको १२ बजे शहीद शुक्रवृक्षमा “बौ” राखेर पूजा गरेपछि आफूलाई घाँटी च्याप्ने रोगमा कमी आएको वास्तवमा मानसिक समस्याको पनि केही भूमिका रहेको भन्दै चर्चा गर्नुभएको छ । 

तेइसौँ खण्ड “बाह्र बज्यो” मा लेखकले राणाकालमा चलाइएको रातको बाह्र बजे तोप पड्काउने प्रचलन छँदाको केही चर्चा र अन्त्य भएकोबारे लेख्नुभएको छ । यसले नेपाली समाजमा समय आकलनबारे परम्परागत प्रविधिबारे केही जानकारी प्राप्त हुन्छ ।  

चौबीसौँ खण्ड “दैविक शक्ति तथा प्रेतात्मामा (अन्ध) विश्वास” मा लेखकले समाजमा रहेका अन्धविश्वास, कुरीति, भूतप्रेतको भ्रमबारे लेख्नुभएको छ । जस अन्तर्गत उहाँले थुप्रै उदाहरणहरु दिँदै वैज्ञानिक आधारसहित तर्कहरु पनि प्रस्तुत गर्नुभएको छ । जुन शिक्षाप्रद छ । 

अन्तिम पच्चिसौँ खण्ड “राजपरिवारसँगका स्मरणीय क्षणहरु” मा लेखकले ६ वर्षसम्म तत्कालीन युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजनका गुरुका रुपमा राजदरबारमै पढाउनुका साथै कतिपय स्थलगत भ्रमण र कार्य गरेकोबारे स्मरण गर्नुभएको छ । जसमा उहाँले युवराजसितको पहिलो भेटदेखि ०५८ सालको जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको सामूहिक हत्या काण्ड र त्यसपछिका घटनाक्रमहरुबारे सुनेका र सुनाइएका कुरा समेट्नुभएको छ । जसमा तत्कालीन राजपरिवारका सदस्यहरुले गुरुहरुप्रति गरेका विनम्रता, भद्रता तथा शालिनताको चर्चा छ । जसलाई पढ्दा एक गुरुका रुपमा उहाँले निभाउनुभएको भूमिका र कर्तव्यपरायणता अत्यन्तै साधारण र सौम्य देखिन्छ । साथै उहाँले तत्कालीन राजपरिवारका सदस्यहरुकासाथ प्रत्यक्ष रुपमा सम्बन्धमा रहेर कति सन्तुलित अभिव्यक्ति दिनुपर्दछ भनेर पनि उदाहरण देखाउनुभएको छ । 

समग्रमा प्रा. डा. नन्दगोपाल रञ्जितकारको “अनमोल यादहरु” धेरै कोणबाट सुरुचिपूर्वक पढ्न सकिने पुस्तक हो भन्न सकिन्छ । जमुनादेवी रञ्जितकारद्वारा प्रकाशित पुस्तक काठमाण्डाै उपत्यकाबाट हराउँदै गएका सामाजिक तथा सांस्कृतिक परम्पराहरु बुझ्न पनि उपयोगी छ । सुरुचिपूर्वक पढ्न सकिने पुस्तकमा भाषा सम्पादक माधव घिमिरे “अटल” ले न्यायपूर्वक शब्दहरुको छनोट गरिदिनुभएको देखिन्छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया