हिमालमा चुनौती बन्दै ‘भीभीआईपी एक्सपिडिसन’

 माघ ३, २०८० बुधबार ८:०:२५ | नवराज घिमिरे
unn.prixa.net

पहिले हिमाल आरोहण भन्ने बित्तिकै साहसिक, गाह्रो र चुनौतीपूर्ण कामको रुपमा लिइन्थ्यो । तर, हिजोआज पर्वतारोहण पनि आरामदायी, रमाइलो र पैसावालको यात्रा हो कि भन्ने भान पर्न थालेको छ । अहिले पर्वतारोहणको दुरुपयोग भएको छ । दुरुपयोग नै भन्नु ठीक होला जस्तो लाग्छ । कतिपय पर्वतारोहण कम्पनीले ‘भीभीआईपी एक्सपिडिसन’ भनेर छुट्टै प्याकेज चलनमा ल्याएका छन् । यस्ता प्याकेजमा विदेशीसँग लाखौँ डलर लिएर एक जना पर्वतारोहीलाई आरोहणमा सघाउन वा चुचुरोमा पुर्‍उन चार/पाँच जना शेर्पाको प्रयोग गर्न थालिएको छ । त्यो भनेको पर्वतारोही आफैँले खासै मेहनत गर्नु नपर्ने र भन्नुपर्दा शेर्पाहरुले बोकेरै चुचुरोसम्म लैजाने गर्न थालिएको छ । अहिले यस्तो खालको ‘भीभीआईपी एक्सपिडिसन’ को चलन आएको छ ।

तर, हाम्रो हिमाल आरोहण अर्थात ‘हिमालय एक्सपिडिसन’को यो मर्म होइन । शायद हिलारी अनि तेन्जिङले यो सुनेको भए क्वाँ क्वाँ रुन्थे होला । हिमालमा यस्तो अभ्यास हुन्छ भनेर उनीहरुले सोचेका पनि थिएनन् । त्यो हुनु पनि हुँदैन । हिमाल आफ्नै पौरखले, आफ्नै लगानीले र आफैँले चढ्ने हो । थोरै शेर्पाहरुको सहयोग लिने कुरा आफ्नै ठाउँमा छ । आरोही एउटा बालक जस्तो भएर सबै कुरा शेर्पाहरुको जिम्मामा राखेर हिमाल चढेर के हिमाल चढेको गर्व गर्नु । यसले हाम्रो पर्वतीय पर्यटनमा सहयोग पुर्‍याउँदैन । यसले हामीलाई लैजाने भनेको विपरीत दिशातिर मात्र हो ।

आरोहणमा उच्च व्यवसायीकरण 

हामी अहिले हिमाल आरोहणको व्यवसायीकरणको मोडमा आइपुगेका छौँ । कुनै समय औपनिवेशिक शक्तिहरुले हिमालका उचाइहरु पत्ता लगाउन, आफ्नो सामरिक शक्ति देखाउन हिमाल चढे । सन् १९५३ तिर आइपुग्दा हिमाल चढाइ कस्तो रहेछ, कति उचाइसम्म अक्सिजन बिना मान्छे चढ्न सक्दो रहेछ, कतिसम्म अक्सिजन चाहिँदो रहेनछ । त्यस्तै मानव निर्मित कारखानाहरुले बनाएका अक्सिजनले हिमालमा काम गर्न सक्छ कि सक्दैन भन्ने उनीहरुको वैज्ञानिक परीक्षणको लागि पनि थियो । त्यसबेला उनीहरुको वैज्ञानिक प्रयोगका लागि थियो हिमाल आरोहण ।

हिमाल आरोहण विकास हुँदै जाँदा सन् १९५३ बाट १९७८ तिर आइपुग्दा वा ७०/८० को दशकमा फेरि पुनःप्रयोग जस्तो जुन कि रेनोल्ड मेसनरहरुले बिना अक्सिजन चढेर अल्पाइन शैलीमा इतिहास रचे । त्यसपछि ‘एडभान्चर टुरिजम’ ‘स्पोर्ट टुरिजम’का रुपमा पनि गयो । त्यसरी हुँदै सन् १९९० को दशकमा आइपुग्दा भने हिमाल आरोहण एकदमै व्यापारिक स्वरुपमा आइपुगेको छ । यो हिमालको लागि पनि अस्वस्थ छ । शेर्पाहरुको लागि पनि घातक छ । आरोहणबाट सरकारले केही ‘रोयल्टी’ कमाउला तर अन्तत्वगत्वा पैसा कमाएर हिमाल बिग्रिएका छन् । खुम्बुमा शेर्पाहरुको परिवारमा विपत्ति आइलागेको छ । दुःख भित्रिएको छ । त्यस्तो खालको हिमाल आरोहण गराएर क्षणिक रुपमा केही पैसा त प्राप्त होला तर न हाम्रा हिमाल जोगिन्छन् न देशले नाम कमाउन सक्छ ।

सरकारको बेवास्ता 

सरकारले सगरमाथा लगायतका केही हिमालहरुलाई सुनको अण्डा दिने हाँसको रुपमा मात्र चिनेको छ । हिमाललाई सरकारले वा सरकारी पक्षले राम्रोसँग चिन्दै चिनेन् । सन् १९५३ तिर चिनेको भए वा तेन्जिङ, नोर्गेहरुले चढेपछि नै सरकारले हिमालको महत्व चिनेको भए यहाँ केही उत्पात भइसक्नुपर्‍थ्याे । यहाँ हिमाल सम्बन्धी अध्ययन गर्ने संस्थाहरु अर्थात ‘माउन्टेनरी इन्स्टिच्युट’हरु खोल्नुपर्‍थ्याे । पहिलो पटक सगरमाथा चढेका तेन्जिङ नोर्गेलाई आफ्नै देशमा राख्न सक्नुपर्‍थ्याे । यही बेलादेखि नै सरकारी स्तरबाट हिमालमा लगानी तथा यसको उपयोगमा ध्यान दिएको देखिँदैन ।

हिमाल सम्बन्धी लेखनको कुरा गर्दा नेपालीहरु विदेश गएका नियात्राहरु थुप्रै लेखिएका छन् । तर, सगरमाथा आधार शिविरमा गएका नियात्राहरु अथवा अन्नपूर्ण हिमाल घुमेका वा लाङटाङ र डोल्पा घुमेका कुराहरु बल्ल अहिले आउँदैछन् । हामी यसमा धेरै ढिला भयौँ । सरकारको उपस्थिति अन्य क्षेत्रमा त होला तर, हिमालमा भन्नुहुन्छ भने आरोहण अनुमति दिने र औपचारिकताको लागि हिमाल आरोहणको कुरा बुझ्न अधिकृतहरु पठाउने बाहेक अरु काम भएको छैन । यस बाहेक हिमालका अवस्थाहरु के छन, अधिक आरोहणको अनुमति दिँदा त्यसको असर के परेको छ, शेर्पाहरु कत्तिको जोखिममा छन् यी विषयमा जसरी सूक्ष्म अध्ययन सरकारी तवरबाट हुनुपर्‍थ्याे त्यो तहको अध्ययन भएको पाइँदैन ।

आरोहण अनुमति दिने होड

सरकारले हिमाल आरोहणका लागि अनुमति माग्न आउने जति सबैलाई दिन्छ । सरकारले हिमालमा आफ्नो काम आरोहण अनुमति दिने मात्रै हो भन्ने बुझेको जस्तो लाग्छ । अनुमति दिएका छौँ, चढ, आउ भन्छ । सम्पर्क अधिकृतले फलानो, फलानोले चढ्यो भनेर प्रतिवेदन दिन्छ । उनीहरुलाई प्रमाणपत्र दिनेमै खुसी हुने सरकारको काम हेर्दा कर्मकाण्डी जस्तो मात्र भएको छ ।

हिमाल आरोहणको कुरा गर्दा मानिसलाई आफ्नो सीमाबाट बाहिर गएर केही गरौँ भन्ने लाग्छ । यो मानिसको स्वभाव पनि हो । यसरी नै सभ्यताको विकास पनि भएको थियो । जर्ज म्यालारियरको समयमा त्यसरी नसोचिएको भए हिमाल चढिँदैन थियो । र, शायद हिमाल अहिलेसम्म पनि चढिने थिएन होला । मानिसको स्वभाव नै केही नयाँ चिज आएपछि त्यस्तै गरौँ भन्ने हुन्छ । तर अहिले हिमालमा जुन किसिमको विलासिता बढेको छ त्यो रुप चाहिँ राम्रो पटक्कै हैन ।

सगरमाथाको सवालमा आरोहण खर्चिलो पनि छ । दुर्गम ठाउँ, खान बस्न महँगो, शेर्पाको प्रयोग । हवाईजहाजबाट सामान लिएर जानुपर्छ । याकले बोकाएर लानुपर्छ अनि लामो समय लाग्छ । झण्डै कम्तीमा दुई महिनाको कुरा हुन्छ । त्यसकारण पनि आरोहण खर्चिलो छ । तर, अहिले त हिमाल आरोहण भनेको धनाढ्यहरुको सौख पूरा गर्ने चिज हो कि झैँ भएको छ पछिल्लो समयमा । गल्फ जस्तै भएको छ । अहिले प्राकृतिक रुपमा हिमाल चढ्ने वा हिमाल चढ्दा जुन दुःख हुन्छ त्यसरी हिमाल चढ्ने भन्दा पनि रमाइलो गर्ने जस्तो भएको छ । आधार शिविरमा अत्याधुनिक टेण्टहरु राख्ने, पलङ राख्ने, अट्याच बाथरुम बनाउने, सोफा राखेर काठमाण्डौकै सुविधासम्पन्न तारे होटल जस्तो बनाउने होडबाजी चलेको छ । यसको लागि हिउँमा खाल्डा खन्दाको असर, हिटर लगायतका वस्तुको अत्याधिक प्रयोगका कारण हिउँ पग्लिने क्रम, फोहोरको समस्या जस्ता समस्याहरु बढिरहेका छन् ।

अहिलेको पुस्ताले जसरी हिमाल चढिरहेको छ त्यसलाई हेर्दा प्रकृतिमाथि नै अन्याय भयो जस्तो देखिन्छ । यसले आधार शिविरको जमिनमा प्राकृतिक समस्या पनि ल्याएको छ । हिमाललाई सहरको रुपमा विकास गर्दै गर्दा यसले समग्र हिमाल, हिमाली जीवनशैली, हामीलाई राम्रो आम्दानी दिने महत्वपूर्ण पर्यटन क्षेत्र र अन्तर्राष्ट्रिय जगतमा नेपालको इज्जत सबैमा दाग लाग्ने देखिन्छ ।  

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवराज घिमिरे

घिमिरे पर्यटन व्यवसायी एवम् बेस क्याम्प उपन्यासका लेखक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया