परलोकमा शहीद सम्मेलन !

 माघ १४, २०८० आइतबार १४:३७:२२ | मिलन तिमिल्सिना
unn.prixa.net

उहिलेका राणा र राजाको शासनकालदेखि अहिलेका नवराजाहरूको शासनकालसम्म शहीद भएकाहरूले परलोकमा परिचय कार्यक्रम आयोजना गरे । मुख्य अतिथि थिए, सबैले जानेबुझेका तिनै चार शहीद–शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ । किताबको फोटो र सडकको मूर्तिमा मात्रै हेर्दै र पढ्दै आएका चार शहीदलाई आँखै अगाडि देखेर अरू ‘शहीद’ हरू नतमस्तक भए । किताबमा पढेको जस्तै जोशिला र फूर्तिला । जुद्धशम्शेरले माफी माग्छौ कि ज्यान भन्दा प्रजातन्त्र बहालीका लागि हाँसीहाँसी रुखमा झुन्डिन र छातीमा गोली थाप्न तयार भएर परलोक पुगेका । चार शहीदसँग अरू ‘शहीद’ हरूको देखभेट हुनेबित्तिकै परिचय र भलाकुसारी शुरु भयो ।

कति धेरै रहेछौँ, यमलोकको हलमा त अटिँदैन जस्तो छ । बाहिर बादलमाथि नै बस्नुपर्ला ।

यमराजलाई भनेर ५/१० वटा स्पिकर र माइक्रोफोन पनि जोड्नुपर्‍याे । अझै २/३ हजार आउँदै होलान् । प्रधानमन्त्रीले छिटै ३ हजार शहीद घोषणा गर्ने भनेका छन् । अहिले नै १२ हजार जति भैसक्यौँ । यता हामीले कार्यक्रम गरिरहँदा सरकारले घोषणा गरिहाल्यो भने परलोकको परतिर छरिएर बसेका अरू ३ हजार पनि आइपुग्लान् ।

यमराजलाई मान्छे ओसार्दैमा फुर्सद छैन, के को माइक र स्पिकर व्यवस्था गर्थे र ? ठिकै छ, माइक र स्पिकर नभए पनि सुुनिन्छ । परिचय शुरु गरौँ न ।

परलोकको फराकिलो बादलमाथि चार शहीदलाई अगाडि राखेर अरूले आफ्नो परिचय दिन थाले ।

म धार्मिक शहीद ।

म व्यापारी शहीद ।

म विद्यार्थी शहीद ।

म शिक्षक शहीद ।

म कर्मचारी शहीद ।

म मजदुर शहीद ।

म ठेकेदार शहीद ।

म श्रमिक शहीद ।

म फलानो पार्टीको शहीद ।

म ढिस्कानो पार्टीको शहीद ।

म बेरोजगार शहीद ।

म वैदेशिक रोजगार शहीद ।

म गुण्डा शहीद ।
......

ओहो... कति धेरै शहीद ? तपाईँहरू सबैलाई देशले चिन्छ त ?

देशले त त्यस्तै हो हजुर, घरका र पार्टीकाले चाहिँ राम्रोसँग चिन्छन् ।

अनि शहीद पनि फलानो पार्टीको, ढिस्कानो मान्छेको, फलानो पेसा र व्यवसायको भन्ने हुन्छ त ? किन यति धेरै शहीद ?

बाध्यता हजुर । जिउँदो छँदा हामीजस्ता मान्छेको मूल्य हुँदैन । काम पाइँदैन । काम नपाएपछि घर चल्दैन, चुल्हो बल्दैन । आन्दोलन, प्रदर्शन र भीडभाडमा मरियो भने आफ्ना मान्छे र पार्टीले अलिकति बल गरी दिन्छन् र शहीदको सूचीमा पर्न पाइन्छ । आफू यता आएर शहीदको सूचीमा परेपछि उता घरपरिवारले १० लाख रुपैयाँ पाउँछन् । १० लाखले १० थरी समस्या टर्छ । निभेको चुल्हो बल्छ । चुहिएको छाना टालिन्छ । छोराछोरीले पढ्न पाउँछन् ।

यति मात्रै होइन हजुर जुन पार्टीले जति धेरै शहीद जन्माउन सक्यो, उसको उति नै धेरै मान प्रतिष्ठा हुन्छ । भोट बढ्छ । सरकारमा जाने बाटो फराकिलो हुन्छ । 'बार्गेनिङ पावर' थपिन्छ । त्यसैले हामीलाई चाहिँ हाम्रो पार्टीले शहीद बनाएको ।

अनि हामी चाहिँ उता हुँदा गुण्डागर्दी गर्थ्याैँ हजुर । पार्टीका मान्छेले नै पालेर राखेका । पार्टीलाई चन्दा उठाउन र धन्दा चलाउन काम लाग्ने मान्छे । धन्दा गर्दैगर्दा प्रहरीले गोली हानेर लडायो । अनि हाम्रा नेताहरूले शहीद घोषणा गर्न लगाएर हाम्रो मान प्रतिष्ठा उठाए ।

देश र नागरिकका लागि साँच्चै बलिदानी गर्नेहरू पनि यहाँ छौँ हजुर । हाम्रै बलिदानले अहिले देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र स्थापना भएको हो ।

हामी चाहिँ १० लाखको शहीद हजुर । १० हजारको जागिर खोज्न सडकमा भौतारिँदै गर्दा सरकारको गोली खाएर १० लाख कमाएको । जिउँदो हुँदा जागिर पाए पनि १० लाख कमाउन दशौँ वर्ष लाग्थ्यो । धन्न सरकारको एक गोलीले परिवारलाई १० लाख मिल्यो ।

परिवारको पालनपोषणका लागि शहीद ! पार्टीको मानप्रतिष्ठाका लागि शहीद ! नेताहरूलाई ठाउँमा पुर्‍याउने भर्‍याङ बन्नका लागि शहीद ! अनि पटक–पटक नागरिक स्वतन्त्रताका लागि शहीद ! अनि हामी चार जनाले देखाएको बाटोमा हिँड्छौँ भन्नेहरू के गर्दैछन् त ?

अहिले पनि शहीदले देखाएको बाटोमा हिँड्छु मात्रै भन्छन् हजुर तर हिँड्न चाहिँ अर्कै बाटो लागेका छन् । धेरैजसो आफू, परिवार, नातागोता, आसेपासे र आफन्तको हित हुने बाटोमा दौडिरहेका छन् । कोही भ्रष्टाचार, कमिसनतन्त्र र ढिलासुस्तीको बाटोमा अलमलिएका छन् । कोही सुखसयल, अमनचयन र स्वार्थको बाटोमा मस्त छन् । भन्नलाई शहीदको सपना नै भनिरहेका छन् तर आफ्नै सपना पूरा गर्नमै भ्याइनभ्याइ छ हजुर उनीहरूलाई ।

भनेपछि शहीदले देखाएको बाटोमा हैन, अझै शहीद थप्ने बाटोमा पो छन् ! धन्न बेलैमा यता आइएछ, उता भइरहेको भए उहिल्यै झुन्डिएर मरिन्थ्यो होला !

अन्तिम अपडेट: बैशाख ६, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया