दलहरु नागरिकमाझ जानु एक प्रकारले राजनीतिको श्वासप्रश्वासको माध्यम हो

 माघ २४, २०८० बुधबार ११:५०:४५ | अर्जुनध्वज अर्याल
unn.prixa.net

नयाँ र पुराना दलहरु यतिबेला नागरिकको माझमा पुग्ने होडबाजीमा छन् । आफ्ना कार्यकर्ताहरुमा राजनीतिक आर्थिक, सैद्धान्तिक सबै पक्षमा खिया नलागोस् भनेर पुनर्ताजगीका लागि यस्ता कार्यक्रम आवश्यक थियो र गर्नुपर्थ्याे । तर, अहिले यस्ता कार्यक्रमहरु एकले अर्कोलाई उछिन्ने, सौदाबाजी गर्ने, चर्चा बटुल्ने हिसाबले मात्र सञ्चालन गर्न खोजेको जस्तो देखिन्छ । यदि त्यसो होइन भने नेपाली कांग्रेसले सञ्चालन गरेको समुदायमा कांग्रेस भन्ने कार्यक्रमलाई छोडेर महामन्त्री गगन थापा पार्टीले अनुरोध गर्दागर्दै पनि पनि एकल कार्यक्रम जस्तो गरेर हुलाकी राजमार्गमा जनसंवाद कार्यक्रम गर्नुभयो । यस्तो कार्यक्रम कतै व्यक्तिगत लाभ लिने तथा गुटगत लाभ लिने त होइन भन्ने जस्तो देखिन्छ । तर, यसलाई सकारात्मक हिसाबले हेर्ने हो भने नागरिकका माझ जानु नराम्रो कुरो होइन ।

आखिर पार्टीहरु निर्वाचित हुने भनेको नागरिकबाट नै हो । नागरिकका पीर, मर्का पार्टीहरुलाई थाहा नभएको त होइन । कम्तीमा एउटा पार्टीले शुरु गर्दा हामी पछि पर्छौँ कि, हामीलाई कार्यकर्ताले छोड्छन कि, नागरिकले बिर्सन्छन् कि भन्ने जस्तो त्रसित मानसिकताले यस्ता कार्यक्रमहरु अगाडि बढिरहेको देखिन्छ ।

यही कार्यक्रमको सन्दर्भमा कांग्रेसका प्रवक्ता मिनकुमार विश्वकर्माले महामन्त्री गगन थापाको कार्यक्रमलाई पार्टीले चिन्दैन, कांग्रेसले चिन्दैन भन्नुभएको थियो । महामन्त्री जस्तो मान्छेले पार्टीसँग समन्वय नगरीकन व्यक्तिगतरुपमा मनोमानी तवरले काम गर्दै जाँदा अराजकता पैदा हुने त होइन भन्ने हुन्छ । यो पार्टीलाई अविश्वास गरेको कि नेतृत्वलाई अविश्वास गरेको भन्ने प्रश्न उठ्छ । पार्टीभित्र गहन छलफल भएर ती कार्यक्रमलाई कहाँ केन्द्रित गर्न सकिन्थ्यो, गगन थापाले भनेजस्तै हुलाकी राजमार्ग केन्द्रित गर्न सकिन्थ्यो अथवा पार्टीले अधि सारेका अरु प्रदेशमा केन्द्रित थर्न सकिन्थ्यो । यसमा मिलेर जान सकिन्थ्यो । यसबाट के देखिन्छ भने व्यक्तिगत लोकप्रियताको रुपमा जाने त होइन कतै भन्ने देखिन्छ । यसबाट पार्टीमा समन्वय भन्दा पनि विग्रह ल्याउने हो कि भन्ने जस्तो देखिन्छ । यो व्यक्तिगत महत्त्वाकाङ्क्षालाई प्राथमिकतामा राखेर गरिएको त होइन कतै भन्ने देखिन्छ ।

महामन्त्री गगन थापाको यस कार्यक्रममा कांग्रेसका अरु नेताहरु पनि हुनुहुन्छ । तर, यसमा समानान्तर गतिविधि किन भन्ने कुरा पनि उठ्छ । यसमा पार्टीले अगाडि सारेको र महामन्त्रीले अगाडि सारेको कार्यक्रमलाई पनि सँगसँगै लैजाउँ भनेर अरु नेताहरुले किन भन्न नसक्ने ? दुई ध्रुवमा बाँडिदा पार्टीलाई समग्रमा फाइदा हुन्छ कि हुँदैन भनेर हेर्नुपर्छ । यसबाट त नेतृत्वमा को स्थापित हुने र भोलि पार्टीको महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने एजेण्डामा आधारित हुने भयो । एउटा संस्थापन पक्ष र अर्को संस्थापन इतर पक्ष भएर प्रस्तुत भएको देखियो । यसले कालान्तरमा के देखियो भने कांग्रेसमा पहिलेदेखि चलि आएको चौहत्तरे, छत्तिसे, मातृका–वीपी, सुवर्ण–वीपी जस्ता आन्तरिक विग्रहका कुराहरु पटक पटक कांग्रेसले बेहोरिरहेको छ त्यता नजाओस् भन्ने हो ।

प्रचारबाजीका लागि मात्र अभियान 

नगरिकका पीर, मर्का बुझ्ने र त्यसलाई कार्यान्वयन गर्ने तहसम्म आओस भन्ने हो यस्ता कार्यक्रम । त्यो जनसंवाद कार्यक्रममा खबरदार प्रधानमन्त्री वा कुलपतिले उपकुलपति राजनैतिक भागबण्डाका आधारमा नियुक्त गर्न पाइँदैन र हामी दिँदैनौँ भनेर गगन थापाले भन्नुभयो । त्यो त्यहाँ कार्यक्रममा गएर भन्ने हो वा सम्बन्धित फोरममा प्रधानमन्त्रीलाई सहमत गराउने हो ? यसका लागि एमाले, माओवादी, एकीकृत समाजवादीलगायत अरु पार्टीका नेताको समेत सघन संवाद चलाएर हामी आजदेखि राजनीतिक भागबण्डाका आधारमा कुनै पनि विश्वविद्यालय लगायतका पदहरुमा सौदाबाजी गर्दैनौँ, शिक्षकहरुलाई उचाल्ने काममा लाग्दैनौँ, विश्वविद्यालयतको विशुद्ध उन्ननयनका लागि अगाडि बढ्छौँ भनेर संवाद गरेको कहिले सुनिएको छ र ? हामीले त भनेका थियौँ फलानोले गरेन भनेर भजाउने काम गरेको देखिन्छ । अहिले उधारो चेक लिने, भोलि त्यसलाई नगदमा परिणत गर्ने खेल हो कि जस्तो देखिन्छ ।

महामन्त्री र पार्टीको फरक फरक कार्यक्रम गरेर नाटक किन गरेको हो ? समय फरक पारेको भए पनि हुन्थ्यो । एउटाले १३ गतेदेखि शुरु गर्ने एउटाले १६ गते गर्ने किन गर्नुपर्यो ? नागरिकमा जाने हो, नागरिकका पीर, मर्का बुझ्ने हो भने नाटक किन देखाउनु पर्यो ? प्रजातान्त्रिक प्रक्रिया अवलम्बन गरेको देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीले यसरी एउटा अराजकतापूर्ण गतिविधि नगर्दा हुन्थ्यो ।

नागरिकमा जाने कुरा सकारात्मक 

अहिले नागरिकमा गएको कुरालाई सकारात्मक रुपमा लिनुपर्छ । किनकि कम्तीमा साढे चार वर्षको दौरानमा मात्र नेतालाई भेट्न, देख्न पाइन्छ भन्ने नागरिकको जुन गुनासो छ त्यसलाई यसले सम्बोधन गर्ने भयो । आफ्ना पीर, मर्का सम्बोधन होलान, नहोलान, मनमा लागेका कुराहरु नेतालाई भेटेका बेला राख्न सक्ने भए । भलै फर्केर जाँदा चुनाव पछाडि पनि हामीले यी कुराहरु भनेका थियौँ खोइ त यो कुराको परिपूर्ति गरेको, आवाज उठाएको भन्न सक्ने भए । तपाईँले सबै कुरा समग्र गर्न सक्नुहुन्न होला तर, आवाज उठाउने ठाउँमा खोइ त आवाज उठाएको भनेर खबरदारी गर्न सक्छन् । यो एक प्रकारको राजनीतिको श्वासप्रश्वासको माध्यम हो ।

कांग्रेसका महामन्त्री गगन थापाले शुरु गरेको जनसंवाद कार्यक्रममा औपचारिक आसन ग्रहण नगर्ने, मन्तव्य नराख्ने र नागरिकका कुरा सुन्ने भन्नु भएको छ । सम्भवतः यसको प्रभाव भनेको एमालेले मध्यपहाडी लोकमार्गमा जुन किसिमको तामझाम र औपचारिकतालाई अलि बढी प्राथमिकता दियो शायद त्यसबाट उहाँ तर्सिएको पनि हुनसक्छ । उहाँहरुलाई सिको गरेको अर्थ नलागोस् अलि फरक ढङ्गले जानुपर्छ भन्ने थियो । अर्को भनेको औपचारिक कार्यक्रममा नागरिकले नेतासँग त्यति धेरै कुराहरु राख्न सक्दैनन् । अनौपचारिक कार्यक्रम भयो भने मान्छेहरुले आफ्ना कुरा खुलेर राख्न सक्छन् । र, साना–साना समूहमा ती कार्यक्रम गरियो भने धेरै मान्छेका आवाज सुन्न सकिने अवस्था रहन्छ । त्यसले गर्दा नागरिकका पीर, मर्काहरु सहज रुपमा आउँछन् ।

अभियान पुनर्ताजगीका लागि मात्र

अहिले कांग्रेसले शुरु गरेको संवाद नागरिकका पीर, मर्का थाहा नपाएर गरेको संवाद होइन । यसलाई केवल पुनर्ताजगी गर्न खोजिएको मात्र हो । अथवा हामी तपाईँहरुसँगै छौँ भनेर नागरिकलाई ढाडस दिन खोजिएको मात्र हो । नभए तीस वर्षसम्म राज्यसत्ता सञ्चालन गर्दैगर्दा कहाँ के कुरा भएको छ भन्ने उहाँहरुलाई जानकारी छैन भन्ने लाग्दैन । अहिले विज्ञान र प्रविधिले ल्याएको परिवर्तनका कारण होला सम्पूर्ण मानिसहरु, पहाड छोडेर सहर आउने अनि सहर छोडेर विदेश जाने सुखसयल उपभोग गर्ने माध्यम बनिरहेको छ । यसले सारा गाउँबस्ती खाली हुने अवस्था बनेको छ । बुुढाबढी र केटाकेटी मात्र गाउँमा रहने अवस्था छ । त्यो बसाईँसराइलाई कसरी रोक्न सकिन्छ, त्यहाँ भएका समस्याको वास्तविक समाधान कसरी गर्न सकिन्छ भन्ने कुरामा उहाँहरु लाग्नुपर्ने हो ।

२०७६ सालतिर होला बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गको पूर्वको चीवा भञ्ज्याङदेखि लिएर झुलाघाटसम्मको पदयात्रा पहिले नै तय गर्नुभएको थियो । जुन अहिले एमालेले गर्यो । उहाँका ट्वीटर अहिले हेर्ने हो भने फलानो ठाउमा पानीको समस्या, फलानो ठाउँमा बाँदरको समस्या, फलानो ठाउँमा के को समस्या, फलानो ठाउँमा के को समस्या भनेर उहाँले यावत समस्या उठाउनु भएको थियो । र यी समस्या सम्बोधन गर्न सरकारले ध्यान दिनुपर्छ भनेर भनिरहनु भएको थियो । तर, ती कुराहरु त कहीँ पनि सम्बोधन भएनन् ।

यसमा गर्नुपर्ने कुरा के हो भने पालिकामा जुन तहबाट राजनीतिकरण गरिएको छ, उपभोक्ता समिति चाहे त्यो वनको होस् वा अरु कुनै तहको होस त्यसमा जनस्तरमा आमनागरिकलाई जसरी एउटा वा अर्को खेमामा लाग्न बाध्य बनाइएको छ त्यसबाट नागरिकलाई मुक्ति दिनुस् । स्वतन्त्र नागरिक बन्न सक्ने अवस्था बनाइदिनुस् । हाम्रा पार्टीहरु हेजेमोनिक सिस्टममा चल्ने भए । आफ्नो निहित स्वार्थ परिपूर्तिका लागि नागरिकलाई वा कार्यकर्तालाई निर्देशन दिने होइन भने उनीहरुलाई स्वतन्त्ररुपमा स्वस्फर्तः ढङ्गबाट आउन नसक्ने अवस्था तयार गरेका छन् ।

एउटा कुनै अमूक पार्टीको नेता मानव बेचबिखन जस्तो गम्भीर मुद्दाबाट धरौटीमा रिहा हुँदै गर्दा उहाँले सफाइ पाएजस्तो खादा, माला बोकेर तामझामका साथ जाने । अनि अर्को पार्टीको अमूक नेतालाई सामान्य सहकारीको ठगी मुद्दामा जोडिएको छ भनेर त्यसलाई काराबाही गर्नुपर्छ भन्ने नाममा कार्यकर्तालाई पुत्ला जलाउन उक्साउने किसिमको जुन काम भयो त्यो चाहिँ गलत हो । त्यसरी त्यो प्रक्रियाबाट नागरिकलाई विभाजित नगर्नुस् । स्वतन्त्ररुपमा सोच्न सक्ने अवस्थामा छोड्दिनस् भन्ने हो । मानिस श्वासप्रश्वास प्रक्रिया बन्द भएर मात्र लाश हुँदैन नैतिकरुपमा गलत कुरालाई गलत र सही कुरालाई सही भन्न सक्ने चेत जागेन, त्यसलाई स्वतन्त्रता दिएन भने त्यो पनि लाश नै हो भन्ने ओशोको भनाइ छ । त्यसकारण नागरिकलाई, कार्यकर्तालाई त्यसरी लाश बन्नबाट मुक्ति दिनुस् ।

रास्वपा विकास आयोजनामा केन्द्रित हुनुको कारण

सम्भवतः नयाँ पार्टी भएका कारण उसलाई राष्ट्रिय रुपमा चिनाउनका लागि पनि यस्ता कार्यक्रम र गतिविधि गर्नु उसका लागि आवश्यक थियो होला । तर, उहाँहरुले जुन किसिमको नारा तथा एजेण्डा लिएर अगाडि आउनु भएको छ त्यो एजेण्डालाई देशव्यापी बनाउन यस्ता कार्यक्रम होइन ठेकेदारले काम गरिरहेका छैनन्, पैसा नपुगेर काम गरेका होइनन् वा के कारणले ती ठेक्काहरु समयमा सम्पन्न हुन सकिरहेका छैनन् भन्ने कुरा त सम्बन्धित सरोकारवालालाई राखेर छलफल गर्ने हो । तपाईँहरुलाई के-के कुराले बाधा व्यवधान खडा गरेको छ भनेर बहस चलाउनु पर्थ्याे । त्यो आयोजनामा पुग्दैमा आयोजनाले तीव्रता लिने होइन । भलै उहाँले बुटवल–नारायणगढ सडकको पदयात्रा गरिसकेपछि त्यो बाटोको निर्माण कार्य कति द्रूत गतिमा अगाडि बढेको छ भन्ने कुरा पनि मूल्याङ्कनको विषय रहला । त्यसबाट उहाँले पाठ सिक्ने कि नसिक्ने । त्यसकारण चर्चाका लागि चर्चा होइन । ती विषय के मा आधारित छन्, विषयमा आधारित मुद्दालाई अगाडि ल्याएर जो सम्बन्धित सरोकारवालाहरु छन् उनीहरुको ध्यानाकर्षण गर्ने, छलफल गर्ने, उनीहरुले काम गर्न नसकेका कठिनाइहरु के छन्, बाधाहरु के छन्, त्यसलाई सम्बोधन गर्नका लागि सरकारसँग सघन सम्वाद गर्ने हो । त्यसो गरियो भने वास्तविकतामा त्यो कामयावी हुनसक्छ । होइन भने यस्ता गतिविधिहरु केही क्षणका लागि पानीमा फोका उठेको जस्तै राजनीतिक फोकाहरु उठ्न सक्छन् । तर, यी दीर्घकालीनरुपमा रहन सक्दैनन् ।

रास्पवाको यो यात्रामा नागरिकलाई भेट्नेभन्दा पनि उहाँहरु सडकमा हिँड्नुभयो । त्यति धेरै नागरिकसँग सम्वाद भएन । भलै अन्तर्यमा उहाँहरुको नागरिकसँग सम्वादको उद्देश्य होला । उहाँहरु नयाँ पार्टी हो । जनस्तरमा पुग्नु भएको छैन । उहाँहरुको एक वर्ष मात्र हुन खोज्दैछ । त्यसकारण उहाँले ती कुराहरुलाई व्यापकरुपमा लगेर नागरिकसम्म पुर्याउने हो भने त औपचारिक कार्यक्रमहरु राख्नु राम्रो हुन्छ ।

अभियानभन्दा अनुसन्धान आवश्यक

यी आयोजना केन्द्रित कुराहरु त नबन्नुको कारण अनुसन्धान गरेर पहिचान गरी सम्बन्धित सरोकारवालाहरुसँग तपाईँको यो यो कमजोरी रहेछ, सरकारको यो कमजोरी रहेछ भन्ने हो भने त त्यहाँ नागरिकले के-के प्रताडना भोगिरहेका छन् भन्ने त बुटवल–नारायणगढ सडकले नै देखाइसकेको छ । यसमा थप हेर्नुपर्ने केही कुरा त छैन नि । यति धुलाम्य भइयो भनेर देखाइरहनु पर्ने आवश्यक्ता देखिन्न । हिँड्दैमा हुने भए त सबै नागरिक हिँड्ने थिए नि त । सबै नेताहरु हिँड्ने थिए नि त । त्यसकारण त्यसलाई के ले प्रभाव पारिरहेको छ प्रभावलाई कम गर्ने उपाय खोज्नुपर्यो । त्यसका लागि सम्बन्धित सरोकारवाला जस्तै ठेकेदार होला, सडक विभाग होला, अरु सम्बन्धित मन्त्री तथा सचिवसँग बसेर सम्वाद गर्ने होला । तपाईँहरुको निर्देशन यहाँ पुगेन, सहयोग यहाँ पुगेन, ठेकेदारको समस्या यो छ है, ठेकेदारले यो कुरा गर्नुपर्थ्याे है, अथवा तपाईँहरुले त्यसमा चरम भ्रष्टाचारको अवस्था सृजना गर्नुभयो जस्ले गर्दा कम रकमको ठेक्कामा ठेकेदारहरु गए, त्यसले गर्दा समयमा काम हुन् सकेन भन्ने होला । यसकारण समयावधि लम्ब्याएर ठेकेदारले यताबाट मूल्य उठाउँदैछ है भनेर त्यता ध्यान दिनुपर्छ भन्नुपर्थ्याे । यसले केही समयलाई चर्चा पाउँछ । यो दीर्घकालीन समाधानको उपाय होइन ।

यदि संसद्को चौथो ठूलो दलले यसरी पैदल यात्रा गर्दा दबाब पुग्ने भए पहिलो भएका नेताहरु किन नगएका त ? यदि त्यसले काम गर्ने भए पक्कै अरु पनि जान्थे होला । उहाँहरुलाई त तपाईँहरुलाई टेण्डरमै बदमासी गर्नुभएको छ त्यसकारण ठेकेदारले त्यसको क्षतिपूर्तिको लागि यसरी ढिलाइ गरिरहेको छ भन्ने ल्याकत उहाँहरुले अनुसन्धानबाट ल्याउनु पर्यो । यदि त्यसो होइन भने पहिलो र दोस्रो राजनीतिक दलका नेताहरुलाई त्यहाँ पुर्याइदिउँ न त, पहल गरौँ न त के हुँदोरहेछ काम बन्ने हो भने त हेरौँ न । त्यसरी हुन्छ भन्ने लाग्दैन । 

गहन अनुसन्धान गर्नुस् । जसरी संसद्मा रास्वपाका सदस्यहरु प्रस्तुत हुनुभएको छ, समितिमा जसरी प्रस्तुत हुनुभएको छ अनुगमन गर्ने भनिएका ती आयोजनासँग सम्बन्धित कमी कमजोरी गहनरुपमा अध्ययन गर्नुस् र त्यहाँ देखिएका कमी कमजोरीलाई ल्याएर बुटवल–नारायणगढ सडक खण्डको हिँडाइ जस्तो नभएर त्यसको गहन अनुसन्धान गर्नुस् र कमी कमजोरीलाई औँल्याउनुस् । र, सरोकारवाला पक्षहरुसँग राखेर सम्वाद गर्नुस् ताकि ती आयोजनाहरु समयमा सकिउन । सरकारको खर्चमा कमी आओस् । त्यस्ता आयोजनाहरुको समयावधि थप्नुपर्ने अवस्था सृजना नहोस् भन्नेतिर सचेत हुनुस् ।

दलहरुका अहिलेका अभियान मिसन ८४ अन्तर्गत नै हुन्

दलहरुका यो अभियानमा नागरिकका पीर, मर्का बुझौँ भन्ने होला अलिअलि तर, यसको अन्तर्य भनेको मिसन ८४ नै हो । यसमा लुकाउनु पर्ने पाटो छैन । उहाँहरुलाई जसरी एउटा अमूक राजनीतिक दल गठन भएको पाँच महिनामा नै राष्ट्रिय दल र संसद्को चौथो ठूलो दल बन्न आयो त्यसले उहाँहरुलाई एकदमै ठूलो पीडा प्रदान गरेको छ एकातिर । अर्कोतिर पालिकामा स्वतन्त्र भनिएका केही मेयरहरुले वास्तवमा भन्ने हो भने एकदमै उल्लेखनीय कामहरु गरिरहनु भएको छ । ती कामहरुबाट उहाँहरु तर्सिनु भएको छ ।

पाल्पा तम्घासको बाटो त्यतिबेलाका जनप्रतिनिधि बैकुण्ठबहादुर चन्दले जनश्रमदानमा निर्माण गरेको सम्भवतः एसियाली देसहरुमा सबैभन्दा लामो बाटो थियो । अहिले एक पैसा पनि नभएर राजनीतिक कार्यकर्ताहरु अगाडि नबढिरहेको अवस्थामा धरानको मेयरले ४२ किलोमिटर लामो खानेपानी योजना सम्पन्न गर्नुभयो त्यसले चाह्यो भने गर्न सकिन्छ भन्ने देखायो । स्वस्थ मानसिकता हुने हो भने, स्वच्छ विचार हुने हो भने, नागरिकसँग समर्पित भएर गर्ने हो भने काम गर्न सकिन्छ भन्ने देखायो । बालेन, गोपी हमाल, चिरीबाबु महर्जन आदि मेयरकै कुरा गर्न सकिन्छ । यस्ता केही नामहरु चर्चामा आइरहेका छनैनन् । जस्तो भरत तालकै नाममा सम्मान गरेको अवस्था छ । यस्ता खालका कामहरु नभएका होइनन् । 

राजनीतिक दलहरुले मिसन ८४ भनेर यसरी यी किसिमका एजेण्डाहरु लैजानु भन्दा रास्वपाभन्दा बाहेकका त स्थानीय सरकारहरु छन् । प्रदेश सरकारमा सहभागी छन् । उनीहरुलाई नागरिकका पीर, मर्का बुझ्नेगरी काम गर है, बदमासी नगर है मात्रै भन्दियो भने पनि त पुग्छ । त्यसकारण यस्ता किसिमका स्टन्टहरुले मात्र हुन्छ भन्ने लाग्दैन । अहिले नागरिकहरु धेरै सचेत छन्, बुझिसकेका छन् । बुझ्दैछन् र नजिकबाट हेर्दै पनि छन् । उनीहरुले के गर्न खोजेको भन्ने कुरा नागरिकले एकदमै प्रष्टरुपमा बुझेका छन् । राम्रो काम गरे मिसन ८४ त यसै हुन्छ नि । त्यसकारण एजेण्डा स्थापित गर्नका लागि काम गर्नुपर्छ । कामले मात्र एजेण्डा स्थापित हुन्छ ।

अहिले नयाँ तथा पुराना दलहरु एक अर्काको दबाबकोरुपमा अगाडि बढिरहेका छन् । त्योभन्दा अर्को हुँदै होइन । जसरी एमालेले मध्यपहाडी लोकमार्ग र समुदाय भन्यो त्यसपछि माओवादीले जनतासँग कार्यक्रम भनेर लिएर गयो । त्यसपछि रविजीले २५ वटा राष्ट्रिय गौरवको आयोजनामा हाम्रो पार्टी पुग्छ भन्नुभयो । हामीलाई यस्ले अप्ठेरो हुन्छ है भनेर कांग्रेसले जुन किसिमको अभियान शुरु गरेको छ या सबै प्रतिस्पर्धात्मक मात्र हो । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले दुई वटा महामन्त्री जाजरकोटमा गएर फोटो हाल्दै गर्दा उहाँले व्यङ्ग्य मिश्रित कुरा गर्नुभएको थियो । हामी यस्तो स्टन्टबाजीमा रमाउन थाल्यौँ कि वास्तविक काम गर्नेभन्दा पनि फलानो ठाउँमा पुगेर फोटो हालिएन भने पछाडि परिन्छ भन्ने प्रतिक्रिया व्यक्त गर्नुभएको थियो । अहिलेको अभियान त्यस्तै नबनोस् ।

नागरिकले पनि आवाज उठाउनु पर्छ

अहिले पनि जाजरकोट र रुकुम पश्चिमका नागरिकहरु अस्थायी टहरामा बस्न नपाएर त्रिपालमुनि बसेर भूकम्पबाट भन्दा चिसोबाट ज्यान जानेको सङ्ख्या बढिरहेको छ । दलहरुका कार्यक्रम त्यहाँ केन्द्रित गरेको भए हुन्थ्यो । त्यहाँका नागरिक नागरिक होइनन् र ? अन्तर्यमा एउटा कुरा राखेर वाह्य दन्तबजानका लागि ल्याउने कुराहरुले वास्तवमा त्यो घनीभूत हुँदैन र त्यसले सार्थकता दिँदैन । ठीक छ उहाँहरु जाँदै गर्दा आएका कुराहरुलाई एमालेले प्रतिवेदन बनाएर पेस गर्यो । कांग्रेस र रास्वपाले जुन अभियान गर्ने भनिरहेका छन् उनीहरुले त्यसलाई प्रतिवेदन चाहिँ बनाउनुस् ताकि भोलि ती कुराहरुलाई हेरेर अध्ययन गर्न सकियोस् । 

अहिलेको अभियान लिएर नेताहरु गाउँ आएको बेला आमनागरिकले हामी अमूक राजनीतिक दलको सदस्यता नभए बापत पाउने सेवा सुविधाबाट किन वञ्चित हुने भनेर प्रश्न गर्नुपर्छ । राजनीतिक दलहरु आउनु राम्रो कुरा हो तर, नागरिक सधैँ राजनीतिक दलको झण्डाको पछाडि लाग्नु आवश्यक छैन । प्रत्येक चुनावमा हामी भोट दिन्छौँ, गुण दोषका आधारमा भोट दिन स्वतन्त्र  हुन्छौँ, हाम्रा समस्या जस्ले समाधान गर्छ उसैलाई भोट दिन तयार छौँ । तर, तपाईँहरु एउटा चुनावदेखि अर्को चुनावसम्मको गतिविधिका लागि मात्र गाउँमा नआउनुस्, हाम्रा वास्तविक समस्या समाधान गर्दिनुस्, विद्यालयमा विद्यार्थीको समस्या, विषयगत शिक्षकको समस्या समाधान गर्दिनुस्, स्वास्थ्यको समस्या समाधान गर्दिनुस् भन्न सक्नुपर्यो । 

वास्तविक भुइँतहमा भएका आवाजहरुलाई नागरिकले पनि उठाउन सक्नुपर्यो । यो मेरो पार्टी हो यसकारण मेरो पार्टी आएका बेलामात्र सहभागी हुने हो नभन्नुस् । जुनसुकै राजनीतिक पार्टीका नेता पालिकामा आउँछन् भने खुलेर सम्वाद गर्नुस् । आफ्ना समस्या खुलस्त राख्नुस् । समस्या समाधान जस्ले गर्छ यसैलाई भोट दिन तयार छौँ, तर, हामी राजनीतिका बधुँवा मजदुर होइनौँ भनेर नागरिकले नेतालाई प्रष्टरुपमा भन्न सक्नु भयो भने उहाँहरले सिक्नु हुनेछ, चेत्नु हुनेछ । होइन भने हामीहरुलाई फेरि पनि झोले बनाउने, पिछलग्गु बनाउने, सधैँभरी उनीहरुका अगाडि गएर हात मोल्ने दास बनाउने अवस्था रहन्छ । 

(अर्यालसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: फागुन ९, २०८०

अर्जुनध्वज अर्याल

अर्याल त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्रका उपप्राध्यापक एवम् विश्लेषक हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया