नेपाललाई हराउँदै पीएनजीले जित्याे त्रिदेशीय टी–२० शृङ्खलाकाे उपाधि

 फागुन ३०, २०८० बुधबार १५:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाललाई हराउँदै पपुवा न्युगिनि (पीएनजी) ले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे उपाधि जितेकाे छ । आज भएकाे खेलमा पीएनजीले नेपाललाई ८६ रनले हरायाे ।

पीएनजीले दिएकाे १ सय ७२ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १६ ओभर ३ बलमा ८५ रनमा अल आउट भयाे । नेपालका सन्दीप जाेराले सबैभन्दा धेरै १७ रन बनाए । पीएनजीका कबुआ माेरे, चाद साेपर र सेसे बाउले समान २ विकेट लिए ।

यसअघि हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा टस हारेर ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो । पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए । नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए ।

हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको थियाे ।

पीएनजीले हिजो दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको थियाे । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एक/एक अङ्क बाँडिएको थियो ।

यसैबीच शृङ्खलाकाे तेस्राे स्थानका लागि भएकाे खेलमा हङकङले हङकङ 'ए' टोलीलाई ७० रनले हराएकाे छ । हङकङले दिएकाे २ सय ३६ रनकाे लक्ष्य पछ्याएकाे हङकङ 'ए' टाेलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रनमात्र बनाउन सक्याे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया