राष्ट्रिय भलिबल च्याम्पियनशिप : महिलातर्फ एभरेस्ट र पुरुषतर्फ आर्मीकाे लगातार दाेस्राे जित

 चैत ५, २०८० सोमबार १८:४७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आठौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ एभरेस्ट क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज बिहान भएको महिलातर्फको पहिलो खेलमा एभरेस्टले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । महिलातर्फको अर्काे खेलमा न्यु डायमन्ड क्लबले विजयी शुरुवात गरेको छ । डायमन्डले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो ।

पुरुषतर्फ आज भएका खेलमा नेपाल पुलिस क्लबले बूढानीलकण्ठ क्लबलाई ३–० को सोझो सेटमा र गण्डकी प्रदेशले मणिमुकुन्द क्लबलाई ३–१ को सेटमा हरायो । यस्तै अर्काे खेलमा त्रिभुवन आर्मी क्लबले न्युटन क्लबलाई ३–० काे सेटमा हराउँदै लगातार दाेस्राे जित निकालेकाे छ । एपीएफ क्लब र जावलाखेल क्लबबीचको खेल केहीबेरमा शुरु हुँदैछ ।

यही चैत १० गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ वटा टोली छन् । प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया