बेनी–मालढुङ्गा खण्ड निर्माणमा प्रगति

 चैत १३, २०८० मंगलबार १२:८:९ | रासस
unn.prixa.net

म्याग्दी – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले गति लिएको छ । राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले १५ महिनापछि गति लिएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आउँदो असोजसम्म पूरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर काम भैरहेको जानकारी दिनुभयो ।

नदीजन्य निर्माण सामग्रीको अभावले अघिल्लो वर्ष कात्तिकदेखि झण्डै १५ महिना निर्माणको काममा ढिलासुस्ती भएको थियो । अहिले नदीजन्य सामग्रीको व्यवस्थापनमा सहजीकरण भएपछि निर्माणले गति लिएको हो । सडकको छेउछाउमा रहेका घरटहरा भत्काउनका लागि केही दिनमा नै सूचना निकालेर क्षतिपूर्ति वितरण गरिने आयोजनाका प्रमुख ध्रुब झाले बताउनुभयो ।

१३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभाव देखाएर काममा ढिलासुस्ती गरेको थियो ।

कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न २०७८ असारमा सर्वाच्च अदालतले रोक लगाएको थियो । २०८० असोजमा म्याद सकिएको यो सडक योजनाको अहिलेसम्म भौतिक प्रगति २५ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । २०८१ असोजसम्मका लागि ठेक्काको म्याद थपिएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया