२० प्रतिशतभन्दा धेरै जनसङ्ख्या गरिबीकाे रेखामुनि, भाडाका घरमा बस्ने परिवार १५ प्रतिशत

 जेठ ३१, २०८१ बिहीबार १८:२२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण तथ्याङ्कीय प्रतिवेदनले नेपालमा अझै २० प्रतिशतभन्दा धेरै जसङ्ख्या गरिबीकाे रेखामुनि रहेका देखाएकाे हाे । प्रदेशगत रूपमा हेर्दा गरिबीकाे रेखामुनि रहेकाे जनसङ्ख्या सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम बाग्मती प्रदेशमा छ ।

प्रतिवेदनले आफ्नै घर भएका जनसङ्ख्या ८१ दशमलव ४ प्रतिशत देखाएकाे छ । यस्तै १५ दशमलव १ प्रतिशत परिवार भाडाका घरमा बस्ने गरेका र २ दशमलव ७ प्रतिशत परिवारसँग घर नभएकाे सर्वेक्षणले देखाएको छ ।

यस्तै विद्यालयमा पहुँच भएका विद्यार्थीको सङ्ख्या ७० दशमलव २ प्रतिशत रहेकाे छ । सरुवा रोग लागेका जनसङ्ख्या २४ दशमलव ९ र नसर्ने रोग लागेका जनसङ्ख्या १८ दशमलव ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । २९ दशमलव ३ प्रतिशत जनसङ्ख्या चिकित्सा परामर्शको पहुँचमा रहेका सर्वेक्षणले देखाएकाे छ ।

यस्तै प्रति घरपरिवारको आय वार्षिक ४३ हजार ७ सय ३२ रुपैयाँ रहेको छ । प्रतिवेदनअनुसार नेपालमा रोजगारी ३२ दशमलव ४ प्रतिशत रहेको छ भने बेरोजगारी ४ दशमलव ७ प्रतिशत रहेको छ । श्रमशक्तिमा नभएका जनसङ्ख्या ६२ दशमलव ९ प्रतिशत रहेको छ ।

यस्तै विदेशबाट रेमिट्यान्स भित्रिने घरपरिवार औसत ४९ दशमलव ४ प्रतिशत रहेको छ । न्यूनतम आधारभूत आवश्यकताको औसत लागत वार्षिक ७२ हजार नौ सय आठ रुपैयाँ रहेको प्रतिवेदनले देखाएकाे छ । यसमा खानामा ३५ हजार २९ र खानाबाहेक ३७ हजार आठ सय ७९ रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया