एक लाखको खुकुरी बिक्रीमा !

 मंसिर २, २०७५ आइतबार १८:७:५७ | रासस
unn.prixa.net

बागलुङ, बडिगाड गाउँपालिकामा आयोजित प्रथम बडिगाड महोत्सव तथा पौँदी न्वागी मेलामा बिक्रीका लागि राखिएको खुकुरी

बागलुङ – हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि ९९ हजार ९ सय ९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ ।

कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सवमा छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ । स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । त्यो खुकुरी बनाउन आठ दिन लागेको कालिगड विकले बताउनुभयो ।

अठतीस वर्षीय विकले १३ वर्षको उमेरदखि उक्त पेशा अपनाउँदै आउनुभएको हो । उहाँले महोत्सवमा खुकुरीसँगै अन्य घरेलु हातहतियार भाँडाकुडा बिक्रीमा राख्नुभएको छ ।

गएको सात वर्षदेखि बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ आरन सेवा’ सञ्चालन गर्दै आउनुभएका विकले भन्नुभयो, ‘मेला तथा महोत्सव हुँदा ‘स्टल’ राख्छु, एउटा महोत्सवमा जाँदा झण्डै एक लाखसम्म कमाइ हुन्छ ।’

छिमेकी जिल्ला गुल्मी, पाल्पालगायत स्थानमा हुने मेला, महोत्सवमा पनि उहाँ स्टल लिनुहुन्छ । आगन्तुकलाई लोभ्याउने गरी बनाएको खुकुरी किन्ने भन्दा पनि हेर्ने बढी हुन्छन् ।

सोख र पैसा भएकाले सजावाटका लागि ठूलो खुकुरी किन्ने गर्छन् । ‘ठूलो र महङ्गो खुकुरीको विशेष माग हुँदा मात्र बनाएर बेच्छौं’, कालिगड विकले भन्नुभयो, ‘महोत्सवमा आउने दर्शकले अनौंठो मानेर उक्त खुकुरीबारे जिज्ञासा लिने गरेका छन् ।’

फलामलाई आरानमा गालेर र घनले पिटेर खुकुरीको रुप दिन कडा मेहनत लागेको उहाँको भनाइ थियो । विकलाई व्यवसायमा उहाँकी श्रीमती सरिताले पनि साथ दिँदै आउनुभएको छ । मेला–महोत्सवमा आफ्नो उत्पादन लिएर जाँदा विक दम्पतिसँगै जान्छन् । विकको व्यवसायमा अन्य छ कालिगडले रोजगारी पाएका छन् ।

सबै खर्च कटाएर मासिक एक लाख आम्दानी हुने गरेको विक बताउनुहुन्छ । ‘आरन हाम्रो पुख्र्यौली पेशा हो’ विकले भन्नुभयो, ‘अहिले आरनलाई सुधारेर व्यावसायिक बनाएको छु ।’ विकका बुबा पदमबहादुर पनि अझै गाउँमा आरनकै काम गर्नुहुन्छ । उहाँहरुको पुख्र्यौली थलो ढोरपाटन नगरपालिका–६ अधिकारीचौर हो ।

‘बुबासँग काम गर्दै यो पेशा सिकेँ’, विकले भन्नुभयो, ‘व्यावसायिक रुपमा गर्नुपर्छ भनेर म बजार झरेँ ।’ आरन व्यवसायबाटै जोडेको धनले विकले ढोरपाटन नगरपालिका–२ बुर्तिवाङमा घर बनाउनुभएको छ । उहाँका दुई छोरा र दुई छोरी पढाइमा छन् । आफ्नो पुख्र्यौली सीप र पेशालाई सम्मानपूर्वक अगालेर विक सफल हुनुभएको हो । 

बडिगाड गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको ‘बडिगाड महोत्सव तथा पौँदी न्वागी मेला’मा घरेलु तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ ।

महोत्सव यही मङ्सिर ९ गतेसम्म चल्नेछ । महोत्सवमा विविध खेलकूद तथा सांस्कृतिक कार्यक्रम राखिएको महोत्सव आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेले बताउनुभयो । उक्त महोत्सव शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया