इजरायल र लेबनानमा रहेका नेपालीको अवस्थाबारे चनाखो रहन परराष्ट्रमन्त्री राणाको निर्देशन

 असोज २०, २०८१ आइतबार १८:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएर 'अपडेट' भइरहन नेपाली दूतावासहरूलाई निर्देशन दिनुभएको छ । लेबनान र इजरायल हेर्ने नेपाली राजदूतहरूसँग 'भर्चुअल' बैठक गरेर उहाँले पछिल्लो परिस्थितिका बारेमा जानकारी लिनुभएको थियो ।

बैठकमा मन्त्री राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उहाँहरू र उनीहरूका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिनुभएको थियो । नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्ने भएमा त्यसका लागि पनि आवश्यक गृहकार्य गर्न मन्त्री राणाले आग्रह गर्नुभएको छ ।

परराष्ट्रमन्त्री डा. राणाले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका 'हेल्प डेस्क' स्थापना गरेर समस्यामा परेका नेपालीहरूलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिनुभएको थियो ।

बैठकमा इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरूलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताउनुभयो । लेबनानमा अहिले  एक हजार दुई सय जना नेपाली रहेका अनुमान गरिएको र धेरैजसो घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको उहाँले बताउनुभयो ।

यस्तै इजरायलका लागि नेपली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका झन्डै चार हजार पाँच सय जना नेपाली सुरक्षित रहेका बताउनुभयो ।

यस्तै बैठकमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे जानकारी दिनुभएको थियो ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया