रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो

 कात्तिक ४, २०८१ आइतबार १४:११:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि रास्वपाका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।

अस्ति शुक्रवार काठमाण्डौको पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई त्यसैदिन मध्यराति पोखरा लगिएको थियो । हिजो शनिवार सार्वजनिक बिदा परेका कारण आज अदालतमा उपस्थित गराइएको हो । सहकारी पीडित र रविका समर्थकले आज पोखरामा प्रदर्शन गरेका छन् । समर्थकले प्रशासनले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि केहीबेर प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो ।

कास्कीमा दुई पक्षको प्रदर्शनलाई मध्यनजर गरी जिल्ला प्रशासनले निषेधित क्षेत्रको घोषणा गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखराको सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नुभएको हो ।

सहिद चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यी क्षेत्रमा पाँच जनाभन्दा धेरै भेला भएमा कानुन अनुसार कारबाही हुने प्रशासनले निकालेको सूचनामा उल्लेख छ । कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले सबै पक्षलाई संयमता अपनाउन अपिलसमेत गर्नुभएको छ । सुरक्षा सतर्कता पनि बढाइएको छ । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया