अनुसन्धानका लागि रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

 कात्तिक ४, २०८१ आइतबार १७:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आज लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । अनुसन्धान गर्न म्याद थपको अनुमतिका लागि लामिछानेलाई आज जिल्ला अदालत कास्कीका न्यायाधीश दाहालको इजलासमा पेश गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि छ दिनको म्याद थप गर्न माग गर्नुभएको हो । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गर्नुभयो ।

अदालत जानुपूर्व आज दिउँसो सभापति लामिछानेले कानुनी प्रकृयालाई आवश्यक सहयोग गर्ने छोटो प्रतिक्रिया दिएका छन् । अस्ति शुक्रवार काठमाण्डौको पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई त्यसैदिन मध्यराति पोखरा लगिएको थियो ।

हिजो शनिवार सार्वजनिक बिदा परेका कारण आज अदालतमा उपस्थित गराइएको हो । सहकारी पीडित र रविका समर्थकले आज पोखरामा प्रदर्शन गरे । समर्थकले प्रशासनले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि केहीबेर प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । कास्कीमा दुई पक्षको प्रदर्शनलाई मध्यनजर गरी जिल्ला प्रशासनले निषेधित क्षेत्रको घोषणा गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखराको सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नुभएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले सबै पक्षलाई संयमता अपनाउन अपिल समेत गर्नुभएको छ ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया