काठमाण्डौमा आज माओवादीको खबरदारी सभा : सुरक्षा व्यवस्था कडा, गाडीको आवतजावत प्रभावित नहुने

 कात्तिक १०, २०८१ शनिबार ८:५५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध आज काठमाण्डौमा विरोध प्रदर्शन र खबरदारी सभा गर्दैछ । बिहान ११ बजेपछि काठमाण्डौको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने माओवादीले जनाएको छ । माओवादीले यसलाई भ्रष्टाचार र बेथितिविरुद्धको प्रदर्शन भनेको छ ।

सबै जनवर्गीय सङ्गठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिइसकेको छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । खबरदारी सभा शुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाण्डौ मल अगाडिबाट जुलुश शुरु हुनेछ ।

जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने भएकाले केहीबेर गाडीको आवागमन प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ । तर माओवादीले प्रदर्शनीमार्गको सडकमा सभा गर्न लागेकाले लामो ट्राफिक व्यवस्थापनमा खासै समस्या नपर्ने प्रहरीले जनाएको छ । प्रदर्शनी मार्ग गाडीको चाप कम हुने र विकल्पसहितको सडक हो ।

यसैबीच माओवादीको प्रदर्शन र सभालाई लक्षित गरेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइने काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । माओवादीले भनेअनुसार प्रदर्शन र सभामा ठूलो सङ्ख्यामा मानिसको उपस्थिती हुने भएकाले सुरक्षाको लागि ठूलै सङ्ख्यामा प्रहरी परिचालन हुने भएका कार्यालयले जनाएको छ ।

हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले राष्ट्रिय अनुसन्धान विभागको सूचनालाई आधार बनाएर आवश्यक रणनीति बनाएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया