मङ्सिर पहिलो हप्तासम्म चीन भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी

 कात्तिक १२, २०८१ सोमबार ९:१०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थाल्नुभएको छ । कात्तिकअन्तिम हप्ता वा मङ्सिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री भएको एक सय दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लाग्नुभएको हो । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भदौको शुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा शिष्टाचार भेट गर्नुभएको थियो ।

गएको असोजमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाँदा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गर्नुभएको थियो । भेटमा प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भमणको निम्तो दिनुभएको थियो । मोदीले अनुकूल समय मिलाएर आउने जवाफ दिए पनि प्रधानमन्त्री ओलीलाई भने भारत भ्रमणको निम्तो दिनुभएको थिएन ।

भारत भ्रमणका लागि तत्काल निम्तो आउने सम्भावना नदेखेपछि ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्न लाग्नुभएको हो । यसअघि प्रधानमन्त्री हुँदा ओलीले भारतबाटै पहिलो विदेश भ्रमण गर्नुभएको थियो ।

चीन भ्रमणमा जानुअघि प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनीसीएटीभ (बीआरआई) परियोजनाको कार्यप्रगति के कति भयोभनेर सोधीखोजी थाल्नुभएको छ । सात वर्षअघि नै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ ।

यसअघि २०७५ सालमा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले चीन भ्रमण गर्दा केरुङ–काठमाण्डौ रेल्वेसम्बन्धी परियोजना, बेल्ट एन्ड रोड परियोजनामा गरिएको समझदारीपत्रको कार्यान्वयन, बन्दरगाह, सडक, रेल्वे, उड्डयनलगायतका विषयमा सम्झौता भएको थियो ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया