युक्रेनी सेनाको नियन्त्रणमा रहेका ७ जना नेपालीलाई मुक्त गरिदि...
चैत ५, २०८१ मंगलबार
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावअन्तर्गत अहिले मतदान भइरहेको छ । बिहान ८ बजेदेखि मतदान शुरू भएको हो ।
त्रिविका ४६ आङ्गिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा मतदान भइरहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । मतदान दिउँसाे ४ बजेसम्म चल्ने छ ।
मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै शुरू गर्नेछ । यसअघि एक सय सात वटा क्याम्पसमा निर्विरोध सभापति चुनिएका छन् । केही ठूला क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ । ती क्याम्पसमा आज चुनाव हुन सकेन ।
काठमाण्डौ उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी, शंकरदेव, पब्लिक युथ, नेपाल ल र विश्वभाषा तथा काठमाण्डौ उपत्यकाबाहिर बुटवल बहुमुखी क्याम्पस, सुर्खेत बहुमुखी, भैरहवा बहुमुखी, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, पक्लिहवा बहुमुखी क्याम्पस, तेह्रथुम बहुमुखी क्याम्पस र कृषि क्याम्पस खैरहनीमा चुनाव स्थगित भएको छ । अरू केही क्याम्पसमा तोडफोड र तालाबन्दी भएको छ ।
विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा भने ८ गते चुनाव हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रत्यक्ष र समानुपातिक प्रणालीलाई मिश्रित रूपमा लागू गरी स्ववियु चुनाव सञ्चालन गर्ने व्यवस्था गरेको छ । यसअनुसार चुनावी प्रक्रियाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष प्रणालीबाट चयन हुनेछन् भने उपाध्यक्ष, सहसचिव तथा बाँकी ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् ।
विद्यार्थी सङ्ख्याका आधारमा स्ववियु कार्यसमितिको सदस्य सङ्ख्या निर्धारण गरिन्छ । दुई सयसम्म विद्यार्थी भएका क्याम्पसमा ११ सदस्यीय कार्यसमिति, दुई सयदेखि एक हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १५ सदस्यीय कार्यसमिति, एक हजारदेखि तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ सदस्यीय कार्यसमिति र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।
स्ववियु चुनावको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।