युक्रेनी सेनाको नियन्त्रणमा रहेका ७ जना नेपालीलाई मुक्त गरिदि...
चैत ५, २०८१ मंगलबार
इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परी चार सय जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायली आक्रमणमा अहिलेसम्म चार सय चार जनाको ज्यान गएको र ६ सय जनाभन्दा धेरै घाइतेलाई अस्पताल पुर्याइएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इजरायली आक्रमणमा आफ्ना चार जना सुरक्षा अधिकारी मारिएका हमासले जनाएको छ ।
जनवरी १९ मा युद्धविराम लागू भएयता यो सबैभन्दा ठूलो हवाई आक्रमण हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले हमासले आफ्ना देशका बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्तावहरू अस्वीकार गरेको आरोप लगाउँदै अबदेखि हमासविरुद्ध बढ्दो सैन्य शक्तिका साथ कारबाही गर्ने बताएको छ ।
हमासले इजरायललाई रक्षाहीन नागरिकहरूमाथि आक्रमण गरेको आरोप लगाउँदै मध्यस्थकर्ताहरूले इजरायललाई युद्धविराम उल्लङ्घनका लागि पूर्णरूपमा जिम्मेवार ठहराउनुपर्ने बताएको छ । हमासले यो आक्रमणले इजरायलका बाँकी बन्धकहरूको भविष्यलाई अन्योल बनाएको पनि जनाएको छ ।
हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायमा आक्रमण गर्दा एक हजार दुई सय जनाको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । यो आक्रमणपछि इजरायलले गाजामा शुरू गरेको कारबाहीमा अहिलेसम्म ४८ हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो गैरसनिक छन् ।
मार्च १ तारिखमा अस्थायी युद्धविरामको पहिलो चरण समाप्त भएपछि वार्ताकारहरूले अगाडि बढ्ने बाटो खोज्ने प्रयास गरिरहेका छन् । अमेरिकाले पहिलो चरणलाई अप्रिलको मध्यसम्म लम्ब्याउने प्रस्ताव गरेको थियो जसमा हमासले बन्धक र इजरायलले प्यालेस्टिनी कैदीको थप आदानप्रदान गर्ने विषयलाई समावेश छ । तर वार्ताको प्रक्रिया अघि बढ्न सकेको छैन ।
इजरायलले गाजामा अझै पनि ५९ बन्धक रहेका र तीमध्ये २४ जना जीवित रहेका विश्वास गरेको छ । बन्धक परिवारहरूको प्रतिनिधित्व गर्ने एउटा समूहले इजरायली सरकारले नयाँ आक्रमण शुरू गरेर बन्धकहरूको भविष्य अन्योलमा पारेको आरोप लगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।