लाइसेन्स छापिएकाे एसएमएस आएपछि मात्रै कार्यालय आउन विभागकाे ...
चैत १४, २०८१ बिहिबार
काठमाण्डाै – जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ ।
काठमाण्डौमा आउँदाे शुक्रवार बस्ने बैठकमा दुई दलको एकता मुख्य एजेन्डा रहेको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो । जनमत र नाउपाको एकता सहमति नजिक पुगेको छ । जनमत र नाउपाका कार्यदलबीच हिजो छलफल भएको थियो ।
कार्यदलको बैठकले पार्टी एकीकरणको मोडालिटीबारे छलफल गरेको प्रवक्ता यादवले बताउनुभयो । उहाँका अनुसार दुई दलको एकतापछि दलको नाम नागरिक जनमत पार्टी नाम राख्ने, अध्यक्ष डा. सीके राउत, संरक्षक रेशम चौधरी, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ, चुनाव चिह्न ढकिया हुने गरी दुई दल सहमति नजिक पुगेका छन् ।
दुवै पार्टीका केन्द्रीय कमिटी र पदाधिकारीको सम्मानजनक सहभागितालाई लिएर कार्यदलमा छलफल भइरहेको छ । एकीकरणपछि बन्ने नयाँ पार्टी तराई–मधेशमा बलियो शक्तिका रूपमा उभिने उनीहरूको विश्वास छ ।
सङ्घीय संसद्मा प्रतिनिधित्वको हिसाबले पनि नयाँ दल मधेश केन्द्रित सबैभन्दा ठूलो दल बन्नेछ । अहिले जनमतका ६ जना र नाउपाका ४ जना सांसद छन् । अहिले मधेश केन्द्रित जनता समाजवादी पार्टीका ७, जसपा नेपालका ५ र लोकतान्त्रिक समाजवादी पार्टीका ४ जना सांसद रहेका छन् ।
टीकापुर प्रकरणमा रेशम चौधरी जेलमा रहेका बेला रञ्जिता श्रेष्ठको नेतृत्वमा ३ वर्षअघि नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । यस्तै मधेशमा पृथक्तावादी आन्दोलन चलाएर चर्चामा आउनुभएका सीके राउत सरकारसँग भएको वार्तापछि खुला राजनीतिमा आउनुभएकाे हाे । उहाँले ६ वर्षअघि आफ्नै नेतृत्वमा पार्टी खोल्नुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।