टेलिश्रृंखलामा कहिलेसम्म छोरी चेली रुवाउने ?

 माघ २, २०७५ बुधबार १९:१५:४५ | दीपा तिमल्सिना
unn.prixa.net

‘बिचरा बलेलाई कस्तो आपत है ?’ कुनै सानो पर्व मनाउन भेला भएका बेला एक जनाले फ्याट्ट भने । 
सही थप्दै, अर्कोले भन्यो – ‘त्यही त बुढी रोएर हैरान, भन्या । त्यस्ती बुढीसित त्यो बलेले के बिहे गरेको होला । फेरि सासु चाहिँ तरुनी ।’
................
यस्तै यस्तै, एक पछि अर्को कुरा हुन थाल्यो ।

‘बले’, कुनै हाँस्य टेलिश्रृँखलाको एक पात्र । जसले आफूभन्दा झण्डै दोब्बर उमेरकी महिलासित बाध्य भएर विवाह गर्छ । महिलालाई गेष्ट हाउसमा लगेर राखेको बेला उ प्रहरीको फन्दामा पर्छ र प्रहरीले नै उनीहरुको  जोडीलाई विवाह गराइदिन्छ । 

गेष्ट हाउसमा सँगै हुँदासम्म पाकी उमेरकी महिला युवकका लागि सबथोक हुन्छिन् । जब ती महिला घर भित्र पुग्छिन्, तब युवकको लागि घाँटीमा बेरेको पासो सरह हुन्छिन् । जुन गाँठो फुकाउन युवकले अनकौं उपाय लगाउँछ – घरबाट मात्र होइन जीवनबाटै बाहिर निकाल्न । टेलिश्रृँखलामा देखाइने दृश्य हो यो ।

यस्तै ग्रिन कार्ड र पीआर भएको केटा भए जस्ता केटी पनि पछि लाग्छन्, भन्ने सन्देश हिजो आजका लोकप्रिय मानिएका टेलिश्रृंखलाले देखाउँछन् । 
हामीले हेर्ने अधिकांश टेलिश्रृंखलामा महिलालाई घुमाउरो तरिकामा यौन र धन सम्पत्तिको लालचीको रुपमा चित्रण गरिदिएका छन् । 

झण्डै दुई दशकअघि प्रदर्शन भएको टेलिसिरियल ‘मुक्ति’ धेरैको रोजाईमा पथ्र्यो । एउटा चेलीले पाएको घरेलु हिंसा, यौन दुव्यर्वहार अनि सामाजिक विभेद विरुद्ध आवाज उठाएको मुक्तिले दर्शकलाई आफ्नो कथामा बाँधेरै राख्यो । कथाको सरिता पात्र सम्भवतः सबैले रुचाए, अनि त्यही पात्र अनुसार आफूलाई चित्रण गर्न थाले ।
एउटी आमाले आफूसँगै, बच्चाको परिचयका लागि गरेको संघर्ष– आमा छोरी, सासु बुहारी, दिदी बहिनी, नन्द भाउजु सबैलाई मन पर्यो । टेलिफिल्म हेर्नेहरु आफूलाई त्यही पीडित ‘सरिता’को छाया समेत सम्झन्थे । 

यसबीचमा अहिले धेरै परिवर्तन आइसकेको छ । महिलाको पहिचान र परिचयका लागि कानुनले पनि अधिकार दिएको छ । संविधानले आमाको नामबाट नागरिकता पाउने व्यवस्था पनि गरिसकेको छ । यद्यपि आमाको नामबाट नागरिकता बनाउन भने कठिन छ । तर सम्बन्धको दायरा फराकिलो बन्दै गएको छ । दुई दशक अघिको तुलनामा अहिले महिला पनि  घर बाहिरका काममा निस्कन थालेका छन् । 

तर नेपाली धेरै टेलिश्रृंखलाले अझै पनि दुई दशकअघि कै जस्ता कथामा तानाबाना बुनिरहेका छन् । घर बाहिर महिलाले काम गरे परिवार बिखण्डन हुने, थीति नबस्ने अनि चरित्र बिग्रने । घर बाहिर काम गर्ने महिला पात्र कथाको भिलेन । अनि आफूमाथिका सबै हिंसा सहने, दमन सहने, सासु ससुरा लोग्नेलाई जे गरे पनि भगवान मान्नेलाई टेलिश्रृँखलाले चरित्रवान र नायकको टोपी लगाइदिएको छ । 

टेलिश्रृँखलाले पढ्ने, काम गर्न युवतीलाई भिलेनको उपमा दिन्छ ।  एउटा द्वन्द्व देखाइदिन्छ । उसलाई दुश्मन महिला नै बनाइन्छ । 

बजारमा बिकाउनकै लागि उही महिलालाई रुवाइन्छ, अनि उस्तै महिलालाई भिलेनको पगरी थमाइन्छ ।
भन्नुहोला, ‘सबैको रुची छोरी बुहारीलाई रुवाएको हेर्नमा नै छ ।’ होइन ।

छोरी बुहारीलाई नरुवाईकन बनेका टेलिफिल्म पनि छन्, जुन लोकप्रिय छन् ।  उदाहरणको लागि सिंहदरबार टेलिफिल्म । जहाँ महिलाले घर भित्रका सबै गतिविधि चुपचाप सहनु पर्दछ भनेर मात्रै देखाउँदैन । राजनीतिमा महिलाको सक्रियता, परिवारिक दायित्व, बालबच्चाको जिम्मेवारी पनि देखाईन्छ  । 

अन्याय विरुद्ध एउटा नारीले कसरी आवाज उठाउन सक्छे भन्ने कुरा अबका टेलिश्रृंखलाले सन्देश दिनु जरुरी छ कि छैन ? छोरी चेलीलाई नरुवाई, कुनै लान्छना नलगाइकन रुचीपूर्वक कथालाई प्रस्तुत पनि गर्न सकिन्छ । यस्तै, संविधानले महिलालाई दिएको अधिकार र अधिकार कसरी प्राप्ति गर्न सकिन्छ भन्ने खालका सन्देश राख्न सकिन्छ । 

हाम्रो पितृसतात्मक सोचकै कारण घर भित्र र पर्दामा समेत छोरीचेली रुन बाध्य छन् । पितृसतात्मक सोच पुरुषमा मात्रै होइन महिलामा पनि हुन्छ । सत्ता, सम्पत्ति र शक्तिकै चाहनाका कारण महिला महिलाकै शिकार हुन्छिन् ।

घरको साँचोको जिम्मादेखि पैसा परिचालन गर्ने र आफ्नै निर्णय लागू गर्ने होडमा महिलाले नै महिलालाई दबाबमा राख्छन् । यसको रुपान्तरणका लागि अब निर्माता निर्देशक अनि स्वंय कलाकारले पनि ध्यान दिने कि ।

अन्तिम अपडेट: असोज २१, २०७६

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया