देशैभर माघेझरीको प्रभाव: माैसम अझै दुई दिन नखुल्ने

 माघ ९, २०७५ बुधबार २०:१६:१८ | मदन पौड्याल
unn.prixa.net

मंगलबार देशका धेरै ठाउँमा पानी परेको छ ।

माघेझरीको प्रभाव हिमालदेखि तराईसम्मै देखिएको छ । पश्चिमी वायुको प्रभावले देशका धेरै ठाउँमा पानी परेको हो । पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँसमेत परेको छ । काठमाण्डौ उपत्यका सहित देशका मध्य तथा पश्चिममी भेगमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हिमपातका कारण कतिपय ठाउँको जनजीवन कष्टकर बनेको छ । ‘घरबाहिर निस्कन समेत गाह्रो छ, हिजोदेखि नै बाक्लै हिमपात भएकाले निकै चिसो भएको छ′ बैतडीको दोगडाकेदार गाउँपालिका ७ का भुवन कार्कीले बताउनुभयो । 

सुदूपश्चिमका बैतडी, बझाङ, बाजुरा, डोटी, डडेल्धुरा र दार्चुलाका उच्च भेगमा सोमबार देखि नै हिमपात भएको हो । पश्चिमी वायु पश्चिम क्षेत्रबाटै भित्रिएकाले सुदूरपश्चिममा हिजोदेखि नै बढी प्रभाव परेको मौसमविदले बताएका छन् ।

पश्चिम भेगका कम उचाई भएका ठाउँमा पनि यसपटक बाक्लो हिमपात भएको छ । हिउँ परेपछि डाँडाकाँडा र गाउँ नै सेताम्मे बनेका छन् । १२ वर्षपछि बाजुराका बेसीसम्म नै हिमपात भएको छ । १२ वर्षपछि पहिलो पटक कर्णाली नदी किनार सम्मै हिमपात भएको स्थानीयबासिन्दाले बताए । 

यस्तै कर्णाली प्रदेशका डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, जाजरकोट, दैलेखमा पनि वर्षासँगै हिमपात भएको छ । 

हिमपात भएका जिल्लामा घर बाहिर निस्कन मुश्किल भएको छ । पानी र चिसोले जनजीवन कष्टकर बनेको हो । घरभित्रै आगो बालेर बस्नुपर्ने अवस्था छ । गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र म्याग्दीमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । सडकमै हिउँ जमेपछि जोमसोम मुक्तिनाथ, जोमसोम लोमान्थाङ सडकमा गाडी चलेका छैनन् । 

त्यस्तै काठमाण्डौ उपत्यका सहित आसपासका क्षेत्रमा पनि गएरातीदेखि नै पानी परिरहेको छ । चन्द्रागिरी, फूलचोकी, शिवपुरी लगायतका डाँडामा हिउँसमेत परेको छ । हिमपात भएका क्षेत्रमा हिउँ खेल्ने जानेहरुको घुईंचो छ । 

पश्चिमी वायुको प्रभावले पूर्वका केही ठाउँमा समेत पानी परेको छ । पश्चिमको तुलनामा पूर्वमा भने पश्चिमी वायुको प्रभाव कम परेको हो । तर सोलुखुम्बु, ओखलढुङगा, संखुवासभा लगाएतका जिल्लाका उच्च भूभागमा हिमपात भएको छ । 

किसान उत्साहित

आकाशे पानीका भरमा खेतीपाती गर्ने किसानलाई भने हिउँदे वर्षाले खुसी बनाएको छ । हिउँदे बाली सप्रिने भएकाले किसान खुसी भएका हुन् । खेतीबालीमा सिँचाई हुने, मल भिजेर बिरुवालाई फाइदा गर्ने खेतीबालीमा लागेका रोग किरा नष्ट हुने र उत्पादन समेत बढ्ने भएकाले किसान खुसी भएका हुन् ।

‘पानीले जमिन पुरै भिजेको छ, गहुँलाई राम्रै भयो दैलेखको ठाँटीकाँध गाउँपालिका ३ बिसल्लाकी नन्दा दशौदीले भन्नुभयो,‘असिनाले भने तरकारी बालीलाई असर पारेको छ ।’  

कृषि ज्ञान केन्द्र दैलेखका प्राविधिक सहायक टेक बहादुर रानाका अनुसार अहिलेको वर्षाले गहुँ, जौ, आलु लगायतका बालीलाई फाइदा पुगेको छ ।

पर्वतीय उडान रद्द

वर्षा, हिमपात र चिसोले हवाई सेवा समेत प्रभावित भएको छ । आजका सबै पर्वतीय उडान रद्द भएका छन् । देशभर मौसम प्रतिकूल भए पनि अन्तर्राष्ट्रिय उडान र अवतरणमा भने समस्या नभएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मौसममा सुधार आउन अझै दुई दिन लाग्ने

मौसमविद्का अनुसार मौसममा सुधार आउन अझै दुई दिन लाग्नेछ । पश्चिमी वायूको प्रभाव नसकिंदै अर्को वायू आउने अनुमान छ । पानी रोकिएपछि केही दिन अझै चिसो बढ्नेछ । 

चिसोबाट जोगिन डाक्टरको सुझाव

पानी र हिउँ पर्दा किसान र पर्यटक रमाए पनि बालबालिका, बृद्धबृद्धा, सुत्केरी लगायतलाई समस्या परेको छ । चिसोबाट जोगिन न्यानो कपडाले सुरक्षित हुन र तातो झोलिलो पदार्थ खान डाक्टरले सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनका अनुसार यो बेला रुघाखोकी, भाइरल ज्वरो जस्ता सरुवा रोगसँगै दम, निमोनियाले बढी सताउने भएकाले ख्याल गर्नुपर्छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया