कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
- असार ४ गते सडकखण्डको घुमाउनेमा पिकअप भ्यान सडकबाट त्रिशुलीमा खस्दा भ्यानका चालक गम्भीर घाईते भए ।
- ३ गते सडकखण्डको कालीखोलामा ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भयो ।
- २ गते सडकखण्डको ३ नम्बर पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भयो ।
नारायणगढ–मुग्लिन सडकखण्डमा हरेक दिनजसो दुर्घटना भइरहेका छन् । दुर्घटना बढेपछि टाइम कार्ड लागू गर्ने तयारी भएको छ । गाडीको गति जाँच गर्ने काम बढाइएको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सडक विभागसँग समन्वय गरेर तत्काल टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।
तीव्र गतिको कारण दुर्घटना बढेकोले टाइम कार्ड लगाएर त्यसलाई नियन्त्रण गर्ने तयारी सुरु भएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो ।
नारायणगढ–मुग्लिङ्ग सडक खण्डमा दुर्घटनाका कारण पछिल्लो ३ वर्षमा १२८ जनाले ज्यान गुमाईसकेका छन् । यस सडक खण्डको स्तरोन्नतिको काम सुरु भएयता अहिलेसम्म १७० वटा दुर्घटना भएको र त्यसमा १२८ जनाको ज्यान गएको हो ।
दुर्घटनामा परी ४३४ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक निर्माणको काम सकिनै लागेको छ । कालोपत्रे गर्ने काम सकिएपछि यात्रुलाई यात्रामा केही सहज भएको छ ।
तर यो सडक फराकिलो भएसँगै चालकले तीव्र गतिमा गाडी चलाउने क्रम बढेको छ । जसका कारण दुर्घटना बढेका छन् । त्यसैले दुर्घटना कम गराउनका लागि भन्दै सडक सुरक्षाका लागि संरचना बनाउने काम सुरु चएको छ ।
तीव्र गतिमा सवारी चलाउने गरेकै कारण दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतम बताउनुहुन्छ ।
सडक विस्तार भइसकेपछि ३६ किलोमिटर लामो नारायणघाट मुग्लिनको दूरी गाडीमा ४० मिनेटमा पार गर्न सकिने बनेको छ ।
यो सडकमा ८ प्रकारका सुरक्षा संरचना बनाइने छ । ‘दुर्घटना कम गर्न सडक संरचनासँगै चालकहरु पनि सचेत हुनुपर्छ’ गौतमले भन्नुभयो, ‘सबैै गाडी चालकले आफ्नो लाइनमा सवारी चलाइदिने र सडक अनुशासनको पालना गर्न सके दुर्घटना कम हुन्छ ।’
सडकमा दायाँ बायाँ किनारामा पहेंलो रेखा तान्ने, लेन छुट्याउन बीचमा सेतो रेखा र पैदलयात्रीलाई बाटो काट्न जेब्रा क्रसिङ बनाउने काम भैरहेको छ ।
यस्तै तीव्र गतिका गाडी सडकबाट तल नखसुन् भनेर जोखिमपूर्ण ठाउँमा ढुंगाको, ढलानको र फलामको बार लगाउने काम पनि चलिरहेको आयोजनाका आवासीय इन्जिनियर पुष्कर रेग्मीले बताउनुभयो ।
तीन वर्षअघिको एक सर्वेक्षण अनुसार नारायणघाट मुग्लिन सडक खण्डमा दैनिक साढे ८ हजार गाडी गुड्ने गरेका थिए । अहिले यहाँ गुड्ने गाडी बढेका छन् ।
देशकै राजधानी काठमाडौंलाई पूर्व तथा पश्चिम नेपालसँग जोड्ने मूख्य मार्ग यो सडक खण्ड अत्यावश्यक सामान ढुवानीका लागि पनि मूख्य हो ।
तीव्र गतिको कारण विगतमा पनि दुर्घटना भइरहेको र अहिले समेत दुर्घटना हुन थालेपछि प्रहरीले यस्ता गाडीलाई कारबाही गर्न समेत सुरु गरेको छ ।
दुई दिनमा तीव्र गतिमा सवारी चलाउने ५५ जनालाई कारबाही गरिएको जानकारी दिंदै ट्राफिक प्रमुख गौतमले अहिले सवारी जाँचमा कडाई गरिएको बताउनुभयो ।
प्रहरीले गति मापन गर्ने ‘राडार गन’को प्रयोग गरेर सवारी साधनको गति मापन गर्ने, तीव्र गतिका सवारी साधनलाई कारबाही गर्ने र सवारीचालकलाई सचेत गराउने अभियानलाई तीव्र पारिएको उहाँले बताउनुभयो ।
सडक खण्डमा दैनिक राडार गनमार्फत सवारी साधनको गति नाप्ने गरिएको जानकारी दिंदै उहाँले केही दिन भित्र टाइम कार्ड समेत लागू गरिने जानकारी दिनुभयो ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।