क्रिकेट टाेलीकाे स्वागतमा राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री र खेलकुदमन्त्री विमानस्थल जाने

 माघ २१, २०७५ सोमबार १२:२१:४९ | रासस
unn.prixa.net

काठमाण्डाै –  यूएईविरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली साेमबार स्वदेश फर्कंदै छ । दुईवटा श्रृ‌ंखला जितेर फर्किएको नेपाली टाेलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको तयारी भइरहेको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाका अनुसार क्रकेट टोलीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष तिम्सिनालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम तय भएको छ । 

नेपाली टोलीलाई विमानस्थलमा स्वागत गरेसँगै त्रिपुरेश्वरस्थित राखेप परिसर पुर्‍याइने कार्यक्रम छ । “मैले प्रधानमन्त्रीज्यूसँग कुरा गरिसकेको छु, प्रधानमन्त्रीको समय मिलेपछि सरकारी तवरबाट उच्च सम्मानको कार्यक्रम बन्नेछ”–उपाध्यक्ष तिम्सिनाले भन्नुभयो । 

यसैबीच नेपाली युवा बलर सन्दीप लामिछाने भने राष्ट्रिय टोलीका साथ आज नेपाल नफर्कने भएका छन् । 

लामिछाने बिग ब्याश लिग खेल्न संयुक्त अरब इमिरेट्सबाट अष्ट्रेलिया जाने भएका हुन् । उनी यो लिग बीचमै छोडेर बीपीएलका लागि बङ्गलादेश गएका थिए । बङ्गलादेशबाट राष्ट्रिय टोलीबाट यूएईमा तीन एक दिवसीय र तीनवटा टि–२० शृङ्खला खेलेका उनी पुनः अष्ट्रेलिया जान लागेका हुन् । 

अष्ट्रेलियामा जारी बिग ब्याश लिगमा सन्दीप मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । बिग बासको शुरुआती चार खेल खेलेर सन्दीप बङ्गलादेश प्रिमियर लिग (बीपीएल) लिग खेल बङ्गलादेश आएका थिए । 

घरेलु टोली यूएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र तीन खेलकै टी–२० शृङ्खला समान २–१ ले जितेको थियो । दुवै शृङ्खलाको सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई शृङ्खला आफ्नो पक्षमा पारेको थियो । 

नेपाली टोलीका लागि दुवै शृङ्खला ऐतिहासिक शृङ्खलासमेत रहेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी–२० शृङ्खला जितेको हो । 

याे प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व कीर्तिमानसमेत बनाएका छन् । रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले भारतका पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए । यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने । 

टी–२० शृङ्खला खेल्नुअघि नेपालले यूएइसँग तीन म्याचको एकदिवसीय शृङ्खला खेलेको थियो । दुबै शृङ्खलामा नेपालको प्रदर्शनमा एउटा समानता रह्यो, पहिलो खेलमा हार तर, उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलामा २–१ को कब्जा । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया