इरान : बन्दरगाह विस्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे
बैशाख १४, २०८२ आइतबार
पर्सा – राष्ट्रिय आविष्कार केन्द्रले पर्सा वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ ।
कृषि औजार कारखाना वीरगञ्जका प्रमुख तथा इञ्जिनियर रितेश देवले कारखानामा अहिलेसम्म १६ थरिका कृषि औजार अनुसन्धान र विकास गरेको जानकारी दिनुभयो । ‘केन्द्रले अहिले नेपालका लागि आवश्यक पर्ने कृषि औजार अनुसन्धान तथा विकास गर्दै आइरहेको छ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म साना–ठूला गरेर १६ थरिका औजार अनुसन्धान र विकास गरेका छौँ ।’
केन्द्रले पराल काट्ने, धान काट्ने (रिपर), दाना बनाउने, धान रोप्ने सानो मेसिन (रिपर), घाँस खुर्किने, ड्याङ बनाउने, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, साना ट्रयाक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने, केराको फाइबर निकाल्ने, गोबर पेल्ने, कोदो रोप्ने मेसिन, चाँप कटर, हाते औजारमा बञ्चरो, खुँडा, साना कुटो कोदाली, चाँपलगायत घरायसी प्रयोजनमा प्रयोग हुने कृषि औजार तयार पारिसकेको छ ।
‘केन्द्रमार्फत कारखानामा अहिले अनुसन्धान र विकासकै चरणमा भएकाले पनि ठूलो मात्रामा व्यावसायिक रूपमा उत्पादन हुन सकिरहेको छैन । यद्यपि सामान्य खालका औजार भने बिक्री वितरण भइरहेको छ’, उहाँले भन्नुभयो, ‘कोहीले केन्द्रमै आइपुगेर उत्पादन भएका कृषि औजार खरिद गरेर लैजाने गर्नुभएको छ ।’
कारखानाका प्रमुख देवले केन्द्रले केही समयअघि ५० लाख खर्चेर सीएनसी मेसिन ल्याएसँगै औजार उत्पादनमा सहजीकरण र सरलता ल्याएको जानकारी दिनुभयो । ‘सीएनसी मेसिनले नयाँ औजार उत्पादनभन्दा पनि काम गर्नका लागि निकै सहजता गराइरहेको छ । कार्यरत इञ्जिनियर तथा अन्य प्राविधिक कर्मचारीलाई काम गर्न सजिलो र सहजता प्रदान गर्दै आइरहेको छ ।’
अहिले कृषि औजार कारखाना वीरगञ्जमा ३६ कार्यरत छन् । ‘कृषि औजार कारखाना पनि राज्यकै हो, राज्यले नै यसको अनुसन्धान र विकासका लागि ध्यान दिन जरुरी छ’, उहाँले भन्नुभयो, ‘देशका किसानका लागि अत्यावश्यक पर्ने सबै खालका औजार यही कारखानाबाट बनाउन पाएको खण्डमा धेरै लाभान्वित हुने थिए ।’
कारखानाका प्रमुख देवले तीनवटै तहका सरकार बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकाले पनि कृषि औजार कारखानाका लागि आवश्यक पर्ने फलामको कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था गरिदिनका लागि माग गर्नुभएको छ ।
‘तयारी अवस्थाका कृषि औजारमा एक प्रतिशतमात्र भन्सार शुल्क लाग्ने गर्छ । तर औजार निर्माणका लागि आवश्यक पर्ने फलामलगायत कच्चा पदार्थको आयातमा कम्तीमा पनि २० प्रतिशत पर्न जाने गर्छ’, उहाँले भन्नुभयो, ‘विदेशमा बनाइएका तयारी कृषि औजारसँग स्वदेशमा निर्माण गर्ने औजारलाई प्रतिस्पर्धी बनाउन गाह्रो भइरहेको छ । यसले पनि उत्पादनमा धेरै समस्या ल्याइरहेको छ ।’
प्रमुख देवले कृषिका लागि आवश्यक पर्ने कच्चा फलामको आयातमा धेरै करको दर भएकाले पनि कृषि औजार कारखाना लागि आवश्यक पर्ने कच्चा पदार्थमा सहुलियत वा छुटको व्यवस्था गरिदिनका लागि आग्रह गर्नुभयो ।
तत्कालीन सोभियत सङ्घको आर्थिक र प्राविधिक सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याइएको थियो । कारखाना २०२४ साल फागुन २८ गते सञ्चालनमा आएको थियो ।
कारखानाले सुरुआती चरणमा कृषि औजारको उत्पादन गरेर स्वदेशमा मात्र होइन, विदेशमा निर्यात गर्दै आइरहेको थियो । तर कारखाना व्यवस्थापनमा भएका कमीकमजोरीले अन्ततः २०५९ सालसम्म आइपुग्दा कारखाना बन्द हुने अवस्थामा आइपुग्यो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानालाई आवश्यक पर्ने सहयोगका लागि आफूले सहजीकरण गर्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘मैले कृषिमन्त्रीको पदभार सम्हालेपछि कारखानाको स्थलगत अवलोकन एवम् जानकारी लिएँ । कारखानालाई सदृढ बनाउँदै व्यवसायीक उत्पादन गर्न आवश्यक सहयोग गर्न म तयार छु ।’
केन्द्रलाई पुनर्जीवित बनाउने कोशिश
केन्द्रले दुई दशकभन्दा लामो समयदेखि बन्द भएर अलपत्र भएको औजार कारखानालाई पछिल्लो समय पुनर्जीवित बनाउने कोशिश गरेको छ । २०७९ साल भदौ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले दुई दशकदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनका लागि राष्ट्रिय अविष्कार केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेसँगै कृषि औजार कारखानाले पुनर्जीवन प्राप्त गरेको हो ।
२०७९ असोज ११ गते अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । तर केन्द्रले औपचारिक रूपमा काम सुरु भने २०७९ साल माघमा मात्र थालेको हो । पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको काँधमा कृषि औजार कारखाना आउँदा कारखानाको अवस्था भने निकै दयनीय अवस्थामा थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।