उपत्यकामा ‘नो हर्न’ : एकैदिन १७१ सवारीसाधन कारबाहीमा

 फागुन १३, २०७५ सोमबार १०:५९:४६ | रासस
unn.prixa.net

काठमाण्डाै – ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । 

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरानाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिनुभयो । 

“ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ”, उहाँले भन्नुभयो । यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । याे घोषणा धेरैमात्रामा लागू भए पनि पूर्णरुपमा भने लागू भएको छैन । 

महाशाखाले अहिलेसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ३० हजार ४६८ सवारीसाधनलाई कारवाही गरिसकेको छ । महाशाखाले ध्वनि प्रदूषण गरेबापत एउटा सवारीसाधनबाट रु ५०० कारवाहीस्वरुप लिँदै आएको छ । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया