गुल्मीकाे बढिगाड खाेलामा व्यावसायिक र्‍याफ्टिङ सञ्चालन

 बैशाख ३, २०७६ मंगलबार १८:४८:१९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको पर्यटकीय स्थल बढिगाड खोलामा मंगलबारदेखि व्यावसायिक रुपमा र्‍याफटिङ सेवा सञ्चालन गरिएको छ ।

मुसिकोट नगरपालिका र बढीगाड गाउँपालिकाले पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले झक्कले एग्रो रिसोर्ट प्रालि मुसिकोट-७,को आयोजनामा बढिगाड खोलामा व्यावसायिकरुपमा र्‍याफटिङ सञ्चालन गरिएको हो । र्‍याफटिङको मंगलबार बीच उद्घाटन गर्दै श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बढिगाड खोलामा सञ्चालन भएको र्‍याफटिङले बढिगाड क्षेत्रमा पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताउनुभएको छ ।

बाग्लुङ जिल्लाको ढोरपाटन पछिल्लो समय पर्यटकहरुको मुख्य केन्द्र बनेको बताउँदै मन्त्री विष्टले त्यहाँ आउने पर्यटकहरुका लागि यो क्षेत्र मुख्य गन्तव्यको रुपमा रहने बताउनु भयो । बढिगाड खोलामा धेरै सम्भावना भएको बताउँदै मन्त्री विष्टले खोलाको आसपास भएका खेतबारीमा राम्रो सिँचाई गरेर किसानहरुको आयआर्जनमा वृद्धि गर्नुपर्ने सुझाव दिनु भयो ।

मन्त्री विष्ट बढिगाड गाउँपालिका-२ अन्तरगत खरवाङ्ग हुँदै २ किलो मिटर र्‍याफ्टिङ्ग समेत गर्नुभएको थियो । 

मन्त्री विष्टले बढिगाड नदीमा राम्रोसँग र्‍याफटिङ गर्न सकिने र आन्तरिक एवं बाह्य पर्यटकहरुले धेरैभन्दा धेरै रमाइलो अनुभूति गर्न सक्ने प्रतिक्रियादिनु भयो ।

गएकाे पुस १२ गते मुसिकोट, चन्द्रकोट र बढिगाड गाउँपालिकाले बढिगाड खोलामा र्‍याफ्टिङका लागि १ लाख ५० हजार खर्च गरेर सम्भाव्यता अध्ययन गरेको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताउनु भयो । सापकोटाका अनुसार नगरपालिकासँगै यस क्षेत्रमा पर्यटकहरु भित्र्याउने मुख्य उद्देश्यले र्‍याफ्टिङ सेवालाई संयुक्त रुपमा सञ्चालन गरिएको बताउनु भयो । 

र्‍याफ्टिङ सञ्चालनका लागि त्रिशुली नदीका र्‍याफ्टिङ व्यवसायी मानध्वज गुरुङसहितको टोलीले सेवा प्रवाह गर्ने भएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया