गुल्मीको दजाकोटमा झाडापखालाबाट एक बालकको ज्यान गयो, १७० जना बिरामी

 बैशाख १५, २०७६ आइतबार ८:४७:३२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा दुषित पानीका कारण गएको आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ ।

ज्यान जानेमा स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्यनरत १२ वर्षीय रेशम सिंजाली रहेको स्थानीय हरि छन्त्यालले जानकारी दिनुभयो ।

झाडापखाला लागेर बिरामी भएका बालकको उपचार नगरी घरमै बसिरहेको अवस्थामा शनिबार बेलुका ज्यान गएको हो । झाडापखालाबाट बालककी हजुरआमा र आमा पनि बिरामी परेका छन् । उनीहरुको अहिले गुल्मी अस्पतालमा उपचार भैरहेको छ । 

दजाकोटमा झाडापखालाको प्रकोपबाट आइतबार बिहानसम्म बिराम हुनेको  संख्या १ सय ७० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जिसीले जानकारी दिनभयो  ।

स्थानीयहरुले उपभोग गर्दै आएको पानीको नमुना परिक्षण गर्दा पानीमा कोलिफर्म (दिसामा पाइने ब्याक्टेरिया) देखिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले बताएको छ ।

झाडापखालाबाट बिरामी परेकाहरुको गुल्मी अस्पताल, भरतपुर मेडिकल कलेज चितवन र दजाकोटमा नै सञ्चालन गरिएको शिविरमा उपचार भैरहेको छ ।

दजाकोटमा फैलिएको झडापखालाको मुख्यकारण पत्ता लगाउनका लागि विश्व स्वास्थ्य संगठनको तर्फबाट डाक्टर प्रियंका श्रेष्ठको नेतृत्वको टोली शनिबार प्रकोप क्षेत्रमा आइपुगेको छ । 

प्रभावित क्षेत्रमा खानेपानीको समस्या

झाडापखालाबाट प्रभावित दजाकोटको सिंगो बस्तीमा यतिबेला पिउने पानीको समस्या भएको छ । गएको एक वर्षदेखि नियमित रुपमा ८५ घरपरिवारले उपभोग गर्दै आएको पानी दूषित भएपछि स्थानीयहरु पानीको समस्यामा परेका हुन् । 

गाउँमा पानीको मुहान नभएपछि केही टाढा रहेको तालखोला भन्ने ठाउँबाट नगरपालिकाले शुक्रबारदेखि ट्यांकरबाट पानी वितरण गर्दै आएको छ । साथै प्रत्येक घरलाई एक कार्टूनका दरले बोतलको पानी उपलब्ध गराएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

यसबाहेक नगरपालिकाले बिरामीहरुको उपचारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने सापकोटाले बताउनु भएको छ । अहिले प्रभावित बस्तीमा सरसफाइसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । 
 
 

अन्तिम अपडेट: चैत १५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया