मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका तेजबहादुरकाे उम्मेदवारी खारेज

 वैशाख १८, २०७६ बुधबार १६:५९:२० | एजेन्सी
unn.prixa.net

वाराणासीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीविरुद्ध उम्मेदवारी दिएका तेजबहादुर यादवकाे उम्मेदवारी खारेज भएकाे छ ।  जिल्ला निर्वाचन कार्यालय वाराणासीले बीएसफका पूर्व जवान तेजबहादुरकाे उम्मेदवारी खारेज गरेकाे हाे । 

तेजबहादुरले दुई वटा उम्मेदवारी दर्ता गराएका थिए । गएको २४ अप्रिलमा निर्दलीय र २९ अप्रिलमा समाजवादी पार्टी–बहुजन समाज पार्टीको गठबन्धनको उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका थिए । 

तेजबहादुरले निर्वाचन कार्यालयकाे निर्णयविरुद्ध सर्वाेच्च अदालतमा अपिल गर्ने बताएका छन् । आफ्नो नाम गलत तरिकाबाट रद्द गरिएको भन्दै उनले भने, ‘मलाई भोलि ६ बजेर १५ मिनेटसम्म प्रमाण पेश गर्नको लागि भनिएको थियो । हामीले सबुत पनि दिएका थियौँ, तर पनि मेरो नाम रद्द गरियो । अब हामी सर्वाेच्च अदालत जान्छौं ।’

वाराणासी सिटबाट प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय जनता पार्टीका वर्तमान संासद हुन् र यसपटक पनि उनी यहीँबाट नै चुनाव लड्दैछन् । मोदीले गएको २६ अप्रिलमा यहाँबाट आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । यो सिटमा कांग्रेसका अजय राय र समाजवादी पार्टीकी शालिनी यादवले पनि आफ्नो नाम दर्ता गराएका छन् । 

तर ३० अप्रिलमा तेजबहादुर यादवलाई जिल्ला निर्वाचन अधिकारीले बीएसएफले किन बर्खास्त गरेकाे भन्नेबारे स्पष्ट खुलाउन पहिलो पत्र पठाएको थियो । पत्रमा उनलाई जिल्ला निर्वाचन अधिकारीसमक्ष १ मे २१०९ अर्थात् ९० वर्षपछि उपस्थित हुने बताएका थिए । 

तर दोस्रो पत्र पठाउँदै पहिलो पत्रमा बताइएको मिति गलत भएको भन्दै तेज बहादुरलाई १ मे २०१९ बिहान ११ बजेसम्म सीमा सुरक्षा बलबाट चिठ्ठी ल्याउन भनिएको थियो । 

चुनाव आयोगका एक कर्मचारीका अनुसार, जन प्रतिनिधित्व अधिनियममा कुनै पनि राज्य सरकारका कर्मचारी सेवा अवधिमा बर्खास्त हुँदा पाँच वर्षसम्म चुनाव लड्न मिल्दैन । 

वाराणासी लोकसभा सिटमा कुल एक सय एक नामांकन दर्ता भएको थियो, जसमा ७१ वटा नामांकन खारेज गरिएको छ । 

तेजबहादुरले बीएसफमा जवानलाई दिइने खानाको गुणस्तरीयतामाथि प्रश्न उठाउँदै भिडियाे बनाएका थिए । सामाजिक सञ्जालमा उनको भिडियो भाइरल भएको थियो ।

को हुन् त तेजबहादुर यादव ?

बीएसफमा कार्यरत तेजबहादुर यादवलाई सन् २०१७ मा खराब खानाबारे गुनासो गरेपछि सेवाबाट बर्खास्त गरिएको थियो । तेजबहादुरले पहिले नै निर्दलीय रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । अब उनले सपाको चुनाव चिन्हबाट चुनाव लड्ने तयारीमा थिए । तर उनकाे उम्मेदवारी खारेज भएसँगै सपाका तर्फबाट शालिनी यादव नै उम्मेदवार बनेकी छिन् ।

गएको मार्चमै तेजबहादुर यादवले प्रधानमन्त्री नरेन्द्र मोदवीविरुद्ध बनारसबाट चुनाव लड्ने बताएका थिए । यादवले आफ्नो उम्मेदवारी भ्रष्टाचारविरुद्ध भएको बताएका छन्, ‘मैले भ्रष्टाचारको मुद्दा उठाएँ । तर मलाई बर्खास्त गरियो । मेरो पहिलो प्राथमिकता सेनालाई बलियो बनाउनु र त्यहाँ भएको भ्रष्टाचार अन्त्य गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ ।’

यस प्रकरणमा निकै विवाद भएपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गरेको थियो । बीएसफले अनुशासनात्मक कारबाही गर्दै तेजबहादुरलाई बर्खास्त गरिएको थियो ।

आफ्नो बर्खास्तगीका विषयमा तेजबहादुर अदालत गएका थिए । यो मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ । उत्तर प्रदेशको वाराणसीमा अन्तिम चरणअन्तर्गत मे १९ मा चुनाव हुँदैछ ।

बनारसबाट मोदीलाई टक्कर दिँदै तेजबहादुर

प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाटै निर्वाचित सांसद हुन् । सन् २०१४ मा नरेन्द्र मोदीले तीन लाखभन्दा बढी भोटको अन्तरले जितेका थिए । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई हराएका थिए । मोदीले ५ लाख ८१ हजार भोट ल्याएका थिए । दोस्रो स्थानमा रहेका केजरीवालले २ लाख नौ हजार भोट ल्याएका थिए । कांग्रेसका अजय रायले ७५ हजार भोट ल्याउँदा बहुजन समाज पार्टीका विजयप्रकाश जयशवालले ६० हजार भोट ल्याएका थिए । 

 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया