अनलाइनमा ‘सेकेण्ड ह्याण्ड’ मोबाइल किन्दै हुनुहुन्छ? होश गर्नुहोस्, प्रहरीको फन्दामा परिएला !

 जेठ २, २०७६ बिहिबार १९:४:१६ | साजन सुबेदी
unn.prixa.net

काठमाण्डाै - हराएका वा चोरी भएका मोबाइल सेटहरु अनलाइनमार्फत पनि बिक्री हुने गरेको पाइएको छ ।

हिजोआज अनलाइनबाट सामान बेच्ने थुप्रै साइटहरु खुलेका छन् । धेरै जसो अनलाइन साइटले नयाँ सामानहरु ल्याएर अनलाइनमा मूल्यसहित राख्ने र त्यसैमार्फत अर्डर लिएर बेच्ने गरेको पाइन्छ । यस्ता साइटहरुमा नयाँ र प्रयोग नगरिएका सामानहरु नै पाइने गर्दछन् । यस्ता सामानहरुको डब्बा तथा आधिकारिक बिल र त्यससँग सम्बन्धित सामग्री पनि सँगै र सिलबन्दी नै पाइन्छ । 

तर कुनै कुनै साइटमा भने नयाँका साथसाथै पुराना (सेकेण्ड ह्याण्ड) सामानहरु पनि विभिन्न मूल्यमा पाइने गर्दछन् । हराएका वा चोरी भएका तपाइँ हाम्रा मोबाइल सेटहरु यस्ता कतिपय साइटहरुमार्फत सस्तोमा बिक्री हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । 

यसरी बेचिने मोबाइलहरुको सेटहरु मात्र पाइन्छ, ओरिजिनल चार्जर, हेडफोन तथा अन्य आवश्यक सामग्रीहरु भने पाइँदैन । यस्ता सामानहरु बजार मूल्यभन्दा सस्तोमा पनि पाइन्छन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डौमा रहेको मोबाइल खोजतलास शाखामा गएको साउन १ देखि वैशाख पहिलो हप्तासम्मको तथ्यांक अनुसार हराएका वा चोरी भएको उजुरी परेका मोबाइल सेटहरुमध्ये केही अनलाइनमार्फत पनि बिक्री भइसकेका र प्रहरीको सक्रियतामा फेला परेका छन् । 

साउन महिनामा फेला परेका जम्मा १७७ मध्ये ५ वटा मोबाइल सेटहरु अनलाइनमार्फत बिक्री भएको पाइएको छ ।

त्यस्तै, भदौमा फेला परेका जम्मा १६० मोबाइल सेटमध्ये ४ वटा अनलाइनबाट बिक्री भइसकेका सेटहरु थिए । यसैक्रममा असोजमा १४० मोबाइल फेला परेका र तीमध्ये अनलाइनमार्फत बिक्री भएका ३ वटा सेटहरु थिए ।

कात्तिकमा १६७ मोबाइल सेट भेटिए जसमध्ये ७ वटा अनलाइनमार्फत बिक्री भएको पाइएको थियो । यसरी अनलाइनमार्फत बिक्री भएका सेटहरु नियन्त्रणमा आउने क्रमले पुस महिनासम्म निरन्तरता पाएको तथ्यांकले देखाएको छ ।

मंसिरमा २ तथा पौषमा ४ वटा मोबाइल सेटहरु अनलाइन मार्फत बिक्री भइसकेको र हराउने वा चोरी गर्नेको उजुरीका आधारमा प्रहरीको सक्रियतामा फेला परेको थियो । माघ, फागुन र चैत्रमा भने महिनैपिच्छे लगभग २०० को हाराहारीमा मोबाइल सेट फेला परे पनि अनलाइन मार्फत बिक्री भएको सेट फेला परेको तथ्यांकमा छैन ।

आफैँले चोरेर वा चोरीको सामान किनेर चलाउँदा के सजाय हुन्छ? 

चोरी गरेको मोबाइल प्रयोग गरेको पाइएमा प्रहरीले पक्राउ गरेर मोबाइल सेटको मूल्य बराबर विगो तिराउँछ ।

त्यसबाहेक चोरीको प्रकृति हेरी अदालतले जेलसम्म चलान गर्न सक्ने हुनाले कुनै पनि मोबाइल सेट चोरी नगर्न र शंकास्पद मोबाइलहरु नकिन्न सुझाउनुहुन्छ, महानगरी प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी । चोरी गर्ने र थाहा पाइ वा नपाइ चोरीको मालसामान किनेर चलाउने पनि उत्तिकै सजायको हकदार हुन्छन् ।

उहाँका अनुसार ‘मलाइ चोरीको माल भन्ने थाहा नभएकोले किनेको हूँ, त्यसैले सजाय माफी होस्’ भन्न मिल्दैन । जुन देशमा बसेको छ त्यहाँको सामान्य कानुन थाहा पाउनुपर्छ । सजाय नहोस् भन्ने लाग्नेले सस्तो पाइयो भन्दैमा जथाभावी शंकास्पद वा खुल्ला मोबाइल सेट किन्नुभन्दा सिलबन्द भएको, आधिकारिक बिल बिजकसहितको नयाँ सामान किन्नु उपयुक्त हुन्छ ।

भेटिएको मोबाइल प्रयोग गर्दा पनि सजाय हुन्छ ?

प्रवक्ता बोगटी भन्नुहुन्छ,‘कानुनले चोरी भएको वा भेटिएको जे भएपनि अरुको सामान प्रयोग गर्नुलाई कसुर मान्दछ, त्यसैले मैले त चोरेको होइन भेटेको हूँ भनेर अरुको मोबाइल चलाउन मिल्दैन,’ उहाँ थप्नुहुन्छ,‘उजुरी पर्यो र आईएमईआई ट्र्याक गर्दा प्रयोग गरेको पाइयोे भने बाटोमै भेटेर चलाएको भए पनि चलाउनेलाई पक्राउ गरी चोरी गर्नेकै सरह विगो अनुसार जरिबाना गराएर जेलसम्म पनि हाल्ने आदेश पनि हुनसक्छ ।’


 
 

अन्तिम अपडेट: चैत १५, २०८०

साजन सुबेदी

 प्रविधि र न्यूमिडियामा रुची राख्ने सुबेदी उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया