आफ्नो कुवाको पानी खाएको भन्दै दलितद्वारा दलितमाथि नै हातपात

 जेठ २४, २०७६ शुक्रबार १७:१३:१७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – आफ्नो कुवाको पानी खाएको निहुँमा बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर–८, सैनीमा स्थानीय तुलसी सार्कीमाथि कुटपिट भएको छ । तुलसीमाथि स्थानीय सीता पार्कीले कुटपिट गरेकी हुन् ।

खेतमा काम गर्दै गरेको बेला तुलसीका छोरा नवीन सार्कीले नजिकै रहेको कुवाबाट पानी लिएकै कारण कुटपिट गरेको तुलसीका देवर शंकर सार्कीले बताउनुभयो । दलितभित्र तल्लो जाति भनेर विभेद गर्ने गरेकै कारण कुटपिट भएको उहाँले बताउनुभयो । बिहीबार दिउँसो घटना भएको भए पनि शुक्रबार  खोचलेक प्रहरी चौकीमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो ।

खोचलेक प्रहरीले भने कुटपिट भएको भन्ने निवेदन आएको तर जातीय विभेदको कुरा भने निवेदनमा उल्लेख नभएको जानकारी गराएको छ ।

घाइते तुलसीको पाखुरा र आँखाको नजिक घाउ रहेको तुलसीका देवर शंकरले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि धनगढी लैजाने सहमति भएको छ । पहिला उपचार गरेर त्यसपछि मात्र मिलापत्र गर्ने सहमति भएको शंकर सार्कीले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया